बालबालिकाको पार्कमा कांग्रेसको राजनीति: कार्यकर्ताले भत्काउने, गृहमन्त्रीले उद्घाटन गर्ने

बालबालिकाको पार्कमा कांग्रेसको राजनीति: कार्यकर्ताले भत्काउने, गृहमन्त्रीले उद्घाटन गर्ने

बुटवलः नेपाली कांग्रेस शुद्धोधन गाउँपालिकाका सभापति शेरबहादुर काफ्लेको नेतृत्त्वमा आएको समूहले ०७७ साउन १६ गते रुपन्देहीको शुद्धोधन बाल उद्यान तोडफोड गरेको थियो। मसानघाटको रूपमा रहेको दर्बाह क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने भन्दै गाउँपालिकाले मसानघाटको एक बिघा जमीनमा बाल उद्यान निर्माण गर्ने भनी गाउँपालिकाबाट एक करोड र पर्यटन मन्त्रालयबाट ३० लाख बजेट विनियोजन गरी ठेक्कामार्फत कामअगाडि बढाएको अवस्थामा उद्यान तोडफोड भएको थियो।

उक्त स्थानमा पार्क नभएर शवदाह घाट नै बनाउनुपर्ने स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताको माग थियो।

सोही समूहले तत्कालीन गाउँपालिका अध्यक्ष किशुनचन चौधरीको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै वडा नम्बर ५ का तत्कालीन वडा अध्यक्ष पुण्य गौतमलाई अभद्र व्यवहार गरेको थियो।

लुम्बिनी–खैरहनी बुद्ध परिपथ सडकखण्डको तोडफोड गरिएको उक्त बाल उद्यान अहिले जिल्लाकै नमूना बाल उद्यान बनेको छ। शनिबार गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले यसको उद्घाटन गरे।

गृहमन्त्री खाँणले उद्घाटन गरेसँगै अहिले फेरि यो उद्यान चर्चामा आएको छ। अनि आफ्नै कार्यकर्ताले तोडफोड गरेको दर्बाह पार्कको उद्घाटन गरेको भन्दै आचलोना पनि बढेको छ।

कतिपयले ‘काम गर्दा अवरोध गर्ने कांग्रेसले अहिले लाज पचाएर गृहमन्त्रीबाट उद्यानको उद्घाटन गराएको’ बताइरहेका छन्।

लुम्बिनी प्रदेश सभाका एमाले सांसद विष्णु पन्थीले गृहमन्त्री खाँणले पार्क उद्घाटन गरेको सन्दर्भमा ‘समय समयकी बात है’ भनेर टिप्पणी गरेका छन्।

मन लोभ्याउने पार्क राजनीतिको सिकार

लुम्बिनी प्रदेश सांसद तुलसीप्रसाद चौधरी, तत्कालीन गाउँपालिका अध्यक्ष किसुन चौधरी तथा गाउँ कार्यपालिको प्रयास र संघर्षपछि पार्क निर्माण भएको थियो।

शुद्धोधन गाउँपालिकाको पहिलो गाउँ सभाले ४० लाख विनियोजन गरेर उक्त स्थलमा उद्यान बनाउन सुरु गरेको थियो। त्यसपछि २०७४/०७५ मा गुरुयोजना सुरु भई ०७५/०७६ मा पनि ४० लाख बजेट विनियोजन गरी नदी तटबन्ध गरिएको थियो।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकार पर्यटन मन्त्रालयको ३० लाख, गाउँपालिकाको ५० लाख र प्रदेश सरकारको समानीकरण बजेटबाट ५० लाखसहित एक करोड ३० लाखको लागतमा पार्क निर्माण गरिएको थियो।

पार्क निर्माण रोक्नका लागि स्थानीय वीरेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण चौधरीसहित नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका सभापति शेरबहादुर काफ्ले तथा स्थानीय विपीन कुर्मी लगायतले नेतृत्त्व गरेका थिए। तत्कालिन समयमा कांग्रेस शुद्धोधन गाउँपालिका समिति मसानघाट मासेर पार्क बनाउने योजनाको विपक्षमा उभिएको थियो।

‘शुद्धोधन चिल्ड्रेन पार्क’ नाम दिइएको पार्कमा बालबालिका रमाउन मिल्ने थुप्रै जनावरका मूर्तिहरू राखिएका छन्। जिराफ, सिंह, बाघ, चितुवा, गैंडा, कंगारु, उट, डाईनासोरदेखि गोरिल्लासम्मका आकृतिहरूले बालबालिकासहित त्यहाँ पुग्ने सबैको मन लोभ्याउने गरेको छ।

साउन ३१, २०७९ मंगलबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।