विवादित रूपमा मणिपाल छिरेको बापो होल्डिङस् मधेसमा इन्जिनियरिङ र अस्पताल चलाउने तयारीमा

विवादित रूपमा मणिपाल छिरेको बापो होल्डिङस् मधेसमा इन्जिनियरिङ र अस्पताल चलाउने तयारीमा

काठमाडौँ : पटक-पटक विवादमा आइरहेको बतास अर्गनाइजेसनले मधेस प्रदेशमा इन्जिनियरिङ र अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ।

बतास अन्तर्गतको बापो होल्डिङ्सले मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुप अन्तर्गत मधेस प्रदेशमा रोकिएर बसेको इन्जिनियरिङ र मेडिकल कलेज सञ्चालनको तयारी गरेको हो।

ती दुवै संरचना पहिल्यै मणिपाल समूहले नै सञ्चालनको तयारी गरे पनि विविध कारणले सम्भव भएन। सो समूहले मणिपालमा रहेको आफ्नो स्वामित्व बापो होल्डिङसलाई बिक्री गरेर हिँडेको थियो।

अस्पतालको स्वामित्व विक्री गर्न नमिल्ने सम्झौता रहेको दाबी गरिए पनि भारतीय लगानीकर्ताले आफ्नो सेयर वेचेर हिडेको थियो। संसदसम्म विवाद पुग्यो। तर बिचैमा हरायो। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले यसबारे छानविन शुरु गरेको थियो।

सन १९९४ बाट मणिपाल शिक्षण अस्पताल सञ्चालनमा आएको थियो । अस्पताल सञ्चालनमा आउँदा ४९ वर्षपछि अस्पतालको स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो। सम्झौता अनुसार सन २०४३ मा मणिपाल शिक्षण अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने  हुन्छ। तर विचैमा भारतीय कम्पनीले अस्पतालको सबै सेयर बेचेर नेपालबाट बाहिरिएको थियो। 

सम्झौता अनुसार भारतीय पक्षले मणिपाल अस्पतालको सेयर स्वामित्व तेस्रो पक्षलाई विक्री गर्नु वैध कि अवैध भन्ने कानुनी परीक्षणै भएन। भित्रभित्रै स्वामित्व हस्तान्तरण भएर नयाँ समूहले काम सुरु गरिसकेको छ।

भारतीय व्यवस्थापनले २५ वर्षदेखि  सञ्चालन हुँदै आएको पोखरास्थित मणिपाल मेडिकल कलेज ग्रुप केही महिना अगाडि मात्रै बतास अर्गनाइजेशन अन्तर्गतको बापो होल्डिङ्स ग्रुपले खरिद गरेको थियो।

सोही समूहले मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपमार्फत अब जलेश्वर नगरपालिकामा इन्जिनियरिङ कलेज चलाउने तयारी गरेको छ। जनकपुरमा उसले ३ सय सैयाको अस्पताल सञ्चालनको तयारी गरिरहेको छ।

जलेश्वरमा मणिपालको तत्कालीन सञ्चालक समूहले नै अढाई दशकअघि ३५ बिगाहा जग्गा किनेर इन्जिनियरिङ कलेजसँगै प्राविधिक कलेज सञ्चालनको तयारी गरेको थियो। तर उनीहरूको योजना सफल हुन सकेन। जग्गा त्यतिकै अलपत्र पर्यो।

मणिपाल ग्रुपले नै धनुषाको जनकपुरमा ३ सय बेडको हस्पिटल सञ्चालन गर्न २७ करोड रुपैयाँ लगानी गरेर भवन संरचना समेत बनाएको थियो। भवन बने पनि अस्पताल बन्न सकेन।

दुवै काम माओवादी विद्रोह र मधेस आन्दोलनले रोकिएको थियो। मणिपालले निर्माण गरेको अस्पताल  भवन भग्नावशेष बन्यो। कोरोना कालमा मधेस स्वास्थ्य प्रतिष्ठानले मणिपालको भवनमा कोरोना अस्पताल चलाएको थियो।

सो अस्पताल मणिपालको भवनबाट सारेर गुठी संस्थानको जग्गामा सार्न मधेस सरकारले प्रक्रिया अगाडि बढाउँदै पत्र पठाइसकेको छ।

ग्रुपका अध्यक्ष आनन्दराज बतासले भवन खाली गराउन प्रदेश सरकारले प्रतिष्ठानलाई पत्र पठाएको र गुठीको जग्गा भाडामा लिन सम्झौता समेत भइसकेको जानकारी आएको बताए।

इन्जिनियरिङ कलेज सञ्चालनका लागि जलेश्वर नगरपालिकासँग सार्वजनिक निजी साझेदारी नीति अन्तर्गत विभिन्न सीपमूलक तालिम समेत सञ्चालन गरिने बतासले दाबी गरे।

भदौ ३, २०७९ शुक्रबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।