भुवन केसी विरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ
काठमाडौँ : चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको योग्यता नपुग्ने भन्दै नियुक्ति खारेजीको माग दाबी सहित परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
सरकारको निर्णय खारेजीको मागका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रवार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दर्ता गरेका थिए।
उत्प्रेषणको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ। मुद्दाबारे आज सोमबार प्रारम्भिक सुनुवाइ हुँदै छ। रिटबारे के गर्ने आजै आदेश आउन सक्छ।
सरकारले केसीलाई गत साउन ९ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यौन दुर्व्यवहार गरेको आरोप लगाएका केसीको शैक्षिक योग्यतामाथि समेत रिटमा प्रश्न उठाइएको छ।
साउन ३०, २०७९ सोमबार १४:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।