पार्टी कार्यक्रममा शेखरलाई दर्शकदिर्घामा आसन
काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पराजित भएका कांग्रेस नेता शेखर कोइरालाको हैसियत दोस्रो वरियतामा हुनुपर्ने। नभए पदाधिकारी पछि भए पनि हुनुपर्ने भन्दै संस्थापन इतर समूहले पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा विवाद गरेका थिए।
तर पार्टीको बरीयतामा उनको नाम २० औँ स्थानमा राखियो। सोमबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजना गरिएको दुई दिवसीय अभिमुखीकरण कार्यक्रममा कोइरालालाई मञ्चमा स्थान दिइएन। उनी दर्शकदिर्घामै बसे।
कोइराला उद्घाटन सत्रको मध्यतिर पुगे। उनी पुग्दा कार्यक्रमका सभापति (पार्टी उपसभापति) धनराज गुरुङले मन्तव्य सकेका थिए। प्रमुख अतिथि शेरबहादुर देउवाले भाषण सुरु गर्न लागेका थिए। कोइराला पुगेपछि मध्य भागमा एक जनप्रतिनिधिले कुर्सी छाडिदिए। उनी त्यही बसे।
देउवाको लिखित भाषण सकेसँगै उद्घाटन सत्र सकियो। शीर्ष नेताहरू बाहिरिए। शेखरलाई समर्थकहरूले फोटो सेसनको लागि घेरे। केही थान फोटो खिचाए।
सञ्चार माध्यमका केही जिज्ञासामा छोटो प्रतिक्रिया जनाउँदै कोइराला कार्यक्रम स्थलबाट बाहिरिए। मञ्च सानो भएकाले मञ्चमा आसन थिएन। पार्टी पदाधिकारीका लागि मञ्चको पहिलो लाइनमा सोफा र कुर्सी राखिएको थियो। नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ अनी उपसभापती धनराज गुरुङ २ जना अट्ने सोफामा कोचिएर बसेका थिए। महामन्त्री गगन थापा अनी विश्वप्रकाश शर्मा लगायतका उप- महामत्रीहरु कुर्सीमा बसेका थिए।
पूर्व पदाधिकारी दोस्रो लहरमा थिए। मध्य समयमा पुगेकाले होला कोइराला अगाडिको कुर्सीमा गएनन्। हलको ढोकाबाट छिर्नासाथ जुन कुर्सी पाए त्यहीँ बसे।
पार्टीको हरेक निर्णय एकलौटी गरेको भन्दै शेखर समूह संसद्को निर्वाचनमा आफ्नो पक्षका लागि ४० प्रतिशत सिट सुरक्षित गर्ने रणनीतिमा लागेको छ। पार्टीको केन्द्रीय सम्पादन समितिको बैठक अगाडि बसेको आफुपक्षिय भेलामा पार्टी सभापति देउवाले पार्टीको भातृ संस्थाहरूको मनोनयनदेखि हरेक पक्षमा एकलौटी गरेको भन्दै रचनात्मक विरोध गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
उता देउवा पनि शेखरलाई सकेसम्म आफ्नो प्रतिस्पर्धीको स्थान दिने पक्षमा देखिएका छैनन्। पार्टीको बरीयतादेखि पार्टीको कार्यक्रमहरूमा समेत उनले रामचन्द्र पौडेललाई संस्थापन इतर समूहको नेताको रूपमा अगाडि सार्ने गरेका छन्। पौडेल नभएको अवस्थामा उनले शशाङ्क कोइरालालाई अगाडि बढाउँदै शेखरलाई सकेसम्म डोमिनेट गर्ने गरेका छन्।
त्यो दृश्य सोमबारको पार्टी कार्यक्रममा पनि देखियो।
साउन ३०, २०७९ सोमबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।