सुकीलाई थप ६ वर्षको जेल सजाय

सुकीलाई थप ६ वर्षको जेल सजाय

याङ्गुन : म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप ६ वर्ष जेल सजाय तोकिएको छ।

सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजारभन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ। अपदस्थ नेतालाई चार वटा मुद्दामध्ये प्रत्येकमा तीन वर्षको सजाय सुनाइएको छ।

तीमध्ये तीनका लागि सजाय एकैसाथ सुनाइने छ। उनलाई थप ६ वर्षको जेल सजाय दिइने अल जजिराले एक कानुनी अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ। 

७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेपछि देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो। यद्यपि, सुकीले सबै आरोप अस्वीकार गरेको र उनका वकिलहरूले अपिल गर्ने अपेक्षा गरिएको अल जजिराले जनाएको छ। 

यो निर्णय लोकतान्त्रिक रूपमा निर्वाचितहरूलाई बदनाम गर्ने सैनिक सरकार अर्को हतास प्रयास भएको म्यानमारको राष्ट्रिय एकता सरकारका विदेशमन्त्री जिन मार आङले बताएका छन्। म्यानमार सैनिक सरकारको आलोचना गर्दै उनले सुकीको रिहाइको लागि आह्वान पनि गरेका छन्।

साउन ३१, २०७९ मंगलबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।