माओवादीले बाबुराम र बामदेव थपेर बढायो बार्गेनिङ पावर, गठबन्धनमा ६० सिट बढी दाबी

माओवादीले बाबुराम र बामदेव थपेर बढायो बार्गेनिङ पावर, गठबन्धनमा ६० सिट बढी दाबी

काठमाडौँ : सत्ता साझेदार एकीकृत समाजवादी र माओवादी सचिवालय बैठक र स्थायी कमिटी बैठक सकेर गठबन्धनको सिट बाँडफाँडको कार्यदल बैठकमा पुगे। तर उनीहरूको तयारी थिएन। कसरी हुन्छ कांग्रेसबाट बढी सिट आफ्नो भागमा पार्ने रणनीतिमा थिए उनीहरू।

बुधवारको बैठकमा कार्यदलको जिम्मेवारी पुरा गर्ने अन्तिम चरणमा पुगेको जानकारी दिइयो।

‘अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरूलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमति भएको छ,’ कार्यदलका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने। वामदेव गौतम र नेसपाले माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा जाने जानकारी निर्वाचन आयोगमा गराएका छन्। अब उनीहरूलाई कसको भागबाट भाग दिने भन्नेबारेमा कार्यदलसँग उत्तर छैन।

‘तपाईँहरू नै भन्नुस् कसका भागबाट दिने? सल्लाह दिनुस्,' सञ्चार मन्त्री समेत रहेका कार्कीले प्रतिप्रश्न गरे।

बुधवारसम्मको कार्यदलको बैठकमा सहज सहमति हुने खाका बनिसकेको देखिएन। ०७४ को प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई आधार मान्ने, ०७९ स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मान्ने सहमति मात्र कार्यदलमा भएको छ। त्यसबाहेक ठोस प्रगति छैन।

कार्यदलको ४ गते बस्ने बैठकमा खाका पेस गर्ने तयारी छ। कार्यदलमा भएको प्रगति विवरण लिएर कार्यदल संयोजक कृष्णप्रसाद सिटौला शीर्ष नेताकहाँ ब्रिफिङमा जाने तयारीमा छन्। त्यसपछि गठबन्धनका पार्टीहरूमा छलफल गरेर शनिवार कार्यदल बैठक बस्दै छ। भागबन्डासँगै निर्वाचनको साझा अजेण्डा समेत तयार पार्नुपर्ने जिम्मेवारी कार्यदलमा छ।

‘१६५ सिट छ। सबै दलले सबै आफ्नै होस् भन्ने चाहन्छ, भनेर हुन्छ? जसपाबाट कार्यदल सदस्य रहेका रामसहाय यादवले भने, ‘सिट सङ्ख्यामा त प्रवेश गरेकै छैनौँ कुन आधारमा गर्ने ?’ 

गठबन्धनमा कांग्रेसले एक सय , माओवादी ५० जसपा र एकीकृत समाजवादीले ३०–३० र जनमोर्चाले ५ सिट दाबी गरेका छन्। बाबुराम भट्टराईको नेसपाको ५ प्रत्यक्ष र बामदेवको १ सिट प्रत्यक्ष तथा ३ सिट समानुपातिक दाबीले उसले प्रत्यक्षमा दाबी गर्न माओवादीले सिट बढाएर ६० पुर्याएको छ।

भट्टराई र गौतमले माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा सामेल हुने जानकारी निर्वाचन आयोगमा गराएका छन्। अब १६५ सिटमा गठबन्धनको दाबी २२५ पुगेको छ। एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न समिति नै गठन गरिसकेको अवस्था छ।

०७४ को चुनावमा जितेको आधारलाई मापदण्ड बनाउँदा ८३ सिटको भागबन्डामा कुनै समस्या छैन। बाँकी ८२ सिट कसलाई कति दिने भन्नेमा कार्यदलमा सहमति बन्न सकेको देखिएन। अहिलेको अवस्थामा कांग्रेसले ८५, माओवादी केन्द्रले ४९, जनता समाजवादी पार्टीले १६, एकीकृत समाजवादीले १४ र राष्ट्रिय जनमोर्चाले १ सिट पाउने अवस्था देखिन्छ।

यस आधारमा कांग्रेस १५, माओवादी ११, जसपा १४, एकीकृत समाजवादी १६ र जनमोर्चा ४ सिटमा कुरा नमिल्ने देखिन्छ। यो भनेको ६० सिट बढी दाबी हो।

भदौ १, २०७९ बुधबार २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।