हिजोका कुरामा शिक्षाविद् कोइराला : काठमाडौंमा सुरु नहुँदै सुदूरपश्चिममा चलेको त्यो 'रेड मुभमेन्ट'
वि.सं. २००९ भदौमा सिन्धुलीको सुदूर गाउँ दुम्जामा जन्मिएका प्रा.डा. विद्यानाथ कोइराला प्रेमकुमारी र साध्यप्रसादका आठ सन्तानमध्ये जेठा हुन्।
गाउँमै टुकीको उज्यालोमा अक्षर चिनेर २०१४ सालमा काठमाडौं प्रवेश गरेका कोइरालाले २०२५ सालमा एसएससी उत्तीर्ण गरे।
एसएलसीपछि विज्ञान विषय पढ्ने चाहना हुँदाहुँदै आर्थिक अभावका कारण उनले प्रवीणता तहमा शिक्षा विषय लिएर पढे। शिक्षा विषय पढ्नुको अर्को कारण थियो, शिक्षा संकाय अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले दिने ७० रुपैयाँ भत्ता।
२०२९ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका कोइरालाले झन्डै तीन वर्ष सोही क्याम्पसमा अध्यापन गरे।
२०३५ सालमा उनले एजुकेसन प्लानिङ एण्ड म्यानेजमेन्टमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तीर्ण गरे। २०४९ सालमा क्यानडाबाट 'स्कुलिङ एण्ड दलित अफ नेपाल' विषयमा विद्यावारिधि गरेर नेपाल फर्किए उनी।
महेन्द्र विद्या भुषण पुरस्कारबाट सम्मानित कोइरालाले त्रिविले प्रदान गर्ने शिक्षा पुरस्कार पनि पाएका छन्।
शिक्षाविद् एवं शिक्षा अभियन्ताको रुपमा परिचित कोइराला पछिल्लो समय चाबहिलस्थित आफ्नै निवासमा सेवानिवृत्त जीवन बिताइरहेका छन्।
बुटवल बहुमुखी क्याम्पस, ठाकुरराम क्याम्पस वीरगन्ज र त्रिभुवन विश्वविद्यालय ताहाचलमा लामोसमय अध्यापन गराएका कोइराला त्रिविले शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) स्थापना गरेपछि सो संस्थामा अनुसन्धानकर्ताको रुपमा जोडिए।
वि.सं. २०३९ देखि २०५२ सम्म सिरेडको अनुसन्धानकर्ताको भूमिका निभाएका कोइराला अनुसन्धानका क्रममा हुम्ला र मुगुबाहेक नेपालका सबै जिल्ला पुगेका छन्। उनीसँग ती जिल्लामा रहँदाका रोचक अनुभव छन्।
ती जिल्लाबाट उनले शैक्षिक क्षेत्रका अलावा सांस्कृतिक तथा सामाजिक शिक्षा समेत बटुलेका छन्। नयाँनयाँ विषयको खोज तथा अनुसन्धान गर्न रुचाउने कोइरालाले आफू पुगेका जिल्लाबाट विभिन्न मौलिक ज्ञानको अनुभव सँगालेका छन्।
विश्वविद्यालयका प्राध्यापक समेत रहेका कोइरालालाई किताबी ज्ञानभन्दा मौलिक ज्ञान र सिकाइ महत्वपूर्ण लाग्छ।
सेरिडमा छँदाका मिठा अनुभव
सेरिडमा छँदा शिक्षा तथा अन्य विषयको अनुसन्धानका सिलसिलामा कोइराला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै जिल्ला घुमे।
अनुसन्धानकर्ताको रुपमा सुदूरपश्चिम पुग्दा त्यहाँका बासिन्दासँग जोडिएका मिठा अनुभवहरु उनी अहिले पनि बिर्सँदैनन्। 'नेपालका जुनसुकै ठाउँ गए पनि त्यहाँको भाषा, संस्कृति, चालचलन मिल्दैनथ्यो। त्यो चिज नमिल्दा मलाई नराम्रो होइन, झन् राम्रो लाग्थ्यो। किनकी, मैले सिक्न पाउँथे। कैयौं मिठा क्षण बन्थे। त्यसैले मलाई सुदूरपश्चिमको बढी याद आउँछ।’
सिरेडमा जागिरे छँदा सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, डडेल्धुरा, कैलाली र कञ्चनपुर पुगेका कोइरालाले त्यहाँको शिक्षा प्रणाली बाहेक स्थानीय भाषा, संस्कृति, रीति-रिवाज, त्यहाँको सामाजिक एवं सांस्कृतिक मनोविज्ञान बुझेका छन्।
सुदूरपश्चिमका महिलाहरु बोल्दैनन्
आजभन्दा झन्डै ३५ वर्षअघिको कुरा हो। कोइरालाले पश्चिम सेती जलविद्युत् आयोजनाको अध्ययन टोलीमा सहभागी हुने मौका पाएका थिए। त्यो नै उनको पहिलो बझाङ यात्रा थियो। पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययनको केही जिम्मा उनलाई पनि सुम्पिइएको थियो। अध्ययनकै लागि उनीसँगै एक जना क्यानडेली नागरिक पनि थिए। सो आयोजनाको अध्ययनको क्रममा डोटी र बझाङको देउरा र थलारा क्षेत्रको वातावरणीय अध्ययन गर्नुपर्ने जिम्मा उनको थियो।
बझाङको सदरमुकामसम्म सडक पुगिसकेको थिएन। उनीहरुले बाटोमा बस्न टेन्ट पनि आफूसँगै बोकेका थिए। कहीँ बास बस्नुपरे टेन्ट गाडेर बस्थे। कोइरालाको टोली बैतडीको सिमाना नजिकैदेखि हिँडेर आफ्नो गन्तव्यसम्म पुगेका थिए। उनीहरुको गन्तव्य थियो, बझाङको देउरा र थलारा।
अध्ययनकै क्रममा उनीहरु एक दिन देउरा बजारमा रोकिए। उनीहरुलाई भनिएको थियो, ‘पश्चिम नेपालका महिलाहरु बोल्दैनन्।' कोइरालाले त्यो भनाइमा विश्वास नगरे पनि उनीसँगै गएका क्यानडेली नागरिकलाई भने पश्चिमका महिला साँच्चै बोल्दैनन् भन्ने लागेको थियो। सोही कारण उनी बाटोमा भेटिएका कुनै पनि महिलासँग बोल्ने आँट गर्दैनथे। तर कोइरालाले भने एक पल्ट बोल्ने प्रयास गरे।
‘देउरामा एक जना पोर्सो (मल) बोकिरहेकी महिला देखेपछि ती क्यानडेलीले मसँग भने- यहाँका महिलाहरु त बोल्दैनन् रे। मैले भनें- आर यु सिरियस?,’ उनी सम्झन्छन्, ‘अनि मैले तिनै पोर्सो बोकिरहेकी महिलालाई, पोर्सो गह्रौं छ? पुरुषहरुले बोक्दैनन्? भनेर सोधें। ती महिलाले आफ्नै भाषामा भनिन्- लोग्ने मान्छेले बोक्दैनन्। उनीहरुलाई मल बोकायो भने पाप लाग्छ।'
यसरी मैले कोइरालाले त्यहाँका महिलासँग बोल्न सुरु गरेका रहेछन्। उनी बोलेको देखेर ती क्यानडेलीले त कसरी बोल्न सक्या होला भनेर ट्वाँ परेर हेरेको हेर्यै गरेछन्।
कोइरालाले सुनाए, 'उहिले सुदूरपश्चिमका महिला बिरानो लोग्ने मान्छेसँग बोल्दैनन् भन्ने खालको भाष्य नै बनाइएको हुँदोरहेछ। कतिपय अवस्थामा त्यहाँका महिला लोग्नेको दबाबमा पनि नबोल्ने रहेछन्।' अहिले भने त्यस्तोखाले दृष्टिकोण हटेको कोइरालाले पाएका छन्।
‘नोटमा स्थानीय भाषा लेखेर सिकाइमाग्थे’
अध्ययनकै सिलसिलामा कोइराला बैतडी पुगेका थिए। त्यहाँ उनका एक जना साथी थिए, महेन्द्र चन्द। साथी बैतडीकै भए पनि कोइराला भने सुरुसुरुमा बैतडीको भाषा बुझ्दैनथे। एक दिन उनले साथी महेन्द्रलाई भने, ‘ओए महेन्द्र, यो त कुरै बुझिँदैन। के गर्ने?’ महेन्द्रले उनलाई भाषा सिकाइदिने बताए।
‘तिम्रो काम मलाई सिकाउने हो। मैले तिमीले सिकाएअनुसार अनुसन्धान गर्ने हो’ भन्दै कोइरालाले फिल्डमा जाँदा महेन्द्रलाई नै साथी बनाए। त्यसपछि महेन्द्रले कागजमा बैतडीको भाषा लेखिदिन्थे। कोइरालाले तिनै शब्द हेर्दै सिक्थे र स्थानीयसँग सम्वाद गर्थे।
‘यसरी सिकेका दुई/चार शब्द भए पनि त्यहाँका स्थानीयसँग बोल्थें। उनीहरुको भाषा बोलेपछि नजिकिन्थे। अपनत्व बढ्थ्यो। त्यसरी अध्ययन गर्थें,’ कोइराला विगत सम्झन्छन्।'
उनी पोहोरको बताउँछन्, 'म दार्चुला पुग्दा त्यहाँका मानिसले चामल पकाएर खुवाउने बताए। मैले भनें- दार्चुला आएर पनि चामल खाने हो? यहाँका मान्छेले जे खान्छन् त्यही खाने हो। त्यहाँ गहु, मकै, कोदो र फापरको रोटा (रोटी) खाँदा रहेछन्। मैले पनि उनीहरुले खान्छन् त्यही खाएँ। यसरी उनीहरुसँग घुलमिल हुन पाउँदा बेग्लै आनन्द आउँदो रहेछ।’
जुठा भाँडा महिलाले नमाझ्ने सुदूरको चलन
अध्ययनकै सिलसिलामा विद्यानाथ कोइराला एक पटक सुदूरपश्चिका पहाडी जिल्ला अछाम, बाजुरा, डोटी र बझाङ पुगेका थिए। साल ठ्याक्कै याद नभए पनि उनलाई त्यहाँको केही रमाइलो क्षण भने अझै पनि याद छ।
अछाम, डोटी, बाजुरा र बझाङको एउटा चलन देखेर उनी चकित परेका थिए। त्यो के भने, ती जिल्लामा अपरिचित लोग्ने मान्छेले खाएको जुठा भाडा घरको महिलाले नमाझ्ने चलन।
सेरिडमा हुँदा पनि उनी डोटी पुगेका थिए। त्यहाँ एक जना त्यहीँका साथीको घरमा बास बसेका थिए। बास बस्ने क्रममा खाना खाइसकेपछि साथीले झैं उनले पनि आफूले खाएको भाडा त्यहीँ छोडेका थिए। तर आफूले खाएको भाँडा आफैं माझ्नुपर्छ भन्ने उनले चाल पाएका थिएनन्। किनकी, पूर्वतिर जुठा भाँडा जसले माझे पनि खासै फरक पर्दैनथ्यो। जसले भेट्यो उसैले माझ्थे। त्यही सोचेर उनले पनि आफूले खाएका भाडा छोडेका थिए।
त्यो चलन नै उनका लागि एउटा सिकाइ बन्यो। महिलाप्रति गरिने सम्मानको सिकाइ। जहाँबाट उनले अपरिचित पुरुषले खाएको जुठा भाँडा नमाझ्ने चलन पहिलो पटक थाहा पाएका थिए। डोटीमा सिकेको त्यो ज्ञान आफूले पहिलो पटक अछाममा गएर प्रयोग गरेको उनी सुनाउँछन्।
‘ज्ञानी भयो भने आफैंले माझ्नुपर्छ, अज्ञानी भयो भने अरुले माझिदिन्छन् भन्ने किसिमको संस्कृति मैले डोटीमा गएर सिकें र अछाममा गएर प्रयोग गरें,’ कोइराला सुनाउँछन्, ‘त्यहाँ त बुहारीहरुले समेत अपरिचितले खाएका जुठा भाँडा नमाझ्ने रहेछन्। सुदूरपश्चिममा महिलालाई दिने सम्मान गजबको लाग्यो।’
बझाङमा पैसासँग साटिने महिलाको तागत
२०४८ सालतिरको कुरा हो। कोइराला दोस्रो पटक सेरिडमार्फत बझाङ पुगेका थिए। त्यहाँ लोग्ने मान्छेले महिलालाई दिएको दु:ख देखेर भने उनको मन पोलेको थियो।
बझाङको थलारा नपुग्दै झोता बजारमा एक जना लोग्ने मान्छेले भैंसी लिएर हिँडिरहेका थिए। उनीसँगै पछाडि झुत्रे लुगा लगाएकी महिला हिँडिरहेकी थिइन्। उनको पिठ्युमा पोर्सो (मल)को भारी थियो। रित्तै हिँडिरहेका उनका लोग्नेले आफ्नी स्वास्नीलाई हकार्दै छिटो हिँड्न भनिरहेका थिए।
कोइरालाको ध्यान त्यो दृश्यले तान्यो। रिस पनि उठ्यो। अनि नजिकै गएर भने, ‘के भनेको त्यो? उनको ज्यान होइन?’ ती लोग्ने मानिसले जवाफ फर्काए, ‘मैले पैसा तिरेर ल्याको।’
कोइराला नाजवाफ बने। महिला भने आफ्नै पाइलामा निरन्तर हिँडिरहिन्। त्यसबारे तत्काल ती महिलालाई थप सोध्न पनि सकेनन्। तर पुरुष अलिक अगाडि पुगिसकेपछि कोइरालाले ‘बैनी के यो कुरो सत्य हो?’ भनेर सोध्दा उनले 'पहिल्यै बाआमालाई पैसो दिलाएर यहाँ आएकी हुँ' भनेर जवाफ दिइन्।
कोइरालाले ती महिलासँग थप बुझ्ने कोशिस गरे, ‘के भनेको बैनी?’ उनले भनिन्, ‘हाम्रा बा-आमाले पैसा खाइबन ल्यायाका हुन्। काम गर्न सक्दैन भन्न मिल्लैन। जसोतसो काम गर्नै पण्यो।’
‘त्यसरी बा-आमालाई पैसा दिलाउँदा एकातिर उनी गर्व महसुस गरिरहेकी थिइन्। अर्कोतिर, लोग्नेले त्यति पैसा तिरेर ल्याएको कारण आफूले उसको घरमा जतिसक्दो धेरै काम गर्नुपर्छ भन्ने थियो,' कोइराला सुनाउँछन्, ‘तर महिलाले दुइटै तागत बोकेर काम गरिरहेकी थिइन्। एकातिर बुबा-आमालाई सहयोग भयो, अर्कातिर पैसाको मूल्य चुकाउन पोइली घरमा दु:ख पनि गरेकी छन्। त्यो नै त्यहाँका महिलाको तागत बन्दो रहेछ।’
अहिले त्यहाँको अवस्था के-कस्तो छ कोइरालालाई थाहा छैन। तर त्यतिबेला उनले बझाङका अधिकांश भेगमा त्यस्ता घटना धेरै फेला पारेका थिए। यसबारे थप अनुसन्धान भने उनले गरेनन्।
काठमाडौंमा सुरु नहुँदैदेखि चलेको सुदूरपश्चिमको रेड मुभमेन्ट
उसो त विद्यानाथ कोइरालाले सुदूरपश्चिमका विभिन्न गाउँ-ठाउँबाट थुप्रै चालचलन, भाषा, संस्कृति सिकिसकेका थिए। तर कहिलेकाहीँ संस्कृतिको चालभाका नबुझ्दा उल्टोपाल्टो पर्न जान्छ। जुन उनले अनुसन्धानको क्रममा सिकेको पाठ थियो।
निकै जिज्ञासु स्वभाव अनि जो-कोहीसँग स्थानीय लवजमै गफगाफ गर्नु उनको स्वभावै थियो। त्यही स्वभावका कारण कुनै पनि उमेर समूह, महिला पुरुष, जाती, वर्ग सबैसँग उनको सम्बन्ध प्रगाढ बन्थ्यो। तैपनि, कोइरालालाई त्यहाँका महिलासँग धेरै बोल्न भने डर लाग्थ्यो। त्यसको कारण थियो, एक पटक डोटीमा भएको एउटा घटना।
सेरिडमै हुँदा अनुसन्धानको सिलसिलामा डोटीको एक गाउँ पुगेका थिए उनी। बाटो हिँड्दै गर्दा घाँस-दाउरा गरिरहेकी एक महिलासँग भेट भएको थियो। भर्खरकी ती महिला रातो सारी, रातो चुरा-पोतेमा थपक्क बलेकी थिइन्। कोइरालाले महिलासँग सामान्य भलाकुसारी गरे।
‘मैले तपाईंको श्रीमानजी कता? भनेर सोधें। उनले निन्याउरो मुहारमा मेरो ‘श्रीमान् त बम्बैयाले लैग्यो’ भनिन्। उनले भनेपछि बल्ल झस्किएँ। एकछिन सोचमग्न पनि भएँ,’ कोइरालाले सम्झिए।
लोग्ने बितेपछि रातो लुगा लगाउने चलन-चल्ती सुदूरपश्चिममा पनि नहोला भन्ने उनको बुझाइ थियो। तर उनको त्यो बुझाइ डोटीको एउटा गाउँमा पुगेपछि गलत सावित भयो।
ऊबेला पनि सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश पुरुष मजदूरीका लागि भारत जान्थे। तर अधिकांश एचआइभी संक्रमित भएर फर्किएका हुन्थे। गाउँमा उनीहरुप्रति गरिने व्यवहार फरक हुन्थ्यो। एचआइभी एड्सलाई बम्बैया रोगले चिन्ने गरिन्थ्यो।
‘लोग्ने बितेकाहरुले सेतो लुगा मात्र लगाउँछन्, रातो लुगा लगाउने चलन-चल्ती छैन भन्ने भ्रममा थिएँ,’ कोइराला सुनाउँछन्, ‘तर बुझाइ उल्टो निस्कियो। त्यसपछि मैले कुनै पनि महिलाको श्रीमानबारे सोध्ने आँट गरिनँ। ‘लोग्नेले दिएको सिन्दुर पुछियो, चुरापोते र लुगा आफ्नै रङ हो’ भनेर लगाएकी रहिछिन्।’
डोटीमा मात्र नभई त्यस्तो चलन त्यतिबेला सुदूरपश्चिमका अन्य जिल्लामा पनि रहेको उनले थाहा पाए। तैपनि, उनी त्यहाँको चलन देखेर चकित परेका थिए। किनकी, त्यो बेलाको समय कठिन थियो। महिलाले हरेक संस्कार मान्नै पर्ने बाध्यता थियो। धर्म-संस्कारको मामिलामा अहिलेजस्तो स्वतन्त्रता थिएन।
‘लोग्ने बितेकाहरुले सेतो लुगा मात्र लगाउँछन्, रातो लुगा लगाउने चलन-चल्ती छैन भन्ने भ्रममा थिएँ,’ कोइराला सुनाउँछन्, ‘तर बुझाइ उल्टो निस्कियो। त्यसपछि मैले कुनै पनि महिलाको श्रीमानबारे सोध्ने आँट गरिनँ। ‘लोग्नेले दिएको सिन्दुर पुछियो, चुरापोते र लुगा आफ्नै रङ हो’ भनेर लगाएकी रहिछिन्।’
‘त्यो वास्तवमा मेरो लागि नयाँ अनुभूति थियो। नेपालमा त्यतिखेर लिली थापाहरुको रेड मुभमेन्ट पनि चलेकै थिएन,’ उनी भन्छन्, ‘त्यहाँबाट फर्केपछि मैले लिलीलाई भनें- तपाईंलाई रेड मुभमेन्टको प्रवर्द्धक भन्छन्। तर यो चलन त सुदूरपश्चिमको डोटी, बझाङ, अछामतिर पहिल्यैदेखि छ।
'अनि मलाई लाग्यो, जुन कुराकानी पूर्वमा छ, पश्चिममा छैन भनेर हामी भ्रममा छौं। यस्ता कुराहरु पश्चिममा पहिलेदेखि नै जीवित छ। रेड मुभमेन्टको लागि कत्ति न ठूलो काम गरें भन्नेहरुका लागि सुदूरपश्चिमको त्यो चलन पहिल्यै थियो,’ कोइरालाले भने।
जातीय छुवाछुतमा कडा विभेद
माओवादी द्वन्द्व सुरु हुनुपूर्वको समय थियो। कोइराला अनुसन्धानकै क्रममा अछाम पुगेका थिए। अछाममा उनका साथी जगतबहादुर बोगटी जो माओवादी युद्धबिरामपछि एक पटक भूमि सुधार तथा व्यवस्थापन मन्त्री पनि बनेका थिए। सो समयमा उनी तिनै जगतबहादुरको घरमा बस्थे।
जगतबहादुरकी आमा अछामी भाषामै गफ गर्थिन्। कोइरालामा पनि जानी-नजानी गफिन्थे।
त्यहाँ उनले यस्तो किसिमको दृश्य देखे जुन त्यसअघि देखेका थिएनन्। एक दिन उनी घर-आँगनको छेउबाट गोठतर्फ जाँदै थिए। गोठमा गाईगोरु बाँधिएका थिए। त्यसमाथि दलितहरु बस्ने गर्थे।
सोही समयमा साथीका बुबाले उनलाई ‘त्यहाँ ढोली बसेका छन्, जानु हुँदैन’ भन्दै नजान आग्रह गरे। ढोली भनेको केहो त्यतिन्जेल कोइरालालाई थाहा थिएन। पछि पत्तो पाए- दलितलाई ढोली भन्दारहेछन्। अग्लो ठाउँमा उनीहरु बसेका छन्। त्यसको मुन्तिर अरुहरुले जान नहुने चलन रहेछ।
त्यो समयमा जातीय भेदभाव भए पनि त्यतिसाह्रो गरेको कोइरालाले आफ्नो गाउँघरतिर देखेका थिएनन्। न त उनले पूर्वतिरका अन्य जिल्लामा नै त्यस्तो किसिमको विभेद फेला पारेका थिए।
‘मैले त्यत्रो सिप भएका ती मानिसप्रति त्यस्तो कडा विभेद अनुमान पनि गरेको थिइनँ। किनकी, मेरो साथीको परिवार अलिक शिक्षित नै थियो,’ उनी सुनाउँछन्, ‘यत्तिसम्म कि दलितको आसपास जान नहुने, उनीहरुलाई छुनै नहुने, उनीहरु हिँडेको बाटो हिँड्न नहुने, उनीहरुलाई माथि बस्न पनि नदिने। यस्तो विभेद मैले सुदूरपश्चिममै देखें।'
सोचेको एउटा, भैदियो अर्कै
२०५० साल। त्यतिबेलासम्म माओवादी द्वन्द्व सुरु हुने तरखरमा थियो। कोइराला अनुसन्धानको क्रममा बझाङमै थिए।
उनी एक दिन ठकुरी समुदायको विवाह कार्यक्रममा सहभागी भएका थिए। त्यो कार्यक्रमबाट उनले ठकुरीमा पनि पैसा दिएर दुलही किन्ने चलन हुँदोरहेछ भन्ने थाहा पाए।
‘पश्चिमका ठकुरीमा पैसा दिएर दुलही किन्ने चलन हुँदोरहेछ। ठकुरी ठूलो जातमा गनिने भएकोले उनीहरुले सिधै पैसा दिएर किन्छौं चाहिँ नभन्ने रहेछन्। त्यसलाई दाइजो या दक्षिणाको रुपमा हेरिने रहेछ,’ उनी भन्छन्, ‘तर मैले पछि बुझें, सानो जातको भयो भने त्यसलाई किनबेच भन्दारहेछन्। ठूलाको भयो भने दक्षिणा या दाइजो हुँदोरहेछ। मैले त्यो किसिमको ज्ञान पाएँ। चिन्तन भन्ने चिज यसरी बन्दोरहेछ भन्ने अनुभूत भयो।’
‘पश्चिमका ठकुरीमा पैसा दिएर दुलही किन्ने चलन हुँदोरहेछ। ठकुरी ठूलो जातमा गनिने भएकोले उनीहरुले सिधै पैसा दिएर किन्छौं चाहिँ नभन्ने रहेछन्। त्यसलाई दाइजो या दक्षिणाको रुपमा हेरिने रहेछ। तर मैले पछि बुझें, सानो जातको भयो भने त्यसलाई किनबेच भन्दारहेछन्। ठूलाको भयो भने दक्षिणा या दाइजो हुँदोरहेछ।
मुलत: शिक्षा क्षेत्रको अनुसन्धान गर्न गएका कोइराला फुर्सदको समयमा स्थानीय चालचलन, रीति-रिवाज, भाषा, संस्कृति सिक्नु र त्यहाँको मौलिकतासँग रमाउनु, स्थानियहरुसँग गफगाफ गर्नु उनको दिनचर्याजस्तै बनिसकेको थियो।
अर्को एउटा घटना। एक पटक कोइरालाले बझाङकै एउटा मन्दिर जाने योजना बनाएका थिए। उनलाई कुनै एक व्यक्तिले ‘मैसाप आइसिन्छ?’ भनेका थिए।
‘यति सुनेपछि मेरो मानसपटलमा काठमाडौंतिरको राणा, ठकुरीहरुको जस्तो उस्तै लवाइखवाइ, उस्तै लत्ताकपडा भएकी कुनै गजबकी चिटिक्क मैसाप होलिन् भन्ने लाग्यो,’ त्यो दृश्य सम्झिँदै उनी सुनाउँछन्, ‘तर मैसाप त डोको बोकेर, हातमा चप्पल लिएर लुरुलुरु आइरहेकी थिइन्। पछि बुझ्दा थाहा भयो, ती मैसाप भारी बोक्न आएकी रहिछिन्। भारी बोकाउन पनि उनीहरुले आफ्नो समूह भित्रकालाई मैसाप, राजासाप भनेर सम्बोधन गर्दा रहेछन्। भारी बोकिदिएवापत शुल्क पनि लिँदारहेछन्। त्यतिबेला उनीहरु गाउँ पञ्चायतको वडासदस्य त्यस्तै के थिए। संस्कृतिको बसियत त्यसरी बसेको हुँदो रहेछ भन्ने महसुस गरें।’
यसरी थुप्रै किसिमका अनुभव, सिकाइ, रैथाने ज्ञान, शिक्षा आदि सिकेका छन् कोइरालाले। ‘यसरी सुदूरपश्चिमबाट मिश्रित, नयाँ किसिमको शिक्षा सिकेर आएँ। रमाइलो अनुभूति बोकेर आएँ। अझै पनि कहिलेकाहीँ सुदूरपश्चिम पुग्ने गर्छु। अचेल पहिलेभन्दा फरक लाग्छ सुदुरपश्चिम,’ कोइराला भन्छन्।
साउन २६, २०७९ बिहीबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।