सोमालियाको हयात होटलमा आतङ्वादी हमला: १० जना मारिए

सोमालियाको हयात होटलमा आतङ्वादी हमला: १० जना मारिए

एजेन्सीः सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा परी १० जनाको ज्यान गएको छ। सोही आतङ्कवादी हमला परी कयौँ घाइते भएका छन्।

घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन्। यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन।

हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विस्फोटसँगै आक्रमण सुरु गरेका थिए। शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो।

होटलमा लुकेका आक्रमणकारीहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि कतिजना आक्रमणकारी त्यहाँ छन् भन्ने स्पष्ट भएको छैन।

इस्लामिक चरमपन्थी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ। होटलको स्वागतकक्ष बाहिर भुइँमा आफूले धेरै शव देखेको उद्धार गरिएका एकजनाले बताएका छन्।

भदौ ४, २०७९ शनिबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।