बञ्चरेडाँडाको अवरोध हटाउन चार बुँदे सहमति

बञ्चरेडाँडाको अवरोध हटाउन चार बुँदे सहमति

काठमाडौँ : वञ्चरेडाँडामा फोहोर फाल्न भइरहेको अवरोध हटाउन स्थानीय प्रशासन र स्थानीय तहका पदाधिकारीबिच चार बुँदे सहमति भएको छ।

बुधवार दिनभर भएको वार्ता बेलुका चार बुँदे सहमतिमा पुगेको हो। सहमतिमा नयाँ विषय भने छैन। फोहोर बोक्ने गाडिले लिचेड चुहाउँदै आउन नपाउने, फोहोर पुरेपछि गन्ध हटाउन दिनकै केमिकल छर्कनुपर्ने, डम्पिङ साइटमा प्रत्येक तीन दिनमा केपिङ गर्नुपर्ने सहमतिमा उल्लेख छ।

छलफलमा नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र कृष्णप्रसाद लम्साल, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनवेशी नगरपालिका र ककनी गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीय नेता सहभागी थिए।

स्थानीयले विविध माग राखेर फोहोर फाल्न नदिएपछि अहिले काठमाडौँ महानगरपालिका लगायतका नगरपालिकाको फोहोर उठ्न नसक्दा हैजा लगायतका सरुवा रोगको जोखिम बढिरहेको छ। स्थानीय सहमत नभएपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर फोहोर व्यवस्थापनको प्रयास गरेको थियो।

भदौ १, २०७९ बुधबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।