दिवङ्गत दक्षिण भारतीय अभिनेता पुनित राजकुमारलाई 'कर्नाटक रत्न अवार्ड'

दिवङ्गत दक्षिण भारतीय अभिनेता पुनित राजकुमारलाई 'कर्नाटक रत्न अवार्ड'

एजेन्सीः दक्षिण भारतीय अभिनेता स्वर्गीय पुनित राजकुमारलाई कर्नाटक सरकारले 'कर्नाटक रत्न अवार्ड' प्रदान गर्ने भएको छ। शुक्रबार कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले यस्तो घोषणा गरेका हुन्।

यो उपाधि नोभेम्बर १ अर्थात् कन्नड राज्योत्सवको अवसरमा प्रदान गरिनेछ।

उक्त भारतीय राज्यको यो सर्वोच्च उपाधि हो। यो उपाधि पाउने पुनित १०औं व्यक्ति हुन्। यसअघि सन् १९९२ मा पुनितका बुवा डा. राजकुमार पनि सम्मानित भएका थिए।

४६ वर्षको उमेरमा बितेका पुनित परोपकारी काममा सक्रिय रहनेमध्ये पर्थे। उनले कोरोना महामारीको बेला मुख्यमन्त्री राहत कोषमा ५० लाख भारु दान गरेका थिए। यस्तै ४५ विद्यालय, २६ अनाथालय, १६ वृद्धाश्रम, १९ गौशाला र १८ सय अनाथ युवतीको उच्च शिक्षाको जिम्मेवारी उनले उठाएका थिए।

गत २९ अक्टोबरमा पुनितको हृदयघातका कारण निधन भएको हो।

साउन २१, २०७९ शनिबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।