काठमाडौँको सडकमा थुप्रिएको फोहोर कहिले पुग्छ सिसडोल ?, 'बालेन' लाई नि थाहा छैन !

काठमाडौँको सडकमा थुप्रिएको फोहोर कहिले पुग्छ सिसडोल ?, 'बालेन' लाई नि थाहा छैन !
तस्बिर : दिपेन्द्र अधिकारी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर नछुट्टिए फोहोरै नउठाउने चेतावनीसहितको सूचना जारी गर्यो। असारबाटै सडकका चोक र गल्लीमा फोहोर थुप्रिन थाले। तर कुहिने/नकुहिने नछुट्टाएकाले फोहोर नउठेको हैन। सिसडोल र बन्चरे डाँडामा रहेको ल्यान्डफिल साइट पुग्ने सडकमा फोहोर लैजाने ट्रकै जान नसक्ने भएर हो।

बिहीबार सिसडोल पुगेर फर्किएको काठमाडौँ महानगरपालिकाको टोलीका अनुसार तत्काल काठमाडौँका सडक र गल्लीमा थुप्रिएका फोहोर उठ्ने सम्भावना पनि छैन। ल्याण्डफिल साइट पुग्ने बाटोको अवलोकन गरेर फर्किएको महानगरको टोलीमा रहेका सदस्यका अनुसार बाटो नबनेसम्म काठमाडौँको सबै फोहोर उठाउन सम्भवै छैन। तत्काल सडक बन्ने सम्भावना पनि छैन।

‘ल्याण्डफिल साइटसम्म पुग्ने बाटो बिग्रेर ध्वस्त भएको छ’ महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले भने, ‘सडकको काम गरिरहेका छौ तैपनि लिचेड र वर्षाको पानीका कारण काम हुन सकिरहेको छैन।'

उनका अनुसार अहिले मुस्किलले दैनिक ५ देखि १० गाडी फोहोर ल्यान्डफिल्ड साइट पुगिरहेका छन्। उनले बाटो बन्न समय लाग्ने बताए। तर कति समय लाग्ने खुलाउन सकेनन्।

'सडक विभाग र महानगरपालिकाको संयुक्त सहकार्यमा सडक निर्माणको काम भइरहेको छ। कहिलेसम्म सडक बन्छ भन्न सक्ने अवस्था छैन,' उनले भने।

कुहिने-नकुहिने कुरा मात्रै

केही दिनअघि मात्र सिसडोल र बन्चरेवासीहरुले काठमाडौँको फोहोर फाल्ने बाटो सधैँका लागि बन्द गर्ने भन्दै संयुक्त ज्ञापन पत्र बुझाएका थिए। त्यसयता थोरै भए पनि उठिरहेको फोहोर पनि उठाउन सकेन महानगरले।

‘आश्वासन दिँदै हस्ताक्षर मात्र गर्ने तर काम नगर्ने भन्दै त्यहाँका स्थानीयहरू पुन आक्रोशित हुनुभएको थियो। बाटो बन्न थालेपछि उहाँहरू शान्त हुनुभएको छ’ काफ्लेले दाबी गरे ‘फोहोर नउठ्दा ठाउँ ठाउँमा फोहोरको पहाडजस्तै बनिसकेको छ। हामीले सक्ने जति गरिरहेकै छौ।’

साउन १ गतेदेखि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्ने र छुट्टाइएको फोहोर अलगअलग दिन उठाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। स्रोतमै फोहोर नछुटाउनेलाई कारबाही गरिनेसमेत सो सूचनामा उल्लेख थियो।

तर सिसडोलको बाटो नबनेका कारण त्यो सूचना पनि असफल भयो। एक त फोहोर उठेकै छैन। जति उठेको छ सोलोडोलो उठेको छ।

‘महानगरपालिकाले फोहोर छुट्टाउने सम्बन्धमा सूचना जारी गरे पनि अहिले बाटो र सडकतिर थुप्रिएको फोहोरका कारण हामीले नअलग्याएरै फोहोर उठाउन थालेका हौ’ काफ्लेले भने, ‘मानिसहरूले घरबाट फोहोर ननिकालेको १० दिन जति भइसक्यो। घरबाट निस्केको जति सबै सडक, चोक र नदी किनारमा थुप्रिएको छ। थुप्रिएकै ठाउँको फोहोर उठाउँदा कुहिने नकुहिने अलग्याउन असम्भव छ।'

साउन २०, २०७९ शुक्रबार २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।