श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावायले अमेरिकी ‘ग्रिनकार्ड’का लागि दिए आवदेन

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावायले अमेरिकी ‘ग्रिनकार्ड’का लागि दिए आवदेन

एजेन्सी: श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन्। गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेका हुन्।

उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ।

श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिएका हुन्।

पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताए। पहिला उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएका थिए।

तर कानून व्यवसायीहरूसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेको डेलि मिरर पत्रिकाले लेखेको छ।

उनकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी समेत गरेकी छिन्।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनी देश छोडेर भागेका थिए। सुरुमा म्यानमार गएका उनी पछि थाइल्याण्ड हुँदै सिङ्गापुर पुगेका थिए।

भदौ ३, २०७९ शुक्रबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।