पद्मरत्नकी शोभा : नीलशोभा
हाम्रा श्रद्धेय अगुवा पद्मरत्न तुलाधरको जीवनी पुस्तक तयार गर्दै थियौँ। उहाँको जंक्व अगाडि आउँदै थियो। जीवनी पुस्तक नेपालभाषा र खस नेपाली दुवै भाषामा निकाल्ने योजना थियो। तर समयाभावका कारण दुईमध्ये एक मात्र भाषामा पुस्तक निकाल्न सकिने भयो। के भाषामा निकाल्ने होला? आम पाठकसामु पुर्याउने हो भने नेपालीमै निकाल्ने हो कि भन्ने कुरा हुँदै थियो।
तर, नीलशोभा तुलाधरले हामीलाई रोक्नुभयो। उहाँले भन्नुभयो, ‘नेपाल भाषामा त्यत्रो काम गरिसकेका मान्छेको किताब नेपाली भाषामा निकाले भने मान्छेले के भन्ला? तिमीहरुलाई पनि लान्छना लाग्ला, तिम्रो दाइलाई पनि लान्छना लाग्ला। नेपाल भाषामै पहिले निकाल्नुपर्छ। पछि निकाल्नु न खस नेपाली भाषामा।’
भाउजुको सुझाव हाम्रो लागि निर्णय सरह नै भयो। किताब पहिले नेपाल भाषामै प्रकाशित भयो। नेपाल भाषाप्रति भाउजुको यो सचेत प्रेम नै त्यो कारणले हुन सक्छ, जसले हाम्रा अगुवा पद्मरत्न तुलाधरलाई सधैँ अगाडि बढ्न प्रेरणा दिइरह्यो।
सामान्य रुपमा एउटा भनाइ छ, हरेक एक सफल पुरुषको पछाडि एक महिलाको हात रहेको हुन्छ। यो भनाइलाई पत्याउने हो भने पद्मरत्नलाई एक सफल व्यक्तित्व बनाउने कामको पछाडि नीलशोभा तुलाधरको हात रहेको स्पष्ट छ, ठूलै हात।
वि.सं. २०१५ सालमा जब पद्मरत्नसँग नीलशोभाको विवाह भयो, उहाँ १४ वर्षको मात्र हुनुहुन्थ्यो। पद्मरत्न चाहिँ १८ वर्ष। यो विवाह कसरी भयो, नीलशोभालाई पनि थाहा छैन। किनभने त्यतिबेला उहाँका बुबा पनि काठमाडौंमा हुनुहुन्थेन। कालिम्पोङमा हुनुहुन्थ्यो।
त्यतिबेला उहाँहरुको कालिम्पोङमा मात्रै दुई वटा ठूल्ठूला घर थिए। ल्हासामा पनि धेरै कोठीहरु थिए। कालिम्पोङबाट सामान लिएर ल्हासामा व्यापार गर्न जाने उहाँका बुबाको काम थियो। त्यसैले बुबाहरु धेरैजसो कालिम्पोङमै रहेका हुन्थे।
नीलशोभाका बुबा मैत्रीरत्न तुलाधरलाई समाजमा नचिन्ने कोही छैन। बुबा मैत्रीरत्न र आमा आशादेवी तुलाधरका जेठी छोरीका रुपमा काठमाडौं असनस्थित धालसिक्व भन्ने स्थानमा नीलशोभाको जन्म भएको थियो। सात दिदीबहिनी र एक भाइको ठूलो परिवार थियो।
बुबा कालिम्पोङमा रहनुभएकै बेला एक पटक नीलशोभा पनि आमासँगै कालिम्पोङ जानुभएको थियो। पछि आमा त फर्किनुभयो। नीलशोभा भने त्यहीं बस्नुभयो। कालिम्पोङमा रहेकै बेला उहाँलाई त्यहाँको स्कुलमा भर्ना गरिदिएको थियो। त्यहाँ उहाँले हिसाब, अंग्रेजी पढ्नुभयो। उहाँ अक्सर बुबाको पसलको चिट्टीपत्रहरु हुलाक कार्यालय गएर पुर्याउने काम गर्नुहुन्थ्यो। अर्को काम भनेको त उही खेल्ने मात्रै हो।
बुबाले कहिलेकाहीं टिष्टा नदी र दार्जिलिङ बजार पनि घुमाउन लाने गर्नुहुन्थ्यो। यसरी बडो रमाइलोपूर्वक उहाँ ६ वर्षसम्म कालिम्पोङमा बस्नुभयो।
अलि ठूलो भएपछि उहाँ कालिम्पोङ छोडी नेपाल आउनुभयो। नेपाल आइपुगेको केही समयपछि नै उहाँको विहेको कुरा पनि चल्न थाल्यो। बुबा काठमाडौंमा नभए पनि हजुरआमाहरुले नै विहेको कुरा छिन्नुभएको रहेछ।
यता आफूहरु ल्हासा व्यापार गर्ने व्यापारी, उता पद्मरत्नको परिवार पनि ल्हासा व्यापारकै व्यापारी। दुवै परिवार ल्हासा नेवाः भएकै कारण कुरा छिन्न सजिलो भएको हुनुपर्छ। उहाँहरु धालसिक्व बस्ने, पद्मरत्न न्हैकन्तला टोल बस्ने। हिँडेरै जाने हो भने पनि पाँच मिनेटको बाटो हो।
विहेको कुरा छिनिसक्दा पनि केटा को हो नीलशोभालाई थाहा थिएन। श्रीमान् हुने केटो पद्मरत्न तुलाधरलाई उहाँले पहिलो पटक देखेकै विहेको दिनमा ‘ह्वंके’ (स्वयम्बरको सट्टा गरिने प्रमुख नेवाः विवाह संस्कार) गर्दाखेरी हो।
बालखैमा विहे भएको कारणले घरमा विहेपछि पनि उहाँहरुलाई छुट्टै कोठा दिइएको थिएन। नीलशोभा धेरैजसो माइतीमै बस्नुहुन्थ्यो। चाडपर्वका बेला मात्रै घर आउनुहुन्थ्यो। घर आए पनि उहाँलाई सासु र बुढीसासुसँगै सुताउने गरिन्थ्यो। पद्मरत्नलाई त कहिलेकाहीं झुलुकझालक मात्रै देख्ने हो। न कहिले राम्ररी कुरा नै गर्नुभएको थियो।
एक पटक शौचालय जानेबेला तल छिँडीमा जम्काभेटै भएछ। केही बोल्न त जानेकै थिएन। पद्मरत्नले नै बोल्नुभयो, ‘तिमी पढ्न जाने हो?’ उहाँले हो भन्नुभयो। पद्मरत्नले उसो भए म भन्दिन्छु है भन्नुभयो। कसलाई के भन्दिन्छु भनेको हो, नीलशोभालाई थाहा थिएन। पढ्न जाने कुरा पनि पछि उसै भयो।
ल्हासाका साहु भएका कारणले नीलशोभाको माइती सम्पन्न नै थिए। बुबा मैत्रीरत्न अत्यन्त धर्मकर्म गर्ने धार्मिक स्वभावका व्यक्ति हुनुहुन्थ्यो। उहाँले काठमाडौं स्वयम्भूमा आफ्नै खर्चमा एउटा ठूलो बौद्ध विहार पनि बनाउनुभएको छ। स्वयम्भूमाथि बसपार्कसँगै रहेको उक्त विहारलाई अचेल बुबाकै नामबाट मैत्रीरत्न विहार नामकरण गरिएको छ।
यस्तो सम्पन्न परिवारबाट आउनुभएकी नीलशोभाको जीवन विवाहपछि भने त्यति सहज हुन सकेन। घरमा धेरै जनाको परिवार थियो। उहाँको आफ्नै पनि चार बच्चा भए। घरकी कान्छी बुहारी भएकाले धेरै काम गर्नुपर्ने अवस्था थियो।
उता पद्मरत्न कुनै कमाउ कर्ममा लाग्नुभएको थिएन। सधैँभरि आन्दोलन, जुलुस, सभामै उहाँ व्यस्त रहनुहुन्थ्यो। परिवारलाई कहिल्यै हेर्न भ्याउनुहुन्नथ्यो। घरमा छुट्टै बस्न थालिसकेपछि त घर चलाउन समेत समस्या हुन थाल्यो।
बच्चाहरु छन्। आय स्रोत छैन। त्यस्तो अवस्थामा पनि नीलशोभाले श्रीमानका अगाडि कहिल्यै पनि समस्याको पोको फुकाल्नुभएन, जसरी सकिन्छ चुपचाप घर सम्हाल्नुभयो। माइती जाँदा आमाले केही पैसा दिएर पठाउनु हुन्थ्यो। त्यही पैसाले पनि घर खर्च चलाउनुपर्ने अवस्था आउँथ्यो।
एक पटक उहाँले घरैमा बसी धूप बनाउने, अचार बनाउने, जाम बनाउने काम पनि गर्नुभयो। बालकै उमेरका छोराहरुले ती सामानहरु असनका विभिन्न पसलहरुमा पुर्याइदिन्थे। त्यहाँबाट आएको पैसाले घर चल्ने गर्दथ्यो।
त्यतिबेला उहाँले घर मात्रै हेरेर पनि नपुग्ने अवस्था थियो। पद्मरत्न बेला बेलामा पक्राउ परिरहनुहुन्थ्यो। उहाँलाई समातेर जुन थानामा लगिन्छ त्यहीं गएर खाना पनि पुर्याइरहनु पर्थ्यो। कहिले हनुमानढोका, कहिले डिल्लीबजार। त्यसरी खाना पुर्याउन अक्सर ठूलो छोरा सुजन जाने गर्थे। अरु त सानै थिए।
जेलमै राखिएका बेला-बेला जेलमा पनि भेटन् गइरहनुपर्ने हुन्थ्यो। पद्मरत्नलाई भेट्न नीलशोभा नपुगेको जेलै छैनभन्दा नि हुन्छ । कहिले सेन्टर जेल, कहिले भद्रगोल जेल, कहिले नख्खु जेल। एक पटक त चौताराको जेलसम्म पनि पुग्नुभएको थियो।
नख्खुमा राखिरहेको बेला एक दिन उहाँ भेट्न जानुभएको थियो। तर दिनभरि कुरिसक्दा पनि भेट्न दिएन। जब साँझ पर्यो, पद्मरत्नलाई जेल सरुवा गरिसक्यो भन्दै उहाँलाई भेट्नै नदिई फर्काइदिए। उहाँ बाटोभरि रुँदै घर फर्कनुभयो।
पछि हुँदै गएपछि घरमा एउटा प्याकेट नै तयार गरी राख्न थालियो जसमा एउटा ओछ्यान, एउटा पातलो सिरक, दाँत माँझ्ने ब्रस र अरु केही सामान राखिएको हुन्थ्यो। पद्मरत्नलाई समातेर लाने बित्तिकै यताउति खोजिरहनै पर्दैन, थानामा गएर त्यही एउटा प्याकेट छोडिदिएपछि ढुक्कै हुने गरिन्थ्यो।
एक पटक पद्मरत्नलाई समाउन एउटा सिआइडी उहाँको पछिछि लागिरहेको रहेछ। त्यो युवा मानिस सिआइडी भनेर नीलशोभालाई थाहा थिएन। उहाँ त पद्मरत्नका साथी पो हो कि भन्ठान्नुभएको रहेछ। श्रीमानको साथी घर आएको भनी उनलाई अण्डासमेत पकाएर खुवाइन्। रातितिर त उसैले पो पद्मरत्नलाई समातेर लग्यो। त्यो देखेर घरका सबै जिल्ल परे।
यस्ता धेरै दुःखकष्ट व्यहोर्नु परे पनि नीलशोभाले एउटा कुरामा भने सधैँ मनलाई जितेर राख्नुहुन्थ्यो कि, पद्मरत्नज्यू यति भ्याइनभ्याइ हुने गरी सक्रिय भइरहनुभएको वास्तवमा राम्रै कामको लागि हो, देशकै लागि हो, गलत कार्यको लागि होइन। आफूले त्यति सहिदिएका कारण उहाँलाई केही सुविधा भएको छ। यतिमै नीलशोभाको मन मानिरहेको थियो।
पद्मरत्नले पनि घरमा बूढी भनेर कहिल्यै हेलाहोचो गर्नुहुन्न। सधैँभरि महिला पनि बराबर नै हो भनिरहनुहुन्थ्यो। ढोग्न गए म पनि तिमीलाई ढोग्नु भनेर अघि सर्नुहुन्थ्यो। आफूलाई ढोग्न दिनुहुन्न थियो।
एक पटक उहाँहरुको घरमा माओवादी अध्यक्ष प्रचण्ड आउनुभएको थियो। त्यतिबेला माओवादी पार्टी भूमिगत नै थियो। अध्यक्ष प्रचण्ड गोप्य रुपमा आउनुभएको थियो। त्यसैले कुराकानी हुँदा घरकै छोराछोरीलाई समेत कोठमा छिर्न दिइएको थिएन। प्रचण्ड आफैंले भाउजु पनि एक पटक भेटौँ न भन्नुभएकाले नीलशोभा चाहिँ कोठामा जान पाउनुभयो। तर कोठामा छिर्ने बित्तिकै उहाँले प्रचण्डलाई भन्नुभएछ- देशमा धेरै नेताहरुले धोका दिइसके, तपाईंहरुले चाहिँ धोका नदिनुहोला है। जनताले सुख पाउने बाटो नभेटेसम्म तपाईंहरुले बोकिरहेको यो हतियार पनि नछोड्नुहोला।
एक पटक उदाय् समाज (तुलाधर समाज) ले घरको लगत लिन आएको रहेछ। त्यसमा पनि उहाँले घरको मुल थकाली नीलशोभा तुलाधर भनेर लेखेर पठाउनुभयो। पद्मरत्नज्यूको जंक्व हुँदा पनि छोराछोरी मिलेर ‘पद्मरत्न प्रतिष्ठान’ खोल्ने भनी घोषणा गर्नुभएको थियो। तर पद्मरत्नले नै त्यसलाई संशोधन गर्दै ‘यो प्रतिष्ठानको नाम नीलशोभा–पद्मरत्न प्रतिष्ठान हुनेछ’ भनी घोषणा गर्नुभएको थियो। उहाँ समानताको कुरा बाहिर मात्र होइन, घरभित्रै पनि लागू गर्ने मान्छे हुनुहुन्थ्यो।
पद्मरत्नकै संगतले हुनुपर्छ, कपितय कुरामा नीलशोभा पनि बुझ्ने हुँदै आउनुभएको थियो। भाषिक अधिकारको कुरा, मानव अधिकारको कुराबारे उहाँले बोल्न नसके पनि नबुझेकै भने होइन।
एक पटक उहाँहरुको घरमा माओवादी अध्यक्ष प्रचण्ड आउनुभएको थियो। त्यतिबेला माओवादी पार्टी भूमिगत नै थियो। अध्यक्ष प्रचण्ड गोप्य रुपमा आउनुभएको थियो। त्यसैले कुराकानी हुँदा घरकै छोराछोरीलाई समेत कोठमा छिर्न दिइएको थिएन। प्रचण्ड आफैंले भाउजु पनि एक पटक भेटौँ न भन्नुभएकाले नीलशोभा चाहिँ कोठामा जान पाउनुभयो। तर कोठामा छिर्ने बित्तिकै उहाँले प्रचण्डलाई भन्नुभएछ- देशमा धेरै नेताहरुले धोका दिइसके, तपाईंहरुले चाहिँ धोका नदिनुहोला है। जनताले सुख पाउने बाटो नभेटेसम्म तपाईंहरुले बोकिरहेको यो हतियार पनि नछोड्नुहोला।
उहाँको कुरा सुनेर प्रचण्ड गम्भीर बन्नुभयो। पद्मरत्न चाहिँ वाल्ल पर्नुभयो। आफ्नी श्रीमतीले प्रचण्ड जस्तो व्यक्तित्वका सामुन्ने त्यसरी बोल्न सक्छिन् भनी उहाँले सोच्नुसम्म भएको थिएन।
पछिल्लो समय भने उहाँ पद्मरत्नज्यूसँग सभा समारोह मात्र होइन जुलुस र अनसनहरुमा समेत जाने गर्न थाल्नुभयो। एक दुई पटक विदेश पनि जानुभयो। तर विदेशमा भने धेरै जसो होटल कुरुवा बस्नेभन्दा बढी केही गर्न पाउनुभएन। पद्मरत्न बिहानै कता गइसक्नुहुन्थ्यो। उहाँ चाहिँ एक्लै होटलमा बसिरहनुहुन्थ्यो।
एक पटक नीलशोभाकै पनि बाइपास सर्जरी गर्नुपर्ने भएछ। भारतको नयाँ दिल्लीमा सर्जरी भएको थियो। त्यसपछि भने पद्मरत्नज्यूले उहाँलाई पनि अलि बढी ध्यान दिन थाल्नुभयो। खान रुचि छ–छैन सोधिरहनुहुन्थ्यो, औषधी खाए–खाएनन् चिन्ता लिइरहनुहुन्थ्यो। डाक्टरले गुलियो खानु हुँदैन भनेका थिए। कहिलेकाहीं घरमा कोही नभएका बेला आइसक्रिम ल्याएर ख्वाउने गर्नुहुन्थ्यो।
आजभन्दा चार वर्षअघि अकस्मात पद्मरत्नको देहान्त भयो। नेपालभाषा मात्र होइन, नेपालकै लागि त्यो एउटा ठूलो क्षति थियो। उहाँको निधनपछि नीलशोभाको मुहारबाट पनि कान्ति हराउँदै जान थाल्यो।
हरेक दिन उहाँलाई साथ दिन घरमा छोरा, छोरी, बुहारी वा नातिहरु नबसी नहुने अवस्था हुन थाल्यो। कहीं घुम्न जाने रहर पनि छोड्दै जान थाल्नुभयो।
गएको ४५ दिनअघि उहाँ दिवंगत हुँदा पनि घरमा कोही नभएको अवस्था परेको थियो। सबै जना भोज गइरहेका थिए। घरमा उहाँलाई साथ दिन एक जना नाति मात्रै बसिरहेका थिए। हजुरआमालाई खुवाउन भनी नाति किचेनमा चिया पकाउन गइरहेकै बेला उहाँलाई हृदयाघात भएको थियो। भोज गइरहेकाहरु सबैलाई बोलाउँदासम्म उहाँले स्वाश छोडिसक्नुभएको थियो। घरका परिवारलाई अहिले पनि यो घटना दुःख मात्र होइन, दुःस्वप्न जस्तै भइरहेको छ।
नीलशोभा तुलाधर चार-चार जना लालाबाला (छोराहरु सुजन र सर्बन, छोरीहरु सुनिता र सुम्निमा) हरु सम्हाली घर चलाइरहनु भएकी एक साधारण गृहणी मात्रै भए पनि पद्मरत्न तुलाधर जस्ता असाधारण व्यक्तित्व निर्माण गर्ने कार्यमा उहाँले जसरी आफूलाई समर्पण यानादिल, त्यो घर-परिवार मात्र होइन समग्र समाज र देशले नै कदर गर्नुपर्ने सत्कार्य हो।
जबसम्म हामी पद्मरत्नलाई सम्झिरहन्छौँ, तबसम्म नीलशोभा पनि सम्झनामा आइरहेकै हुनेछ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली!
भदौ १, २०७९ बुधबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।