नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न कोभिड–१९ सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने
काठमाडौंः कोभिड–१९ सङ्क्रमितहरूको 'जिन सिक्वेन्सिङ' गरिने भएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न सङ्क्रमितहरूको जिन सिक्वेनसिङ गर्ने निर्णय गरेको हो।
आज बसेको सीसीएमसीसीका पदाधिकारीको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएका सबै व्यक्ति तथा आईसीयू र एचडीसीयूमा रहेका बिरामीमध्ये प्राविधिक रूपले सम्भव भएसम्म कोरोना भाइरसको ‘जीन सिक्वेन्सिङ’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।
बैठकले होम आइसोलेनसमा रहेका व्यक्तिका बारेमा मन्त्रालयसहित प्रदेश र स्थानीय सरकारबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शङ्कर नेपालले जानकारी दिए।
उनका अनुसार बैठकमा कोभिड–१९ सङ्क्रमणको पछिल्लो अवस्थाबारे समीक्षा गरिएको थियो। सङ्क्रमण दर बढ्दो क्रममा रहे पनि अस्पतालमा भर्ना दर न्यून रहेको तथा कोभिडबाट मृत्यु भएका व्यक्तिको अध्ययन गर्दा अन्य गम्भीर प्रकारका रोग समेत लागेको पाइएको बैठकमा जानकारी गराइएको थियो।
बैठकले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अस्पतालमा शय्या सङ्ख्या, आईसीयू तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था रहेकाले आत्तिनुनपर्ने तर सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ।
साउन २०, २०७९ शुक्रबार १९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।