फ्राइडे रिलिज: घाटै घाटाको बजार तर वितरकको बाँदरे प्रवृत्तिले जुध्यो तीन फिल्म
काठमाडौंः यो हप्ता तीन वटा नेपाली फिल्महरू सिनेमा हलमा प्रर्दशनमा आएका छन्। प्रेमगञ्ज, माइकल अधिकारी र कृष्णलीला।
प्रेमगञ्ज त्रिकोणात्मक प्रेमकथा हो। फिल्ममा प्रेम, धोका र असमझदारीको कथा छ। कृष्णलीला पनि प्रेमकथामै आधारित फिल्म हो। एक अटिजम भएको केटा र उच्च महत्त्वकांक्षा भएकी केटीको प्रेममा आउने उतारचढावलाई फिल्ममा देखाइएको छ।
माइकल अधिकारी भने सेरोगेट मम् (भाडाकी आमा) को विषयमा बनेको फिल्म हो। सेरोगेसी नेपालमा गैरकानूनी हो तर कानून बन्नभन्दा अघिको कथा फिल्ममा देखाइएको छ।
यी तीन वटै फिल्म त्यत्ति प्रतीक्षित पनि होइनन्। ट्रेलर नै फिस्स बनाउने फिल्मले कत्तिको व्यापार गर्छ वा कत्तिको दर्शकको साथ पाउँछ त्यो एक-दुई दिनमा थाहा भइहाल्छ।
यता नेपाली फिल्मको बजार घाटामा छ भन्ने थाहा पाउँदा पाउँदै पनि वितरकले फिल्म जुधाएका छन्। यसले पनि यी तीन वटै फिल्मलाई क्षति गर्ने त देखिन्छ नै।
अर्कोतर्फ नेपाली फिल्म क्षेत्रलाई नजिकबाट चिन्ने सबैलाई थाहा छ, वितरकहरूबीचको लफडा। फिल्म प्रर्दशनको मिति जुधाएपछि यो लफडा अझ प्रष्ट भएको छ।
यो हप्ता प्रर्दशनमा आएका दुई फिल्म माइकल अधिकारी र कृष्णलीला वितरकका कारण जुधेका हुन्।
माइकल अधिकारी कोरोनाभन्दाअघि बनेको फिल्म हो। लामो समयसम्म थन्किएर बसेको फिल्म हलसम्म पुग्ला नपुग्ला भन्ने शंका थियो। तर माइकल अधिकारी फिल्मका वितरकका प्रतिद्वन्द्वी कृष्णलीला फिल्मका वितरकले प्रर्दशन मिति सार्वजनिक गरेपछि बल्ल माइकल अधिकारी प्रर्दशनका लागि तात्यो।
यसबाट के पनि प्रष्ट हुन्छ भने उसले कृष्णलीलासँग मिति जुधाउन यतिका समय पर्खिएको रहेछ।
चलचित्र विकास बोर्डले कोरोनापछि फिल्म हल चलायमान बनाउन केही रकम समेत दिने नियम बनाएको थियो। त्यस्तो अवस्थामा समेत हलमा फिल्म नदेखाई बसेको माइकल अधिकारी कृष्णलीलाको मिति सार्वजनिक हुने बित्तिकै फिल्म जुधाउन आइपुगेको थियो।
अहिले यी दुवै फिल्म दर्शकलाई लोभ्याउँदैछन्। ईसेवाबाट फिल्मको पैसा तिरे माइकल अधिकारी एक रुपैयाँमा फिल्म देखाउन तयार छ।
उता प्रेमगञ्ज अनलाइन हेर्ने हो भने आधा छुटमा उपलब्ध छ।
भदौ ३, २०७९ शुक्रबार १३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।