भारतमा आज उपराष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्री मोदीले गरे पहिलो मतदान

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्री मोदीले गरे पहिलो मतदान

एजेन्सीः भारतमा आज उपराष्ट्रपति पदको लागि मतदान हुँदैछ। सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको थियो।

उपराष्ट्रपतिको चयन संसद्बाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो। लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन्। स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन्।

मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ।

नवनिर्वाचित उपराष्ट्रपतिलाई शपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका रहेको छ।

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिने भएकाले नवनिर्वाचित उपराष्ट्रपतिलाई अगस्ट ११ मा शपथ खुवाइने भएको हो।

नयाँ उपराष्ट्रपतिका लागि विपक्षी दलहरूको तर्फबाट मार्गरेट अल्भालाई उम्मेदवार बनाइएको छ। सत्तारुढ दलहरूको तर्फबाट भारतीय जनता पार्टीका शीर्ष नेता जगदीप धनकरलाई उठाइएको छ।

साउन २१, २०७९ शनिबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।