चिलिमा फेला पर्‍यो अहिलेसम्मकै गहिरो र रहस्यमयी भ्वाङ

चिलिमा फेला पर्‍यो अहिलेसम्मकै गहिरो र रहस्यमयी भ्वाङ

एजेन्सी : चिलिमा हालै फेला परेको भ्वाङ (सिंकहोल) हालसम्मकै गहिरो एवम् रहस्यमयी भएको बताइएको छ। दी नेसनल सर्भिस अफ जिओलोजी एन्ड माइनिङ अफ चिलिले सो भ्वाङ संसारकै गहिरो एवम् रहस्यमयी भएको बताएको हो।

केही दिनअघि मात्र चिलिको एटाकामा मरुभूमिमा रहेको क्यानेडियन लुन्डिन माइनिङ तामा खानीनजिकै विशाल भ्वाङ फेला परेको थियो। सो भ्वाङ खानी उत्खननको क्रममा फेला परेको थियो। भ्वाङ देखेका व्यक्तिहरू चकित थिए। भ्वाङ फेला परेको क्षेत्र चिलिको राजधानी सान्टिगोदेखि ६६५ किलोमिटरको दुरीमा छ।

सो भ्वाङबारे अनुसन्धान गरिरहेका विज्ञहरूले बताएअनुसार सो भ्वाङ करिब २ सय मिटर गहिरो र करिब ३२ मिटर बढी फराकिलो छ। सो भ्वाङ किन र कसरी पर्यो भन्नेबारे आफूहरू हैरान बनेको उनीहरूले बताएका छन्।

चिलिको वातावरण संरक्षण विभागका अनुसार सामान्यतया जमिनमा पानीको सतह घट्दै जाँदा र विशेष गरी सुख्खायाममा यस्ता खाले भ्वाङहरू देखा पर्ने गर्छन्। तर पछिल्लो समय देखा परेको भ्वाङ भने निकै गहिरो एवम् फराकिलो छ। सो भ्वाङबारे विस्तृत रूपमा अध्ययन भइरहेको छ।

यसअघि सन् २०१८ मा चीनको ग्वान्सीजुआङ प्रान्तमा ३८७ फिट गहिरो भ्वाङ फेला परेको थियो भने त्यसअघि सन् १८६७ मा अमेरिकाको टेक्सासमा ४ सय फिट गहिरो भ्वाङ फेला परेको थियो। सो भ्वाङ नै हालसम्मको गहिरो भ्वाङ मानिँदै आएको थियो। 

साउन २२, २०७९ आइतबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।