बुटवलमा १ अर्ब लागतमा दुई हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मोडालिटी नबन्दा सञ्चालनमा समस्या

बुटवलमा १ अर्ब लागतमा दुई हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मोडालिटी नबन्दा सञ्चालनमा समस्या

बुटवल : बुटवलमा २ हजार जना क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सम्पन्न भएको छ। निर्माण सम्झौताको ८ वर्षपछि बुटवल–१० रामनगरमा सम्मेलन केन्द्र निर्माण भएको हो।

०७१ साल माघ १५ गते सम्झौता भएको सम्मेलन केन्द्रले यसबीचमा भूकम्प र नाकाबन्दीसँगै नदिजन्य पद्धार्थको अभाव र समयमै रुख कटानको आदेशसमेत पाएन। नेपालको झण्डा आकारमा बनेको सम्मेलन केन्द्र काठमाडौं बाहिरकै ठूलो हो।

एमाले उपाध्यक्ष समेत रहेका रुपन्देहीका प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले पार्टीको आठौं महाधिवेशनका बेला बुटवलमा स्तरीय सम्मेलन केन्द्र नभेटिएपछि यसको परिकल्पना गरेर योजना अघि बढाएको उकेरालाई बताए।

‘सम्मेलन केन्द्रले अब बाहिर कार्यक्रम गर्ने झन्झटबाट मुक्त बनाएको छ,’ उनले भने, ‘यसले बुटवल अब जस्तोसुकै अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न तयार भएको सन्देश दिएको छ।’

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्रको भौतिक संरचना निकै आर्कषक बनाइएको छ। सभाहल अगाडि पानीका फोहोरा सहित पोखरी निर्माण गरिएको छ।

सम्मेलन केन्द्रबाट प्रवेश गर्ने बाहिरिनेहरूका लागि छुट्टाछुट्टै गेट तयार गरिएको छ। त्यी गेटहरू पनि आर्कषक डिजाइनमा छन्। ५ वटा गेटमा प्रवेश र निकासद्वार, भिआईपी र सर्भिस गेट रहेका छन्।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र बुटवल प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख प्रमुख धर्मेन्द्र पन्थीले सम्मेलन केन्द्र निर्माणको काम सम्पन्न गरी आन्तरिक परीक्षणसमेत गरेको बताए।

सम्मेलन केन्द्र निर्माणका लागि दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौतामा २०७८ पुस मसान्तसम्म सभाहल बनाइसक्ने उल्लेख भए पनि कोरोना महामारीलाई बहाना बनाइयो।

दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको थियो। पछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो। थप भएको म्यादअगावै २०७८ असारमै निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख पन्थीले बताए।

सम्मेलन केन्द्रको पहिलो चरणको कामलाई २३ करोड र दोस्रो चरणको कामलाई ८० करोड गरी एक अर्ब ३ करोडमा ठेक्का सम्झौता गरिएको थियो। पहिलो चरण अन्तर्गत मुख्य सभाहल रहेको भवनको काम भएको हो। त्योसँगै ब्लकमा भएका दुईवटा भवन बनेका छन्।

मुख्य सभाहल भित्र रातो कुर्सी लहरै राखिएको छ। सभाहलमा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल छ। त्यसैगरी ५०/५० र १/१ सय क्षमताका दुइटा लेक्चर हल, ५ सय क्षमताका ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।

दोस्रो फेजमा चन्द्रमा आकारको संरचना निर्माण भएको हो। आयोजनाका ईन्जिनियर सुमन दलार्मीले दोस्रो चरण अन्तर्गत रंगरोहनको काम र फिनिसिङका साथै विद्युतका लागि ट्रान्सफर्मर जडान गरिएको बताए।

सभाहलसँर्गै सटेर नर्थ र साउथ गरी दुई वटा बहुउद्देश्यीय भवन बनेका छन्। यी १ सय क्षमताका छन्। त्यसबाहेक दोस्रो २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रिनहाउस, ६ जना बस्न मिल्ने स्टाफ क्वाटरका लागिसमेत भवन निर्माण गरिएको छ।

सभाहलमा लिफ्टको समेत व्यवस्था छ। सभाहल परिसरको ग्रिनरी सहितको बाटो, फुटपाथ, बगैंचा लगायतका संरचना पनि दोस्रो चरण अन्तर्गत निर्माण गरिएका छन्। 

बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरि २०६५ सालमा सरकारले निर्णय गरेको थियो।

२०७६ जेठ १३ गते पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरी सम्मेलन केन्द्रको काम अगाडि बढाइएको थियो।  बुटवल मण्डपको १६ विघामध्ये पश्चिमतर्फको ६ दशमलव ४ विघा क्षेत्रमा एक अर्ब दुई करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ। 

तयार भएन सञ्चालनको मोडालिटी
सम्मेलन केन्द्र निर्माण भए पनि अहिलेसम्म सञ्चालनको मोडालिटिबारे स्पष्ट खाका तयार भएको छैन। बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने या कुनै समिति मार्फत सञ्चालन गर्ने भन्नेबारे संघ सरकारले नै निर्णय गर्ने ईन्जिनियर दलार्मीले बताए।

निर्माण र परीक्षणसमेत भइसकेको सम्मेलन केन्द्र छिटो सञ्चालनमा ल्याउन निजी क्षेत्रले माग गर्दै आएका छन्। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले सम्मेलन केन्द्र बुटवलका लागि अति आवश्यक भएको बताए।

यसैगरी रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सभाहल निर्माणपछि बुटवलमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे। १० वर्षपछिको समयलाई सोचेर सभाहल बनाइएको भन्दै उनले व्यापार प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।

व्यापार संघका अध्यक्ष कृष्ण घिमिरेले खुला आकाशमुनि गर्दा हुने अनावश्यक खर्चसमेत रोकिने बताए। 

भदौ ३, २०७९ शुक्रबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।