भारतका 'वारेन बफेट' भनेर चिनिने शेयर मार्केट किङ राकेश झुन्झुन्वालाको निधन

भारतका 'वारेन बफेट' भनेर चिनिने शेयर मार्केट किङ राकेश झुन्झुन्वालाको निधन

एजेन्सीः भारतीय शेयर बजारका माहिर खेलाडी राकेश झुन्झुन्वालाको निधन भएको छ। ६२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उनको निधन भएको हो।

आज बिहान पौने सात बजे उनको निधन भएको हो। यसअघि गत सात अगस्टमा मात्र उनको नयाँ कम्पनी 'आकाशा एयर'ले उडान भरेको थियो। नयाँ कम्पनी स्थापना भएको सात दिनमै उनको मृत्यु भएको छ।

शेयर बजारबाटै ४६ हजार करोड भारुको सम्पत्ति बनाउन सफल झुन्झुन्वालाले जम्मा पाँच हजार भारुबाट आफ्नो यात्रा थालेका थिए।

राकेशलाई 'शेयर मार्केट किङ' र भारतको 'वारेन बफेट' पनि भनिन्छ। यस्तै दलाल स्ट्रिट (भारतको स्टक एक्सचेञ्ज) को 'बिग बुल' समेत भनिन्छ उनलाई।

सन् १९९२ को हर्षद मेहता घोटालाको खुलासा भएपछि उनले शर्ट सेलिङमार्फत अत्यधिक नाफा कमाएका थिए। उनी सन् १९८५ मा शेयर बजारमा प्रवेश गरेका थिए।

उनी भारतका ३६औं धनाढ्य थिए।

साउन २९, २०७९ आइतबार १०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।