पाकिस्तान र अफगानिस्तानको बाढीबाट ४६ जनाको मृत्यु

पाकिस्तान र अफगानिस्तानको बाढीबाट ४६ जनाको मृत्यु

एजेन्सीः अफगानिस्तान र पाकिस्तानमा आएको बाढीका कारण ४६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भएको निरन्तरको वर्षापछि बाढी आएर पाकिस्तानमा मात्र ३६ जनाको मृत्यु भएको हो।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ। अन्य सय जनाभन्दा बढी घाइते छन्।

त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वामा पनि बाढीको प्रकोप बढेको छ। सो प्रान्तमा गएको २४ घन्टायता बाढीमा परेर कम्तीमा पनि ११ जनाले ज्यान गुमाएका छन्।

यहाँ अझै वर्षा जारी रहेकाले बाढीको प्रकोप बढ्नसक्ने बताइएको छ।

वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्किएका छन्। यो मनसुनी वर्षामा मात्र पाकिस्तानमा सात सयभन्दा बढीको ज्यान गएको छ। यसमा परेर हजारौँ व्यक्ति घरबारविहीन भएका बताइएको छ।

यता अफगानिस्तानमा बाढीले १० जनाको ज्यान लिएको छ। सयौँ घरहरू ध्वस्त भएका छन्। पूर्वी प्रान्त लोगारमा शनिबार आएको बाढीमा परी कम्तीमा १० जनाको ज्यान जानुको साथै सयौं घरहरू ध्वस्त भएको सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ।

बाढीले खुशी जिल्ला आसपासका सयौं हेक्टर खेतबारी समेत नष्ट गरेको छ। विगत केही महिनामा युद्धग्रस्त यस देशका ३४ प्रान्तमध्ये दश प्रान्तमा अविरल वर्षा र बाढीका कारण दुई सय भन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

भदौ ५, २०७९ आइतबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।