नग्न तस्बिर खिचाएका रणवीरलाई सोधपुछका लागि बोलायो प्रहरीले, कसूर प्रमाणित भए पाँच वर्ष कैद
एजेन्सीः नग्न तस्बिर खिचाएका रणवीर सिंह समस्यामा पर्दै गएका छन्। पहिले नै एक एनजीओले रणवीरविरुद्ध एफआईआर दायर गरेकोमा अब प्रहरीले पनि उनलाई सोधपुछका लागि बोलाएको छ।
यही २२ अगस्टमा मुम्बई प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो। प्रहरीका केही अधिकारी उनको घरमै नोटिस दिन गएका थिए। तर उनी घरमा भेटिएका थिएनन्।
गत २२ जुलाईमा पेपर म्यागजिनका लागि उनले केही नग्न तस्बिर खिचाएका थिए।
रणवीरविरुद्ध एफआईआर दायर गर्ने एनजीओका अनुसार उनले नग्न तस्बिर खिचाएर महिलाहरूको भावनामा ठेस पर्याएका छन्। उनले महिलाहरूको अपमान गरेका छन्।
उनीहरूले सामाजिक सञ्जालबाट सो तस्बिर हटाउन पनि माग गरेका छन्। साथसाथै रणवीरलाई पक्राउ गर्नुपर्ने माग समेत रहेको छ।
उनीविरुद्ध आईपीसीको धारा ५०९, २९२ र २९३ को आईटी एक्ट सेक्सन ६७ए बमोजिक केस दर्ता भएको छ। यो धाराबमोजिमको कसूर प्रमाणित भएमा रणवीरलाई पाँच वर्षसम्म कैद सजाय हुनसक्छ।
यता रणवीरले भने नग्न हुनु आफ्नो लागि सहज काम भएको बताएका छन्। उनले भनेका छन्, 'म हजारौँ मान्छेका अघि सबै कपडा उतार्न सक्छु। मलाई केही फरक पर्दैन। तर त्यहाँ भएका मान्छेलाई थोरै असहज हुन्छ।'
भारतभर रणवीरको नग्न तस्बिरको आलोचना भइरहँदा उनकी श्रीमती दीपिका पादुकोणले भने साथ र तारिफ दिएकी छिन्। यस्तै निर्देशक रामगोपाल वर्मा, अर्जुन कपूर, आलिया भट्ट, मसाबा गुप्ता लगायतले पनि उनलाई साथ दिएका छन्।
साउन २८, २०७९ शनिबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।