घरमा सिआईबीले १२ घण्टा छापा मारेपछि दिल्लीका उपमुख्यमन्त्री भन्छन्, ‘२०२४ को निर्वाचन बिजेपी र आपबीच हुनेछ’

घरमा सिआईबीले १२ घण्टा छापा मारेपछि दिल्लीका उपमुख्यमन्त्री भन्छन्, ‘२०२४ को निर्वाचन बिजेपी र आपबीच हुनेछ’

एजेन्सी । भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनिष सिसोदियाले सिआईबीले लगाएका आरोपहरूको खण्डन गरेका छन्।

शनिबार पत्रकार सम्मेलनमा सिसोदियाले आफूमाथि लगाइएको आरोप आधारहीन भएको बताउँदै भारतीय जनता पार्टीले मुख्यमन्त्री अरविन्द केजरीवाललाई रोक्नको लागि आफूलाई निशाना बनाएको आरोप लगाए।

उनले भने, ‘जुन आबकारी नीतिमाथि विवाद झिकिएको छ, त्यो नीति देशकै सबैभन्दा राम्रो नीति हो, त्यसलाई हामीले पूरै इमान्दारिता र पारिदर्शिताको साथ लागू गरिरहेका थियौं।’

सिआईबीले आफूमाथि लगाएको आरोप र यसअघि बिजेपीका नेताहरूले लगाएको आरोप कतै पनि मेल नाखाएकाे भन्दै उनले बिजेपी अरविन्द केजरीवालसँग डराएर अहिलेको विवाद झिकेको बताए।

‘बिजेपीका नेताहरूले ८ हजार करोड, ११ हजार करोड र १ सय ४४ करोडको भ्रष्टाचार भएको आरोप लगाउँदै आएका थिए,’ उनले भने, ‘तर सिआईबीको आरोप पत्रमा सुत्रलाई आधार मान्दै १ करोड भ्रष्टाचार गरेको लेखिएकाे छ।’

उपमुख्यमन्त्री सिसोदियाले अहिलको मुख्य विषय मदिराको भ्रष्टाचार नै नभएको बताए। मुख्यमन्त्री अरविन्द केजरीवाल देशव्यापी रूपमा इमान्दार नेताको पहिचान बनाइरहेको सन्दर्भमा बिजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई जलन भएपछि बखेडा झिकिएकाे उनको आरोप छ।

पञ्जाबको निर्वाचनपछि अरविन्द केजरीवाल नै राष्ट्रिय विकल्प भएको भन्दै उनले मोदीले राम्रो काम गरिरहेको मानिसलाई रोक्न खोजेको बताए। उनले मोदीले केही अर्बपतिको लागि काम गरिरहेको उनकाे आराेप छ।

सिसोदियाले २०२४ को निर्वाचन बिजेपी र आम आदमी पार्टी (आप)बीच प्रतिस्पर्धा हुने बताए। मोदीको विकल्पमा केजरीवाल आएको भन्दै उनले देश केजरीवाललाई स्वागत गर्न आतुर भएको दाबी गरे।

शुक्रबार विहान दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाको घरमा सिआईबीले १२ घण्टा छापा मारेको थियो । छापा मारेपछि सिआईबीले उनीविरुद्ध एफआईआर दर्ता गरेकाे छ।

एफआईआरमा उनका आफन्तले १ करोड रुपैयाँ कमिसन लिएको र त्यसमा सिसोदियाको हात भएको उल्लेख छ।

भदौ ४, २०७९ शनिबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।