काम राम्रो गर्ने हो भने प्रोमोशनका लागि क्यामेराअघि रुन पर्दैन, भाडामा फ्यान किन्नुपर्दैन: पुष्प खड्का
पुष्पबहादुर खड्का म्युजिक भिडियो हुँदै फिल्ममा आएका कलाकार हुन्। उनको नयाँ फिल्म 'कृष्णलीला' प्रर्दशनको तयारीमा छ। भदौ ३ गते अर्थात् कृष्ण जन्माष्टमीको छेको पारेर फिल्म रिलिज हुँदैछ।
चकलेटी नायकको छवि बनाएका पुष्प अहिले भने फिल्मका पात्रहरूमा विशेष ध्यान दिन थालेका छन्। 'मंगलम्' फिल्ममा अपाङ्गको भूमिका निभाएका उनले कृष्णलीलामा अटिजम् भएको व्यक्तिको चरित्रलाई पर्दामा उतारेका छन्।
'दर्पण छायाँ २' बाट अभिनय यात्रा थालेका हुन् उनले। त्यसपछि 'मारुनी', 'मंगलम्', 'दालभात तरकारी' लगायत फिल्ममा अभिनय गरे।
पहिलो फिल्ममा आफूले सोचेजस्तो अभिनय गर्न नसकेको लाग्छ पुष्पलाई। आफू म्युजिक भिडियोबाट आएको हुनाले पनि 'लेभल' नमिलेको उनी स्वीकार्छन्।
तर त्यसबेला आएको प्रतिक्रिया 'म्युजिक भिडियोमा चल्दैमा जसलाई पायो उसैलाई फिल्ममा उठाएर ल्याउनु हुँदैन' ले उनलाई निराश पनि बनायो र ईख पनि पैदा भयो।
उनै पुष्पसँग उकेराकर्मी पुष्पा थपलियाले कृष्णलीला र यसको पात्र कृष्णमा केन्द्रित भएर गरेको कुराकानीको सम्पादित अंश:
फरक लुक्सको पात्रमा कृष्णलीलामा देखिँदै हुनुहुन्छ, पात्रको बारेमा बताइदिनुस् न।
सुरुमा लबरब्वाइ, चकलेटी हिरोको छवि बनाउने सोच थियो। मंगलम फिल्ममा अपाङ्गता भएको पात्रको भूमिका निभाएँ। त्यसले मलाई छुट्टै तरिकाले सोच्न सिकायो। मैले पनि अर्को पात्रको अभिनय गर्न सक्दो रहेछु भन्ने भयो।
कृष्णलीला प्रेमकथामा आधारित छ। यो फिल्म अरूभन्दा फरक बनाउन हाम्रो टिमले छलफल गर्यो। त्यही समयमा मलाई एउटा पात्रको याद आयो।
दर्पण छायाँ २ को शुटिङमा जाँदा एक जना भेटेको थिएँ, नाम भने बताउँदिनँ। उसको हिँडाइ, बोल्दा थुक फाल्ने तरिका लगायतले उसलाई कसैले मन पराउँदैनथे। मानिसहरू उसको नजिक जान समेत घिन मान्थे।
ऊ फिल्मको शुटिङ हेर्न आउँथ्यो। तर 'उता जा' भनेर हकार्थे मानिसहरू। उसलाई भुईँमा बस् भन्थे।
त्यो पात्रले मेरो मन छोयो। यही कुरा मैले मेरो निर्देशक, निर्मातालाई सुनाएँ। पछि अनुसन्धान गर्दै जाँदा त्यो मानिस अटिजम्को समस्याले ग्रस्त रहेछ।
अटिजम् भएका पात्रहरूको भूमिका धेरै कलाकारले निभाइसकेका छन्। तर यसमा पनि फरक फरक लक्षण हुने रहेछ। एउटा एम्बिसन धेरै भएको केटी र अटिजम्को सिकार भएको केटाका प्रेम कथा नै कृष्णलीला हो।
पुष्पबाट अटिजम् भएको कृष्ण पात्रमा रूपान्तरण हुन के कस्तो मेहनत गर्नुपर्यो त?
सुस्त मनस्थिति भएको पात्र हो कृष्ण। उमेर धेरै भए पनि बच्चाको जस्तो बानी व्यहोरा देखाउँछ। सात वर्षअघि भेटेको मानिसको अभिनय गर्नुपर्ने थियो। सुरुमा त ती मानिस कहाँ छन्, के गर्दै छन् भन्ने नै खोज्नुपर्यो।
ऊ पहिलेकै ठाउँमा छन् भन्ने थाहा पाएपछि फेरि कन्ट्याक नम्बर फेला पार्न मुस्किल पर्यो। साथीलाई नम्बर खोज्न पठाएँ। साथीले उसको आमाबुवासँग सम्पर्क गराइदियो।
उहाँहरूलाई मैले मेरो परिचय दिएँ र दुई घण्टाका लागि उहाँहरूको छोरा मागें। तर उहाँहरूले मान्नुभएन।
घरबाट दुई घण्टा म भए ठाउँमा छाडिदिनुस् भन्दा समेत उहाँहरू ढुक्क भएर सन्तान पठाउन सक्नुभएन भने उहाँहरूलाई सन्तानका कारण कस्तो अनुभूति भइरहेको होला। उहाँहरू कतिधेरै इनसेक्योर हुनुहुन्छ होला भन्ने भयो।
मैले बल्लतल्ल कन्भिन्स गराएँ। आफैँ उहाँहरूको गेटमा गएँ, आफैँले उसलाई दुई घण्टाका लागि ल्याएँ। उसले बोलेको, खाएको, हिँडेको सबै भिडियो खिचें। उसँग कुराकानी गरें। दुई घण्टा पुग्ने बित्तिकै आफैले लगेर घरमा छाडेर आएँ।
म म्युजिक भिडियोबाट फिल्ममा आएको मानिस हुँ। गाडी चढ्छु, जग्गा किनेको छु, यो फिल्मले दिएको पैसा होइन। म्युजिक भिडियोले दिएको हो। त्यसैले जीविकोपार्जनका लागि पनि मैले म्युजिक भिडियो गर्नैपर्छ।
१९ वर्षको छोरालाई घरको कम्पाउण्ड बाहिर जान दिइएको थिएन।
१५ दिनसम्म आशान शर्मा सरसँग मैले तालिम लिएँ। घरमा भान्जी ४ वर्षको हुनुहुन्छ, उहाँसँग पनि धेरै समय बिताएँ।
बलिउडमा अटिजम् क्यारेक्टर निभाएका कलाकारहरूलाई फलो गरें। 'कोइ मिल गया' फिल्ममा ऋतिक रोशनको अभिनय, बर्फी फिल्ममा प्रियंका चोपडाको अभिनय, मिराकल इन सेल नम्बर सेभेनमा बच्चीको बाबुले गरेको अभिनय।
यी सबै कलाकारहरू कसरी चरित्रमा प्रवेश गरे भन्ने अध्ययन गरें। मेहनत गरेर कृष्ण पात्रको भूमिका निभाएको छु। ट्रेलरमा मन पराउनुभएको छ, हेरौं फिल्ममा कत्तिको मन पराउनुहुन्छ।
चरित्रमा प्रवेश गर्न अनि निस्कन दुवैमा समस्या हुन्छ भन्छन् नि, तपाईंको अनुभव कस्ते रह्यो?
नेपालमा चरित्रलाई न्याय हुनेगरी काम गर्नै सकिँदैन। चरित्रले भनेजति समय दिनै सकिँदैन। किनभने यहाँ कलाकारको समयदेखि फिल्मको लगानीसम्मका कुरा जोडिन्छ।
एकै दिनमा दुई तीन वटा फिल्म या म्युजिक भिडियोको शुटिङ भ्याउनुपर्ने अवस्था हुन्छ। त्यसैले चरित्रमा जिउन र त्यहाँबाट उत्रन कलाकारले समय दिनै भ्याउँदैनन्।
तर लकडाउनका कारण मलाई कृष्ण पात्रमा बस्न समय मिल्यो। घरमा मैले कुराकानी गर्दा पनि परिवारका मानिसहरू पूरै सक्ड भएछन्। अझै बहिनीले त ममीलाई समेत कुरा लगाइछ, दाइले त अनौठो हर्कत गरिराछ, थाहा छैन केही चिन्ता भएर हो कि भनेर।
अनि ममीले फोन गरेर केही चिन्ता छ कि, नआत्ती भनेर सम्झाउनुभएको थियो।
तपाईंलाई थाहै छ, म म्युजिक भिडियोबाट फिल्ममा आएको मानिस हुँ। गाडी चढ्छु, जग्गा किनेको छु, यो फिल्मले दिएको पैसा होइन। म्युजिक भिडियोले दिएको हो। त्यसैले जीविकोपार्जनका लागि पनि मैले म्युजिक भिडियो गर्नैपर्छ।
गाउँमा गएर गुन्यु चोली या दौरा सुरुवाल लगाउँदैमा त्यो कलाकारवाला अभिनय, कोट पाइन्ट, कालो चस्मा लगाउँदैमा त्यो हिरोवाला अभिनय भन्ने हुँदैन।
तर लकडाउनको समयमा म्युजिक भिडियोको काम भएन। त्यसैले त्यो समयमा मैले कृष्ण पात्रलाई पूरा समय दिन पाएँ।
तर निस्कने समयमा भने अर्को प्रोजेक्ट तयार भइहाल्यो। कृष्णलीलाको शुटिङ सकेर आउने बित्तिकै अर्को प्रोजेक्टमा काम सुरु गरें। त्यो प्रोजेक्टको क्यारेक्टरलाई भने समय दिन पाइनँ।
कृष्णलीलामै क्यामरापर्सनको काम गर्नुभएको शिव ढकाल दाइ यो प्रोजेक्टमा पनि हुनुहुन्थ्यो। उहाँले कानमा आएर खुसुखुसु भन्नुहुन्थ्यो, 'पुष्प तिमीमा कृष्ण देखिरहेको छ है' भनेर।
केही समयपछि एउटा भिडियोमा काम गर्ने सिलसिलामा कृष्णलीलाको निर्देशक दिपक ओलीले- खड्काजी तपाईं त अहिलेसम्म पनि कृष्णमै हुनुहुन्छ कि क्या हो भन्नुभएको थियो।
अहिले हिरोवाला अभिनय र कलाकारवाला अभिनय भन्ने कुराहरू पनि बजारमा छन्, तपाईं यो विषयमा के भन्नुहुन्छ?
(हाँस्दै) आँखा नदेख्नेको अभिनय, कान नसुन्नेको अभिनय, धनी मानिसको अभिनय, गरिब मानिसको अभिनय, शहरमा बस्नेको अभिनय, गाउँमा बस्नेको अभिनय। यहाँ कसको अभिनय गर्यो भन्ने फरक होला तर अभिनय त अभिनय हो।
गाउँमा गएर गुन्यु चोली या दौरा सुरुवाल लगाउँदैमा त्यो कलाकारवाला अभिनय, कोट पाइन्ट, कालो चस्मा लगाउँदैमा त्यो हिरोवाला अभिनय भन्ने हुँदैन।
चरित्रले जे माग्छ, त्यसमा भिज्न सक्नुपर्छ। त्यसमा रहेर अभिनय गर्नसक्नुपर्छ।
हिरोको पनि अभिनय गर्ने हो तर उसको पेशा कलाकारिता हो। पेशागत धर्म अनुसार ऊ कलाकार हो। पात्रअनुसार ऊ हिरो हुनसक्ला।
मौलिक कथाका पात्रमा संघर्ष अलि धेरै गर्नपर्छ तर लुक्स फरक आउँदैमा त्यो मात्रै अभिनय होइन। कुनै व्यक्तिले अर्को व्यक्तिको नक्कल गर्छ भने त्यो अभिनय हो, उ कलाकार हो।
तपाईंका समकालीन अन्य चर्चित पुरुष कलाकार विभिन्न कन्ट्रोभर्सीमा परिरहन्छन्। तपाईंका यस्ता कुराहरू खासै बाहिर आएका छैनन्, कसरी व्यवस्थापन गर्नुहुन्छ?
यो त ट्रिक हो भन्नहुन्न (हाँस्दै)। कसको नेचर कस्तो छ भन्ने कुराले पनि प्रभाव पार्ने हो कि!
मलाई फिल्मको बारेमा 'फ' पनि थाहा थिएन। शुटिङ कस्तो हुन्छ भन्ने न मेरो अगाडिको पुस्तालाई थाहा थियो, न मलाई। कलाकार बन्न के चाहिन्छ, कसरी बनिन्छ केही थाहा थिएन।
मेरो पनि कुनै कोएक्टरसँग एकदमै राम्रो सम्बन्ध हुन्छ, कुनैसँग क्यामरामा हिहि गर्यो, अंगालो मार्यो, कट भन्ने बित्तिकै ऊ पूर्व, आफू पश्चिम लाग्ने सम्बन्धहरू पनि हुन्छन्।
राम्रो सम्बन्ध भए पनि नभए पनि मेरो पहिलो गोल भनेको मेरो काम हो। काममा इमान्दार भन्नुपर्छ भन्ने बुझाइ हो।
व्यक्तिगत सम्बन्धहरू आफ्नो ठाउँमा छन्। काममा इमान्दर भए विभिन्न कन्ट्रोभर्सी बाहिर ल्याइरहनपर्छ जस्तो लाग्दैन। काम राम्रोसँग गर्ने हो भने प्रोमोशनका लागि महिला कलाकारसँग नाम जोड्न परेन, क्यामराअघि रुन परेन, भाडामा फ्यान किनेर देखाउन परेन।
जस्तोसुकै चरित्र आए पनि त्यो मेरा लागि चुनौती हो। यो पुरानै बानी हो। सरकारी स्कुलमा एसएलसी दिँदा सेकेण्ड डिभिजन आयो। पढे साइन्स पढ्छु नत्र पढ्दै पढ्दिन भनेर बसेको मान्छे हुँ, त्यो बानी अहिलेसम्म पनि छ।
यो क्षेत्रको एउटा लोभ त नामको पनि हो। कहिलेकाहिँ म त्यो लोभमा फस्छु कि भन्ने डर लाग्छ। त्यसैले त्यहाँ नफस्न आफूलाई सम्झाइरहन्छु।
फिल्मका कलाकारहरू जे देखिन्छन्, त्यो हुँदैनन्, जे हुन्छन् त्यो देखिँदैनन् भन्ने चर्चा चल्छ। के भन्न खोजेको होला यो?
मलाई फिल्मको बारेमा 'फ' पनि थाहा थिएन। शुटिङ कस्तो हुन्छ भन्ने न मेरो अगाडिको पुस्तालाई थाहा थियो, न मलाई। कलाकार बन्न के चाहिन्छ, कसरी बनिन्छ केही थाहा थिएन।
पढाइ सकिएपछि यो क्षेत्रमा आएँ। सबैले नजा भन्दाभन्दै मनको जिद्दिपनालाई जित्न नसकेर आएँ।
मैले के शपथ लिएको थिएँ भने यदि यो ठाउँमा मैले गर्ने नै हो भने, एक पैसा घरबाट माग्दिनँ। यसैले म बाँच्नुपर्छ, यसलै धान्नुपर्छ।
काम गर्दा सुरुमा गाह्रो भयो। भिडियो पाउनै मुस्किल पर्थ्यो। पछि सम्माननीय निर्देशक तुलसी घिमिरेले फिल्ममा ब्रेक दिनुभयो। यो नै मेरो सपनाको पहिलो खुट्किलो हो।
दर्पण छायाँ २ प्रर्दशन भएपछि एकचोटी भने म गलत क्षेत्रमा आएँ कि भन्ने भएको थियो। म्युजिक भिडियो गर्ने कलाकार हो, त्यसैमा रमाउने हो फिल्म त्यसको लागि होइन भन्नेखालको प्रतिक्रिया पाएको थिएँ। यो कुराले धेरै हर्ट भयो। तर दोस्रो फिल्म मंगलम् गरेपछि राष्ट्रिय पुरस्कार पाएँ। अनि बल्ल मोटिभेट भएँ।
निखिल उप्रेतीहरूको समय सकिएपछि एक्सन लभ स्टोरी फिल्ममा कामै राम्रो भएको छैन। त्यसैले एक्सन लभ स्टोरी भएको फिल्ममा काम गर्ने रहर छ।
यो क्षेत्रको आयु कम हुन्छ। कलाकारको आयु झनै छोटो हुन्छ। पाँच वर्षमा २५ वर्षको अनुभव यो क्षेत्रले दिन्छ। उठाउने पनि यहीँ छ, थर्चार्ने पनि यहीँ छ। आकाशमा पनि पुर्याउँछ स्टार भन्छ, भोलिपल्टै खाडलमा पनि हाल्छ।
राजनीति पनि हुन्छ, रणनीति पनि हुन्छ। एन्ट्री गर्ने ठाउँ छ तर एक्जिट गर्ने ठाउँ नै छैन।
नायिका मनिषा कोइरालाले एक अन्तर्वार्तामा भन्नुभएको थियो- पिकमा हुँदा विश्व मसँगै छ जस्तो लागेको थियो। तर जब म समस्यामा परें मेरो नजिक त दुई चार जना मात्रै रहेछ।
यस्तै हो, कहिलेकाहिँ लाखौं फलोअर्स, हजारौं शुभचिन्तकको भीडमा पनि एक्लो भएको महसुस हुन्छ। (हाँस्दै) यी कुरा सुन्दा हामी बिचरा लाग्दैन तपाईंलाई?
एउटा फिल्ममा राम्रो काम भयो भने सबैले स्टार भन्छन्। अर्कोमा केही कमजोरी हुनासाथ तिनै दर्शकले गाली गर्छन्। समीक्षकहरूले अब करियर नै सकियो भन्ने कमेन्ट दिन्छन्। दुई तीनटा लगातार फ्लप भयो भने त सकियो। यस्ता कुराले मन अतालिन्छ। डर लाग्छ।
अब कस्तो फिल्म गर्ने रहर छ तपाईंलाई?
म पहिला कराँते खेलाडी हुँ। त्यसैले डान्स गर्न सजिलो भयो। फाइट सिकेको कलालाई देखाउने ठाउँ नै पाएको छैन।
निखिल उप्रेतीहरूको समय सकिएपछि एक्सन लभ स्टोरी फिल्ममा कामै राम्रो भएको छैन। त्यसैले एक्सन लभ स्टोरी भएको फिल्ममा काम गर्ने रहर छ।
'एक्स ९' फिल्ममा काम हुँदै थियो। तर कोरोनाका कारण भद्रगोल भयो। अब फेरि बन्ने भन्ने कुरा त, खै हेरौँ के हुन्छ।
साउन २१, २०७९ शनिबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।