गण्डकी प्रदेश सरकारले बढाएको कर फिर्ता गर्न कांग्रेसको माग

गण्डकी प्रदेश सरकारले बढाएको कर फिर्ता गर्न कांग्रेसको माग
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

पोखराः नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले गण्डकी प्रदेश सरकारले बढाएको कर वृद्धि तत्काल खारेज गर्न माग गरेको छ। पार्टीको प्रदेश कार्य सम्पादन समितिको शनिबारको बैठकले जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्न सरकारको ध्यानाकर्षण गराइएको हो।

पार्टी प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु)ले जारी गरेको विज्ञप्तिमा प्रदेश सरकारमा आफ्ना प्रतिनिधिलाई जनताको भावनाअनुरूप काम गर्नका लागि पठाइए पनि केही व्यक्तिवादी सोचका कारण जनभावना विपरीतका निर्णय गरिएको भन्दै तत्काल संशोधन गरी कर वृद्धिलाई रोक्न अनुरोध गरिएको छ।

गण्डकी सरकारको आव २०७९/८० को बजेटमा यातायात तथा भूमिसम्बन्धी कर, अघिल्लो वर्षको तुलनामा अनपेक्षित रूपमा बढेको छ।

“नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको र प्रजातन्त्रको सुन्दर पक्ष जनभावनाको सम्मान गर्ने भएकाले कर वृद्धिसम्बन्धी के भएको हो स्पष्ट पार्दै आम नागरिकको चाहनाअनुरूप कर वृद्धि भएको भए सोलाई फिर्ता गरी यथावत् राख्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरियो”, विज्ञप्तिमा उल्लेख छ।

साउन २२, २०७९ आइतबार ०७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।