'बाबरी'को गीत मीठो तर ट्रेलर खल्लो, धिरजको अभिनयमा दयाहाङको झझल्को
काठमाडौंः फिल्म 'बाबरी'को ट्रेलर सोमबार सार्वजनिक भयो। फिल्मको 'बाबरी' बोलकै गीत यसअघि नै निकै हिट भएकाले यो फिल्मको ट्रेलरको प्रतीक्षामा अधिकांश दर्शक थिए।
त्यसमाथि नयाँ पुस्ताका कलाकार धिरज मगर र अदिती बुढाथोकीका फ्यान फलोइङले गर्दा पनि यसलाई प्रतीक्षित चलचित्र बनाएको थियो।
तर जति प्रतीक्षा गरियो, ट्रेलर हेर्दा त्यति दमदार भने निस्किएन। फिल्मको ट्रेलर 'छक्का पञ्जा' र 'कबड्डी'को मिश्रणजस्तो देखियो।
अनमोल केसीसँग फिल्म खेलेर समेत फिल्ममा करियर बनाउन नसकेकी नायिका हुन् अदिती। यसको कारण बाबरी फिल्मको ट्रेलरमा प्रष्ट देखिन्छ। उनको अभिनय निकै अस्वाभाविक लाग्छ। धिरजको पनि उही हाल। उनको अभिनय लाउड त देखिएको छ नै नयाँ पन दिन खोज्दा कबड्डीमा देखिएको दयाहाङ राईको अभिनयको झझल्को प्रष्ट देखिन्छ।
अरू त अरू कबड्डी फिल्ममा भएको 'मन परेको जुत्ता पो जुत्ता नभए खाली खुट्टै ठीक छ' भन्ने डायलगकै झझल्को आउनेगरी 'आफूलाई मनपर्ने जुत्ता अरू कसैले लान्छ भने म त्यसको खुट्टा काटेर भए पनि लिएर आउँछु' बनाइएको छ।
अनि ट्रेलर हेरुञ्जेल कबड्डीका काजी पात्रलाई बाबरीमा राजा सा'ब बनाएको दर्शकले भेउ पाउँछन्।
दर्शकलाई हलसम्म तान्नुपर्ने ट्रेलर नै पहिल्यै हेरेको हिट फिल्मको कपी जस्तो देखिनेगरी बनापछि फिल्मको भविष्य के हुने हो?
तर युट्युबको कमेन्ट सेक्सनमा जाने हो भने चाहिँ केही रमाइला कमेन्ट भेटिन्छन्। जस्तो केही दर्शकले धिरज र अदितीलाई प्रोत्साहन गर्दै अनमोलको भन्दा १० गुणा राम्रो अभिनय भएको प्रतिक्रिया दिएका छन्।
ट्रेलरमा दुई युवासँग एक युवतीको प्रेम देखाइएको छ। भदौ ३१ लाई प्रर्दशन मिति तोकेको बाबरीमा नेपाली मुलका भारतीय कलाकार धिरज नाडकरको समेत डेब्यु अभिनय छ।
धिरज नाडकर, कुसुमे रुमालमा अभिनय गर्ने नायिका तृप्ती नाडकरका छोरा हुन्। फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।
यस्तो छ ट्रेलर
साउन ३१, २०७९ मंगलबार ०९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।