फिनल्याण्डकी प्रधानमन्त्री रक्सी खाएर मात्दै पार्टी गरेको भिडियो भाइरल, ड्रग टेस्ट गर्न आग्रह

फिनल्याण्डकी प्रधानमन्त्री रक्सी खाएर मात्दै पार्टी गरेको भिडियो भाइरल, ड्रग टेस्ट गर्न आग्रह

एजेन्सीः फिनल्याण्डकी प्रधानमन्त्री साना मारिन रक्सी खाएर मात्दै पार्टी गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा उनी र उनका केही फिनिस सेलिब्रेटी साथीहरू मातेर नाच्दै गाउँदै गरेको देखिन्छ।

३६ वर्षीया मारिन कुनै समय विश्वकै कम उमेरकी सरकार प्रमुख थिइन्। उनी प्रधानमन्त्री नियुक्त भएपछि संसारभर चर्चित भएकी थिइन्।

हाल भने पार्टीको भिडियोले उनको चौतर्फी विरोध भइरहेको छ। फिनल्याण्डका प्रतिपक्षी दलका नेताहरूले उनलाई ड्रग टेस्ट गराउन समेत भनेका छन्। यद्यपि मारिनले आफूले ड्रग सेवन नगरेको बताएकी छिन्।

हुन त यसअघि पनि उनी कोरोना महामारी चुलिएको बेला क्लब गएर सामाजिक दूरीको बेवास्ता गरेको सार्वजनिक भएको थियो। त्यसबेला उनले माफी पनि मागेकी थिइन्।

गत साता मात्र मारिनलाई जर्मन समाचार संस्था बिल्डले 'कुलेस्ट प्राइममिनिस्टर अफ द वर्ल्ड' भनेर सम्बोधन गरेको थियो।

यता सार्वजनिक भएको भिडियोको सवालमा उनले आफ्नो दृश्य कैद भइरहेको थाहा भए पनि सार्वजनिक हुँदा भने दुखी भएको बताएकी छिन्। 'मैले नाचेँ। गाएँ। पार्टी गरेँ। यो कुनै पनि गैरकानूनी होइन', उनले भनिन्।

उनले आफूले हालसम्म ड्रग लगायतका पदार्थको सेवन नगरेको र त्यस्तो अवस्था हालसम्म नदेखेको पनि बताएकी छिन्।

यस्तै उनले भनेकी छिन्, 'मेरो परिवार छ। मेरो पेशागत जीवन पनि छ। र मसँग मेरा साथीहरूसँग बिताउन खाली समय पनि छ। मेरा उमेरका सबैसँग हुनेजस्तो।'

यस्तै उनले आफ्नो यो व्यवहार परिवर्तन गर्न आवश्यक नरहेको पनि बताएकी छिन्। 'म आगामी दिनमा पनि त्यही व्यक्ति हुनेछु जुन म आज छु। र म आशा गर्छु कि यो स्वीकार हुनेछ', उनले भनिन्।

मारिन सन् २०१९ को डिसेम्बरबाट फिनल्याण्डको प्रधानमन्त्री पदमा छिन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल्जाजिरामा प्रशारित भिडियो

भदौ ३, २०७९ शुक्रबार १२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।