उद्योग सञ्चालन नै नगरी सुर्खेत औद्योगिक क्षेत्रका जग्गा ८ वर्षदेखि कब्जा

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रभित्रको जग्गा उद्योग नै सञ्चालन नगरी लामो समयसम्म कब्जा गरेको पाइएको छ।
उद्योगका नाममा जग्गा लिने र उद्योग नै सञ्चालन नगरी जग्गा कब्जा गरेर राखेपछि अहिले यसको चौतर्फी विरोध भएको छ।
एसके प्रिन्ट सोलुसनले २० वर्षका लागि २ रोपनी र देउती हर्बल उद्योगले १ रोपनी ४० वर्षका लागि जग्गा भाडा लिएका छन्। तर ८ वर्षदेखि केही संरचना बाहेक उद्योग सञ्चालन भने भएका छैनन्।
२६ जना साझेदार रहेको देउती हर्बलले जिआइजेटको अनुदानमा भवन बनाए पनि साबुन उद्योगका लागि मेसिन ल्याएको छैन।
औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली अनुसार २०७१ वैशाख १७ अगाडि २० वर्ष र त्यसपछि ५० वर्षसम्म जग्गा भाडामा दिन सकिने व्यवस्था गरिएको छ।
उक्त नियमावली अनुसार जग्गा भाडामा लिएको दुई वर्षभित्र उद्योग सञ्चालन गर्नुपर्ने हुन्छ। सम्झौता भएको दुई वर्षभित्र उद्योग सञ्चालन नभए जग्गा खाली गर्नुपर्ने भए पनि आठ वर्षदेखि दुई उद्योगले तीन रोपनी जग्गा रोकेर बसेपछि अन्य उद्योगीलाई समेत समस्या भएको स्थानीय व्यवसायी पदमबहादुर शाहीले बताए।
‘यो कर्णाली प्रदेशको राजधानी हो। बाहिर र जिल्ला भित्रका कैयौं व्यवसायीले उद्योग सञ्चालन गर्ने भनेर सोचे पनि जग्गाकै अभावमा स्थापना गर्न सकिएको छैन,’ उनले भने, ‘भएका जग्गा पनि उद्योग सञ्चालन नगरेरै वर्षौंदेखि कब्जामा छन्।’
लामो समयदेखि उद्योग सञ्चालन नगरी जग्गा मात्रै रोकेर बस्ने उद्योगहरूलाई कारबाही गरिने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख जीवनारायण बञ्जाडेले बताए।
उनका अनुसार पहिलो चरणमा उद्योग सञ्चालकहरूलाई उद्योग सञ्चालन गर्नका लागि छलफल हुने र अझै उद्योग नचलाए ७ दिने र ३५ दिने सूचना निकाल्ने कानुनी व्यवस्था अनुसार कारबाही गरिने छ।
‘बक्यौता असुल गर्नेदेखि सहमतिमा नयाँ उद्योगलाई हस्तान्तरण गर्ने वा सम्झौता नै खारेज गरी लिलामी प्रक्रियाका लागि आवश्यक प्रक्रिया पुर्याएर मूल्यांकन समितिले खारेज गर्ने वा खारेजको लागि माथिल्लो निकायमा स्वीकृतिका लागि सिफारिस गर्ने कानुनी व्यवस्था छ,’ प्रमुख बन्जाडेले भने, ‘अब सूचना गर्छौं। सोही अनुसार सम्पर्क नगरे कानुनी प्रक्रिया अगाडि बढाउने छौं।’
सुर्खेत औद्योगिक क्षेत्रमा जम्मा २७ वटा उद्योग छन्। तीमध्ये २२ वटा मात्रै सञ्चालनमा आएका छन् भने तीन वटा निर्माणाधीन अवस्थामा छन्। जसबाट तीन सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
९० रोपनी क्षेत्रफलमा फैलिएको यो औद्योगिक क्षेत्र कर्णाली प्रदेशको एक मात्र हो। २० करोडसम्मका उद्योगहरु भए पनि ती भन्दा ठूला उद्योग भने सञ्चालनमा आएका छैनन्।
साउन २४, २०७९ मंगलबार १८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।