टिजरमै यति लाउड देखिएका सौगातको अभिनय फिल्ममा कस्तो होला !
काठमाडौँ : फिल्म निर्देशक दीपेन्द्र लामाको सामाजिक सञ्जाल हेर्ने हो भने अहिले फिल्म ‘२ नम्बरी’को प्रसारण अधिकार कुन-कुन देशमा विक्री भयो भन्ने सूचनाले भरिएको छ। आपराधिक पृष्ठभुमीहुँदै प्रदेश मन्त्री बन्न सफल भएका दीपक मनाङेको लगानी समेत रहेको फिल्मको प्रमोसनमा सबैभन्दा बढी सक्रिय निर्देशक लामै छन्। पूर्व कला पत्रकार भएकाले पनि उनमा अन्य निर्देशकभन्दा हल्का बढी प्रमोसन आइडिया हुने नै भयो।
त्यसैले त उनले दर्शकको माग भन्दै फिल्मको टिजर सार्वजनिक मिति मात्रै हैन दैनिक काउन्टडाउन नै राखे सञ्जालमा। मङ्गलवार काउन्टडाउन सकियो। टिचर सार्वजनिक भयो। तर फिस्स।
दयाहाङ राई अनि सौगात मल्लसँगै बुद्धि तामाङलाई नै बढी नै हाइलाइट गरिएको टिजरले फिल्म वन्यजन्तु सिकारी, २ साथीको सम्बन्धसँगै लभ स्टोरीको मिक्स भएको सङ्केत दिन्छ। त्यो नहुन पनि सक्छ। फिल्मको नामैले यो अपराधसँग जोडिएको कथा भएको प्रस्टै छ। निर्माता मनाङे भएपछि अपराध त कहाँ छुट्ला र!
थिएटर हुँदै ठुलो पर्दामा जमेका सौगातको अभिनय क्षमतामा प्रश्न उठाउने कमै छन्। उनी प्रतिभा भएका कलाकार हुन्। उनलाई डुबाउने भनेको उही लाउड क्यारेक्टरले नै हो। टिजरमै देखियो उनको यो समस्या २ नम्बरीमा पनि उस्तै गरी दोहोरिएको छ।
जति सिन अनि डायलग राखिएको छ त्यति नै काफी छ मल्लको अभिनयमा टाउको दुखाउन।
एकातिर निर्देशक अस्ट्रेलियामा फिल्म देखाउने टिकट पनि फुल भयो उता देखाउने मिति पनि तय भयो भनेर प्रमोसन गरिरहेका छन्। तर यतै नेपालको हलमै रिलिज हुने मिति भने अझैँ पक्का गर्न सकेको देखिएन।
पहिला कार्तिक ४ रिलिज हुने भनियो। अब असोज २१ गते रिलिज गर्ने मिति आइरहेको छ।
प्रस्तुतकर्ता किरण नेपाली रहेको फिल्ममा दयाहाङ, सौगातसँगै उपासना सिंह ठकुरी र उगेन छोदेनको पनि अभिनय रहेको छ। उपासना सौगातको जोडी अनि छोदेन दयाहाङको जोडी बनेका छन्।
फिल्मको निर्देशक दीपेन्द्र भइहाले। कार्यकारी निर्माता सरोज नेपाली, सह–निर्माता मिठु तामाङ्नी रहेको फिल्ममा दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माता छन्।
साउन २४, २०७९ मंगलबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।