सम्पत्तिका लागि आमा कुट्ने छोरा र प्रपञ्च रच्ने बुहारी असफल, अदालतले दियो ९० वर्षीया वृद्धालाई न्याय

सम्पत्तिका लागि आमा कुट्ने छोरा र प्रपञ्च रच्ने बुहारी असफल, अदालतले दियो ९० वर्षीया वृद्धालाई न्याय
साङ्केतिक तस्बिर

एजेन्सीः ९० वर्षीया एक वृद्धाले छोरा-बुहारीविरुद्धको अदालतको लडाइँ जितेकी छिन्। मुम्बईकी ती वृद्धाले झण्डै २२ वर्षपछि आफ्ना ६० वर्षीय छोरा-बुहारीविरुद्ध अदालतमा चलिरहेको मुद्दा जितेकी हुन्।

उनले छोरा-बुहारीविरुद्ध घरेलु हिंसा र सम्पत्ति फिर्ता पाउनुपर्ने सम्बन्धमा मुद्दा लडिरहेकी थिइन्। ती वृद्धा भारतकै सबैभन्दा महँगो मानिने दक्षिण मुम्बईको टार्डेओ क्षेत्रमा रहेको आफ्नो घरमा छोरा-बुहारीहरूसँग बसोबास गर्दै आएकी थिइन्।

एकदिन छोराले मदिरा सेवन गरी उनीमाथि कुटपिट गरेका थिए। बुहारीको दबाबमा उनी बसोबास गर्दै आएको घरको ५० प्रतिशत अंशबण्डा गरिदिन धम्की दिएका थिए।

त्यसपश्चात ती वृद्धाले आफ्ना छोरा-बुहारीले घरको अंश मागगरी छोड्न धम्की दिएको र आफूलाई जबरजस्ती छोरी ज्वाइँको घरमा बस्न बाध्य गराएको भन्दै सन् २०११ मा अदालतमा मुद्दा दर्ता गराएकी थिइन्। अदालतले उनको मुद्दा घरेलु हिंसाअन्तर्गत दर्ता गराएको थियो।

वृद्धाले अदालतसमक्ष दिएको बयानअनुसार उनका श्रीमान् सन् २००० मै बितिसकेका थिए। उनले मृत्यु हुनुअघि ५० प्रतिशत अंश श्रीमतीको नाममा गराएका थिए भने ५० प्रतिशत छोराबुहारीको नाममा दर्ता गराएका थिए।

श्रीमानको मृत्युपछि आफ्नो नाममा दर्ता गरिएको घरको ५० प्रतिशत अंश छोरा-बुहारीले माग गर्दै आएको र आफूमाथि पटकपटक  यातना दिँदै आएको उनले बयान दिएकी थिइन्।

सन् २०१० मा आफ्ना जड्याहा छोराले सो सम्पत्ति आफ्नो नाममा नामसारी गर्न निर्घात कुटपिट गरेको उनले बताएकी थिइन्। डरले त्यसयता उनी घर छोडेर छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्।

अदालतले सन् २०२१ मा पहिलो पटक ती वृद्धालाई सफाई दिएको थियो भने केही दिनअघि मात्र ती वृद्धाले सो मुद्दा जितेको घोषणा गरेको थियो। सो मुद्दा जितेसँगै ती वृद्धाले टार्डेओमा भएको घर फिर्ता पाएकी छन्।

‘त्यो घरसँग ९० वर्षीया वृद्धाको भावना जोडिएको र सो घरसम्पत्ति कानूनी रूपमा उनको नाममा भएकोले अदालतले तत्काल छोरा-बुहारीले आफ्नो दावी गर्दै आएको घर सम्पत्ति खाली गराउन आदेश दिएको छ’ अदालतद्वारा जारी निर्णयमा भनिएको छ।

साउन २६, २०७९ बिहीबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।