विप्लव नेतृत्त्वको विद्यार्थी संगठनले जनक शिक्षा सामग्री केन्द्रका कर्णाली प्रमुखलाई मोसो दल्याे
सुर्खेत : नेत्रविक्रम चन्द नेतृत्त्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्र, कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई मोसो दलेको छ।
शैक्षिक शत्र सुरू भएको चार महिना बित्दासमेत कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपुर्याएपछि मोसो दलिएको संगठनका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज तुलाराम तिरुवाले जानकारी दिए।
केन्द्रले मनोमानी ढंगले पुस्तक वितरण गरि पुस्तक व्यवसायीसँग करोडौं कमिसन लिएको, हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु लगायतका जिल्लाको बिल बनाएर किताब सुर्खेतमा वितरण र ढुवानीमा लाखौं कमिसन लिएको संगठनको आरोप छ।
उता केन्द्रका प्रमुख केसी भने आफूले गर्दै नगरेको गल्तीको सजाय विद्यार्थी संगठनले दिएको बताउँछन्। छलफलका लागि बोलाएकोमा विद्यार्थी संगठनले झुक्याएर मोसो दलेको उनको भनाइ छ।
‘पाठ्यपुस्तकको विषयमा आज छलफलका लागि बोलाएका थियौं, एक्कासी मोसो दले,’ प्रमुख केसीले भने, ‘माथिबाट जति किताब आयो सोही अनुसार हामीले वितरण गरेका छौं, संगठविरुद्ध कानुनी प्रक्रियामा जान्छु।’
आफूले मनोमानी रूपमा काम नगरेको दाबी गर्दै उनले हिमाली भेगमा कोटाभन्दा बढी पाठ्यपुस्तक गएको बताए। अन्य जिल्लाहरूमा समेत आवश्यकताका आधारमा पुस्तक वितरण गरिएको उनको भनाइ छ।
भदौ ५, २०७९ आइतबार २०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।