काठमाडौँको फोहोर समस्या जटिल बन्दै, स्थानीय तहका नेतृत्व ब्लेम गेममा, प्रदेश र केन्द्र मौन
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका चोक र गल्लीहरूमा फोहोरको पहाड बनेका छन्। बर्खाको भेलले फोहोर बगाउँदा ढल प्रणाली थुनिने जोखिम बढिरहेको छ। फोहोर व्यवस्थापनको नेतृत्व र संयोजन गर्नुपर्ने स्थानीय तहका पदाधिकारी भने' ब्लेम गेम' मा सक्रिय भएका छन्। प्रदेश र केन्द्रीय सरकार रमिते बनेका छन्।
डेढ महिनाभन्दा बढी समयदेखि काठमाडौँ महानगरसहितका काठमाडौँका अधिकांश स्थानीय तहको फोहोर उठ्न सकेको छैन। शनिवार काठमाडौँ महानगरले सुरक्षाकर्मीको सहयोग लिएर एक सय ५० ट्रक फोहोर बञ्चरेडाँडामा पूर्याएको थियो।
महानगरका मेयर बालेन्द्र शाहले शनिवारै आइतबार कुनै अवरोध नभए २५० ट्रक फोहोर लैजाने दाबी गरेका थिए। तर आइतबार बिहानै अवरोध भयो। कारण पानीको मुहानमा कसैले लगेर फोहोर फालिदियो। स्थानीय विरोधमा उत्रिए।
तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फालिएको थियो। पानीको मुहानमा फोहोर फालिएको जनाउँदै स्थानीयले बिहान सडक अवरुद्ध गरेपछि अनुसन्धानमा प्र. ३ —००३—१२४६ नं. को बालुवा बोक्ने गाडीले फोहोर लगेर खोलामा फालेको खुल्यो। एक जना पक्राउ परे।
फोहोरको अवरोध खुले लगत्तै फोहोर बोक्ने एक ट्रकले किचेर बाख्रा मर्यो। फेरी अवरोध भयो। क्षतिपूर्तिमा सहमति भएपछि बल्ल अवरोध खुल्यो।
महानगरले दिनभरमा ९० वटा फोहोरका गाडीहरू बञ्चरेडाँडामा पुर्यायो। त्यहीबिचमा धुनिबेसी नगरपालिकाका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र अनि एकीकृत समाजवादीका अध्यक्षहरूले नगर पार्टी अध्यक्ष र सभापतिलाई काठमाडौँको फोहोर बञ्चरेडाँडामा ल्याउन सधैका लागि बन्द गर्न पहल गर्न भन्दै लेखेको पत्र सार्वजनिक भयो।
पत्रमा सहमति गरेर पालना गर्नुको सट्टा राज्यशक्तीको दुरुपयोग गरेर स्थानीयमाथि प्रहरी दमन गराएर जवर्जस्ती फोहोर फ्याकेको, स्थानीयमाथि झुटो अभियोग लगाएको र स्थानीयले फोहोर फाल्ने काम सधैका लागि बन्द गर्न राजनीतिक दलले नेतृत्व गर्न आग्रह गरेको भन्दै तत्काल सर्वदलीय बैठक बोलाएर निर्णय गर्न माग गरिएको थियो।
पत्र सार्वजनिक भएपछि काठमाडौँका मेयर शाहले फेसबुकको पेजमा लेख्दै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएको भन्दै पत्र राखे।
उनले यस्तो कसरत हो भने विडम्बनापूर्ण हुने भन्दै बञ्चरेडाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरू बनिसकेको र भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरूले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको उल्लेख गरेका छन्।
'यो झुक्क्याएर गरिएको पनि थिएन यसका वैधानिक सम्झौताहरू छन्। ती सम्झौताहरूको पालना गर्नु सबैको कर्तव्य हो,' उनले लेखेका छन्' सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ। यसका विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ?'
उनले फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गर्दै राजनीति त्यस्तो नहुने र त्यस्तो राजनीतिले कसैलाई अगाडि नबढाउने लेखेका छन्।
उनले लेखे' हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ?'
साउन २९, २०७९ आइतबार २१:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।