दुवै हातमा लड्डु खोज्नेहरूको क्रन्दन- नाटक 'सपना अनेक–अनेक'
मेरो भाइ हरेक वर्ष अमेरिका जाने सपना बोकेर डिभी भर्छ। मेरी दिदी पाँच लाख फलोअर्स टिकटकमा कटाउन पाए सजिलै अमेरिका छिर्ने दाउमा अनेक हर्कत गर्छिन्। मेरा साथीहरू अमेरिकाको भिसा घरमै आउँछ भन्दै अनेक प्रचारबाजीमा समय खर्चन्छन्, पैसा तिरेर अवार्ड किन्छन्। यी सबै देख्दा अमेरिका साँच्चै सपनाको देश हो।
अमेरिका जाने सपना हुने खाने र मध्यम वर्गले मात्रै देख्नसक्छ। हुँदाखानेहरू सपनामा पनि त्यो देश सोच्न सक्दैनन्। कुनै जादूको छडी लागेर ऊ अमेरिका जान पाए त्यो फरक कुरा।
त्यति मरिहत्ते गरेर पुगेको देशमा पनि खुशी छैन रे। त्यहाँ पुगेका नेपालीहरू देश सम्झेर भक्कानिन्छन् रे। छाती पिटी-पिटी रुन्छन् रे।
गगनचुम्बी भवनदेखि समुन्द्रको छालमा फोटो खिचेर सामाजिक सञ्जालमा राखे पनि नेपाल सम्झेर अमेरिका निवासी नेपालीहरूको अन्तरआत्मा धर्रधरी रोएको छ रे।
वर्ल्ड ट्रेड सेन्टर (ट्वीन टावर) विष्फोट हुँदा होस् या भूकम्पले धरहरा भत्काउँदा, दुवैमा चित्त उत्तिकै फाट्छ रे।
०००
कालिकास्थानको सर्वनाम थिएटरमा गीति नाटक 'सपना अनेक–अनेक' मञ्चन भइरहेको छ। कोभिड-१९ पछि सर्वनाम यही नाटक लिएर दर्शकमाझ आएको हो।
अशेष मल्लको परिकल्पना र उनैको निर्देशनमा बनेको गीति नाटक स्थापनाको चार दशकको अवधिमा सर्वनामले मञ्चन गरेको पहिलो गीति नाटक समेत हो।
अमेरिका निवासी लेखक गीता खत्रीको खण्डकाव्य 'आमा हो आमा' पुस्तकलाई नाट्य रूपान्तरण गरिएको गीति नाटक हो यो।
यही नाटकको सार हो- नेपालीको अमेरिका सपना र त्यहाँ पुगेपछि नेपालप्रतिको माया।
०००
पश्चिम र पूर्वी भारतको सिमानामा पैताला पर्नुबाहेक यो देश छाडेर कहिल्यै नहिँडेकाले होला नाटकमा देखाइएका देशप्रेम र करुण रसले रुवाएन, उल्टै हसायो।
मनमा सोच पनि आयो- नेपालमै हल्लिएर खान पुगिहालेको थियो, किन जानु १८ घण्टा काम गर्न सपनाको देश अमेरिका!
एक प्रकारको कौतुहल भने सिर्जना भयो, नेपाल सम्झेर त्यस्तै छटपटी होला? छाती पिटीपिटी रुन मन लाग्ला? देश छाडेर त्यति दुखी भइन्छ होला? के म जस्ता नेपालभन्दा बाहिर पाइला नपरेकालाई मात्रै देशप्रेमको भाव उतिसाह्रो नउर्लिएको हो?
वैदेशिक रोजगारीको लागि बाध्यताले खाडी मुलुक पुगेकाहरू र युरोप तथा अमेरिका जानेहरूमा पक्कै फरक छ। युरोप-अमेरिका पक्कै छाक टार्न मात्र जाँदैनन् मानिस। आफ्नो र सन्तानको भविष्य सम्झेर जाने हो।
नाटक बौद्धिक, धनी वर्गको सपनाको देश अमेरिका गएकाहरूको कथा हो। दुवै हातमा लड्डु खोज्नेहरूको कथा हो। उनीहरू जन्मेको ठाउँको माटोको सुगन्ध पनि खोज्छन् र सपनाको देश पनि।
त्यसैले सपना पूरा गर्न देश छाड्नेहरूका लागि त यसले प्रभाव पार्ला, नेपालमै भविष्य निर्माण गर्न जुटेकाहरूलाई यो फगत एक नाटक हो।
ब्याकग्राउण्डबाट आउने रेकर्डेड आवाज र गीतमा कलाकारहरूले नाटक गर्छन्। कहिले एकल संवादमा कलाकारहरूले अभिनय गर्छन् त कहिले गीतमा नृत्य गर्छन्।
घटना हेर्दा यो आजभन्दा २० वर्षअघिको अमेरिकी सपनामा आधारित छ। किनभने नाटकमा ट्वीन टावर विष्फोटको घटना समावेश छ।
कथासार यस्तो छः
२० वर्षअघि एउटा पात्र नेपालबाट सपनाको शहर न्युयोर्क पुग्यो। उसलाई गाउँघर, आफन्त, छुटेकी प्रेमिकाको याद आयो। कथा अघि बढ्दै जाँदा अचानक ट्वीन टावर विष्फोट भयो।
मातृदेशको सम्झनामा रोइरहेका कलाकार एक्कासि 'बाबा मर्यो' भन्दै रुन थाल्छन्। आफू टुहुरो भएको भन्दै यो कस्तो मानवतामाथिको प्रहार भन्दै छाती ठोक्छन्।
अन्तिममा बाबा मर्यो भन्दै रुने छोरीले घरजम गर्छिन्। सपनाको शहरमा आफ्ना छोराछोरी जन्माउछिन् र नाटकको सुखद् अन्त्य हुन्छ।
यहाँ सुरुमा बुवा पात्रले कथा भनेको देखिन्छ। उसले आफ्ना छोराछोरीलाई अमेरिका पुर्यायो। ट्वीन टावर विष्फोटमा परेर ऊ चाहिँ मर्यो।
कथा भन्ने पालो छोरीको आयो।
बुवा बित्दाको पीडा भुलाएर उनले विहे गरिन्, छोराछोरी जन्माइन्। आमा बनेपछि आमाको झनै धेरै सम्झना गरिन्।
कहिले नेपाल, कहिले अमेरिकाको न्युयोर्क। कहिले सम्झनामा, कहिले वर्तमानमा। यी कुराहरू नाटकमा विभिन्न प्रप्सहरूको प्रयोगबाट देखाउन खोजिएको छ। तर टाइम फ्रेम प्रष्ट नहुँदा कुन पुस्ताले कथा भनिरहेको हो पत्तो लगाउन मुस्किल पर्छ।
आमा भन्नाले 'नेपाल आमा' हो भनेर प्रष्ट पार्न सकिएको छैन। यदि नेपाल आमालाई आमाको रूपमा देखाइएको हो भने, उनी मरिसकिन् भन्ने सुनिन्छ। किनभने त्यहाँ कलाकारहरू टुहुरो भयौं भन्दै रुन्छन्। नेपालको नागरिकता नै त्यागे पनि देश त कहिल्यै मर्दैन नि!
कलाकारहरू मनोज महर्जन, धीरज थापा मगर, शू–गूँ, रविन परियार, निरीक्षा घतानी, भावना उप्रेती र मिलन शाक्यको अभिनय सुन्दर छ।
कोरियोग्राफर प्रमिला कार्की उप्रेतीको काम पनि प्रशंसायोग्य छ। सत्यराज आचार्य र बानिका प्रधानको आवाजमा जादू छ। तर त्यो संगीत रेकर्डेड भन्दा लाइभ भएको भए झनै मज्जा आउँथ्यो।
मञ्च डिजाइनमा राम्रो काम भएको छ। प्रकाश संयोजनमा मेहनत देखिन्छ।
साउन १९, २०७९ बिहीबार ०७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।