धिरज र अदितिसँग पुष्प र वर्षाले भिड्न सक्लान् ?
काठमाडौँ : एकसेएक बलिउड फिल्मले समेत हलमा पानी भन्न सकिरहेका छैनन् अहिले। स्टारकास्ट भएको फिल्मलाई दर्शकको के दुख भन्ने दिन पनि गए। तीन खानले अभिनय गरेको जस्तो फिल्म पनि चलिहाल्छ भन्ने भनाई पनि आमिर खानको अभिनय रहेको फिल्म लालसिंह चड्डाको फितलो व्यापारले नै गलत देखाइसक्यो।
हिन्दी फिल्मको व्यापार घट्दा नेपाली फिल्म निर्माताहरू दङ पर्नुपर्ने हो नि। तर उनीहरूकै सातो उडिरहेको छ। त्यस्ता हिन्दी फिल्म त चलेन हाम्रो हालत के होला भनेर तर्सिएर फिल्म रिलिज डेट यताको उता अनि उताको यता गरेर बसेका छन्।
'बाबरी' ले भदौ ३१ गते रिलिज डेट फिक्स गरेकोमा अब असोज १४ मा पुगेको छ। नायक धिरज मगर अनि अदिति बुढाथोकीको अभिनय रहेको प्रेम सम्बन्धमा आधारित यो फिल्मले पहिल्यै भदौ ३१ भनेर प्रचार गरिसकेको थियो।
अभागी नायक पुष्प खड्का र वर्षा सिवाकोटीको फिल्म ‘मनसँग मन’ पनि असोज १४ मै रिलिज हुँदै छ। अभागी किन लेख्या भन्ने लाग्न सक्छ पाठकलाई। किनकि उनको अभिनय ठिकठिकै छ। तर अझैँ नेपाली फिल्म क्षेत्रमा टिक्न सङ्घर्षरतै छन् उनी।
बाबरीमा धिरज र अदितिको जोडीका अगाडि पुष्प र वर्षाको जोडीको प्रतिस्पर्धा अलि अमिल्दो हुनसक्छ। अब कथा र अभिनय बेजोड भए हो। नत्र अदिति र धिरजको फिल्मी गीतले नै फिल्मको हाइप हल्का बढाइसकेको छ 'मनसँग मन'भन्दा।
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको बाबरी सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। चैत २७ गतेलाई प्रदर्शन मिति तोकेर कोरोनाका कारण रिलिज डेट सारेर बसेको फिल्म मनसँग मनमा केमियोमा अहिले नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका पल शाह अनि विवादमा आइरहने नायिका पूजा शर्मा छन्। अब पलको केमियोले नाफा गर्ला कि घाटा ? यो फिल्मको निर्देशन कैलाश राईले गरेका हुन्।
साउन २९, २०७९ आइतबार २३:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।