स्वयंसेवक हुँदै तेस्रो पटक 'जनताको नर्सिङ होम' हाँकिरहेकी विमला
समुदायले सरसफाइ कार्यक्रमको आयोजना गरेको थियो। त्यहाँ परोपकार चिकित्सालय जस्तै अर्को पनि खोल्न पाए हुन्थ्यो भन्ने कुरा भयो। अनि त्यही कार्यक्रमपछि काठमाडौँ महानगरपालिका २५ वडाका युवा अनि चिकित्सकहरू मिलेर खोले सामुदायिक चिकित्सालय। स्थापना हुने बेला समुदायको एउटा समूहबाट विमला मानन्धरका बुबा मित्थाबहादुर मानन्धर संस्थापक भए।
उनको बुबा संस्थापक। टोलका युवाहरू भेला भएर काम गर्न थाले। उनी १७ वर्षको उमेरमै चिकित्सालयमा जोडिन पुगिन्।
‘एसएलसीपछि भोलेन्टियर भएर काम गरेँ। बुबा नै संस्थापक भएपछि उहाँ सँगसँगै चिकित्सालय गएर काम गर्न पाएँ,’ उनले सम्झिइन्।
न्ह्योख्यामा रहेको जनचिकित्सालयमा उनले काम गर्न थालेको ४० वर्ष त भयो नै। स्थापनाकालमा उनी स्वयंसेवक भएर संस्थामा प्रवेश गरेकी थिइन्। अहिले संस्थाको अध्यक्ष छिन्।
उनले ‘होम नर्सिङ’, प्राथमिक उपचार र सामुदायिक स्वास्थ्यको तालिम लिइन्। ‘त्यतिखेर टिबी रोगको आतङ्क थियो। त्यसका लागि स्ट्रेप्टोमाइसिन खोप लगाउनुपर्छ। दिनमा २६ जनासम्मलाई त मैले सुई पनि लगाइदिन्थेँ’ उनले सम्झिइन्।
‘भृकुटीमण्डपमा विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी तालिम हुन्थ्यो। त्यतिखेर डाक्टर थीरमान शाक्यले म सहित अन्य केहीलाई त्यहाँ पठाउनु भयो,’ उनले सम्झिने प्रयास गर्दै उकेरासँग भनिन्, ‘त्यहाँ सामुदायिक स्वास्थ्यको बारेमा तालिम दिइन्थ्यो। त्यहीँबाट मैले नेपालबाट तालिम लिनुभएकी पहिलो नर्स तारादेवी तुलाधरबाट तालिम लिन पाएँ। मैले बिस्तारै सिक्दै गएँ।’
सुरुमा चन्दा उठाएर संस्था सञ्चालन गरिएको थियो। उनको बुबाले डिडिसीको दूध बेचेर प्रतिबोतलमा ५ पैसा चन्दा लिने गर्थे। पछि १० पैसासम्म चन्दा लिन थालियो।
०३९ सालमा टोलकै कृष्ण मन्दिर भजनमण्डली अनि अर्काको घरको छिँडीमा स्थापना भएको जनचिकित्सालयको अहिले आफ्नै भवन छ।
चिकित्सालयको मुख्य काम नै असहायहरूलाई स्वास्थ्य सेवा अनि समुदायमा रोगबाट बच्न जनचेतना फैलाउने थियो। सुरुमा चिकित्सालयको स्थापना हुँदा २५ पैसामा नाम दर्ता गरेर उपचारसँगै परामर्श समेत दिइन्थ्यो।
‘चिकित्सालय सामुदायिक हो। त्यसैले यसले समुदायस्तरमा रोग प्रतिरोधात्मक सेवा दिने नै उद्देश्य बनायो। सरसफाइ कसरी गर्ने? लागूपदार्थ दुर्व्यसनीबाट कसरी टाढा रहने? यस्तै विषयमा जनचेतना फैलाउने अनि सामान्य उपचार पनि दिन थालियो’ विमला भन्छिन्।
उनी स्वयंसेवकबाट लाइफ मेम्बर, एक्जिक्युटिभ कमिटी मेम्बर अनि कोषाध्यक्ष हुँदै अहिले तेस्रो पटक निर्विरोध अध्यक्ष भइन्।
उनले सिक्दै जाँदा खोप लगाउन सक्ने भइन्। अनि घाउ सफा गर्न समेत सिकिन्। पछि ल्याब टेक्निसियनको तालिम लिइन्। अनि संस्थामै ल्याब बनाइन्।
अहिले महिनाको २५ गते थाइराइडको क्याम्प सञ्चालन गर्छिन्। आन्द्राको क्यान्सर सम्बन्धी क्याम्प पनि चलाउँछिन्।
‘आन्द्रामा क्यान्सर भएपछि मान्छेको आन्द्रा नै काट्नुपर्ने रहेछ। आन्द्रा काटेपछि सामान्य रूपमा दिसा बाहिर नआउने। त्यसको लागि आन्द्रा काटिएको ठाउँमा ब्याग जोड्नुपर्ने हुन्छ। त्यसमै सबै ग्याँसदेखि लिएर दिसा जाने हुन्छ। त्यो ब्याग एक-दुई दिन बिराएर सफा गरिराख्नुपर्ने रहेछ। त्यसको लागि हामीले कोल्स्कोपी ब्याग निःशुल्क दिने गरेका छौँ’ उनले भनिन्।
बिहान र बेलुका उपचार हुँदै आएको चिकित्सालयमा अहिले बिहानको सेवा मात्र सञ्चालनमा छ। चिकित्सालयमा बिहान फिजिसियन, बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ आउँछन्। ब्लड प्रेसर जाँच्ने, इसिजी जाँच्ने, थर्मल थेरापी गर्ने अनि दमका रोगीको निःशुल्क उपचार हुन्छ त्यहाँ।
नेपाल भाषामा पत्रकारिता
विमला पत्रकारितासँग पनि जोडिएकी छिन्। उनी नेपाल भाषामा लेखहरू लेख्छिन्। उनी फिल्डमै गएर पत्रकारिता गर्थिन्। अहिले फोन रिपोर्टिङ गर्छिन् त्यो पनि विशेष स्वास्थ्य सम्बन्धी नै।
‘पहिला फिल्डमै उत्रेर रिपोर्टिङ गर्थेँ। सुरुमा म पत्रकार हुन लागेँ भनेर घरका मान्छे त्यति खुसी हुनु भएन। लेखहरू प्रकाशित हुन थालेपछि भने राम्रै प्रतिक्रिया आउनथाल्यो’ उनले भनिन्।
विमलाले घर नजिकैको ‘सन्ध्या टाइम्स’ पत्रिकामा इन्टर्नसिप गरेर पत्रकारिताको सुरुवात गरेकी थिइन्। नेपाल भाषामै पत्रकारिता गर्छु भन्ने थिएन। नेवारी पत्रिका भएकाले उनको सुरुवात नेपाल भाषाबाटै भयो। नेपाल भाषा उनले पढेको विषय पनि। त्यसमै पत्रकारिता गर्न उनलाई सहज पनि भयो। एमएमा भर्ना भए पनि बच्चाको कारण उनले पढाइ भने पूरा गर्न सकिनन्। अहिले उनी हप्तामा एउटा लेख लेख्ने गर्छिन्।
‘अहिले सन्ध्या टाइम्स ‘नेपाल भाषा टाइम्स’ भएको छ। पत्रकारितामा पनि मैले स्वयंसेवक नै भएर काम गरे। मैले पैसा लिएको भनेको ‘समाचारपत्र’ मा मच्छिन्द्र बहालबारे लेख्दा पाएको ३ सय रुपैयाँ मात्र हो,’ विमलाले सुनाइन्।
विमलाले ‘नेवा भाषा’ मा कसरी पढाउने भनेर स्कुलका शिक्षकहरूलाई तालिम समेत दिन्छिन्। उनले नेपाल भाषामै लिपि पनि पढिन्। लिपि गुठीको कार्यकारी सदस्य पनि भइन्।
काठमाडौँ महानगरपालिकाले‘एउटा स्कुलमा एउटा नेपाल भाषा पढाउने शिक्षक’ कार्यक्रम ल्याएदेखि नै उनी त्यसमा सहभागी भइन्।
‘एउटा समूहमा २५/३० जना हुन्छन्। त्यसमा भाषा र संस्कार सिकाउनुपर्ने हुन्छ। एउटा नयाँ विषय भएकाले तालिम दिँदा रमाइलो नै लाग्छ। । अब निजी स्कुलहरूमा पनि लागू गर्ने कुरा आएको छ,’ उनी खुसी देखिइन्।
बुबाको मृत्युपछि...
विमलाको बुबाको मृत्यु भएको चार वर्ष भयो। उनी पहिलो पटक अध्यक्ष हुँदा बुबाको मृत्यु भइसकेको थिएन। उनी अध्यक्ष हुँदा बुबा निकै खुसी भएका थिए।
'सानैमा राष्ट्रिय गान गाउन आएको बच्चा आज चिकित्सालयलाई सम्हालेर बसेकी छिन्' भन्दै प्रसन्न भएको अझैँ सम्झिन्छिन् उनी।
‘जनचिकित्सालयसँग जोडिन पाउनु नै मेरो लागि ठुलो कुरा हो। काम गर्दा बुबा अझै सँगै हुनुहुन्छ जस्तो लाग्छ। अहिले पनि सम्झिँदा सपना हो कि बिपना जस्तो लाग्छ। चिकित्सालयसँग मेरो आत्मीय सम्बन्ध छ।’
पहिलो पटक अध्यक्ष भएपछि तीन वर्ष जति बुबासँगै काम गर्न पाइन् उनले। प्रदेश सरकारले पूर्वाधार विकासका लागि संस्थालाई ८० लाख बजेट छुट्टाएको थियो। त्यो बजेटको चिठी देखाउँदा उनको बुबा दङ्ग पर्नुभएको थियो।
सामुदायिक संस्था भएका कारण समुदायको भूमिका धेरै हुने नै भयो। स्थानीयले पनि चिकित्सालयको लागि सकारात्मक भूमिका खेलेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘डाक्टर र सिस्टरहरू पनि स्वयंसेवक नै भएर न्यून शुल्कमा कम गर्नुहुन्छ।’
नर्सिङ होम र क्लिनिक नभएको समयमा खुलेको चिकित्सालयलाई अहिले वडाबाट पनि सहयोग आउने कुरा भएको उनी बताउँछिन्।
‘अझै धेरै काम गर्नु छ। मलाई ज्येष्ठ नागरिकका लागि काम गर्न मन छ। अनि शिक्षा र स्वास्थ्यमा अरू काम गर्ने इच्छा छ। जति काम गर्छु, जहाँ काम गर्छु यही क्षेत्रमा गर्छु,’ विमला भन्छिन्।
साउन ३०, २०७९ सोमबार १६:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।