भारतमा बलात्कारपछि हत्याको आरोप लागेका पुरुषको कुटेर हत्या

भारतमा बलात्कारपछि हत्याको आरोप लागेका पुरुषको कुटेर हत्या

एजेन्सी : भारतको असममा प्रहरी नियन्त्रणबाट भागेका एक पुरुषको भीडले कुटेर हत्या गरेको छ।

बलात्कारपछि हत्याको आरोप लागेका ४५ वर्षीय राजु बरुआलाई भीडले कुटेर हत्या गरेको हो। उनीमाथि हत्यका कयौं आरोप भएको बीबीसीले जनाएको छ।

मंगलबार अन्य अपराधीसँग रहेका उनी एक अदालतमा प्रहरीको नियन्त्रणबाट भागेका थिए। तर, बुधबार केही व्यक्तिले उनलाई नियन्त्रणमा लिएर कुटेर हत्या गरेका हुन्।

कुटाइबाट गम्भीर घाइते भएका राजुलाई बचाउने प्रयास गर्दा प्रहरीमाथि नै भीड आइलागेको थियो। सो क्रममा दुई प्रहरीसमेत घाइते भएको समाचारमा उल्लेख छ।
आरोपी राजुविरुद्ध डकैती, बलात्कार र हत्या गरी एक दर्जनभन्दा बढी मुद्दा दर्ता थिए।

घटनापछि प्रहरीले कुटपिटमा संलग्न केही व्यक्तिमाथि हत्याको एफआइआर दर्ता गरेको छ।

भदौ २, २०७९ बिहीबार २२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।