गायिका प्रीति आलेले सडकमा पलेटी कसेर गीत गाउँदै पैसा मागिन्
काठमाडौँ : मन्दिर वा सार्वजनिक स्थान जहाँ बटुवाको बाक्लो ओहोरदोहोर हुन्छ त्यही स्पिकर राखेर गीत गाउने दृष्टीविहिनहरुप्रति काठमाडौँ कति अनुदार छ भन्ने त बौद्ध परिसरको घटनाले नै देखायो।
काठमाडौँका मेयर बालेन्द्र शाहले काठमाडौँमा माग्न बस्नै नदिने नीति लिँदा गलाको कला देखाएर बटुवा रिझाउँदै दैनिक खर्च चलाउने कलाकार पनि मारमा परेका छन्।
यही बेला गायिका प्रीति आलेको सहृदयी मन देखाउने एक भिडियो टिकटकमा भाइरल भइरहेको छ। पोखराको सभागृह क्षेत्रको दाबी गरिएको भिडियोमा स्पिकर राखेर सडकमा गाउँदै खर्च जुटाइरहेका दृष्टिविहीनलाई प्रीतिले सघाएकी छिन् तर पैसा दिएर हैन।
दोहोरी ब्याटल लगायतका चर्चित र परिचित गायिका आले ती कलाकारसँगै पलेटी कसेर बस्छिन्। उनको माइक लिन्छिन् र गीत गाउन थाल्छिन्। उनीसँगको अर्को व्यक्तिले पैसा राख्न अगाडि राखिएको भाँडो हातमा लिएर पैसा मागिदिन्छन्।
ती दृष्टिविहीन कलाकारलाई वास्ता नगरेका बटुवाहरूले जब गायिका प्रीतिलाई 'मिरमिरे आँखा' गीत गाइरहेको देख्छन् तब टोकरीमा पैसा राख्ने प्रतिस्पर्धा नै सुरु हुन्छ।
माग्ने र सार्वजनिक स्थानमा कला देखाएर खर्च जोहो गर्ने फरक पाटो हो। विश्वका धेरै ठाउँमा स्ट्रिट आर्टिस्टहरु भेटिन्छन् जो सडकमा कला देखाएर बटुवाको मन जितेर खर्च जुटाउँछन्। ती माग्ने हैनन् कलाकार हुन्।
तर नेपालमा भने सबैलाई एकै टोकरीमा राख्ने गरिन्छ। त्यस्तोमा केही समयका लागि भए पनि गायिका आलेले अर्का गायक जो सडकमा गाएर जीविकोपार्जनको स्रोत जुटाउँछन् उनलाई सम्मान गरेर कलाको सम्मान गरेकी छिन्। यसका लागि गायिका प्रीतिलाई धन्यवाद।
साउन १९, २०७९ बिहीबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।