पोखरा महानगरले चिस्यान सुविधासहितको 'कृषि एम्बुलेन्स' सञ्चालन गर्ने
पोखराः पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित फलफूल, तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो।
सम्झौतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हस्ताक्षर गरेका छन्।
कृषि एम्बुलेन्सले महानगरपालिकाका विभिन्न वडाहरूमा उत्पादित कृषि उत्पादन संकलन गरी केन्द्रमार्फत निःशुल्क ढुवानी गर्नेछ। कृषकबाट खरिद गरिएको कृषिजन्य उत्पादनलाई उपभोक्तासम्म पुगेर बिक्रि गर्नेछ।
ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तासम्म पुर्याउने महानगरको वार्षिक नीति तथा कार्यक्रम अनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको मेयर धनराज आचार्यले बताए। कृषि एम्बुलेन्समार्फत कृषकहरूलाई आवश्यक पर्ने बीउ समेत वितरण गर्न योजना रहेका मेयर आचार्यले बताए।
कृषि एम्बुलेन्स सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने क्षतिमा कमी हुने, बिचौलियाको अन्त्य, कृषकहरूलाई तरकारी बजार सम्म पुर्याउन सहजता हुने स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घर–घरमा ताजा तरकारी उपलब्ध हुने पोखरा महानगरका कृषि विकास महाशाखाका प्रमुख मनोहर कडोरियाले बताए।
तालिका बनाएर महानगरका विभिन्न क्षेत्रहरूमा नियमितरूपमा सञ्चालन गरिने यस सेवाले साना किसानलाई समेत आफ्नो कृषि उत्पादन बजारीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ।
एक पटकमा तीन टनभन्दा धेरै तरकारीको ढुवानी गर्न सकिने क्षमताको एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित बनाउने बताएको छ।
साउन २०, २०७९ शुक्रबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।