लेखा अधिकृतले किर्ते हस्ताक्षर गरेको बयान दिने प्रमुख प्रशासकीय अधिकृत पाण्डेको सरुवा

लेखा अधिकृतले किर्ते हस्ताक्षर गरेको बयान दिने प्रमुख प्रशासकीय अधिकृत पाण्डेको सरुवा

सुर्खेत : तत्कालीन पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेको सरुवा भएको छ। नगरपालिकामा काम गर्ने लेखा अधिकृतले आफ्नो हस्ताक्षर किर्ते गरेर रकम भुक्तानी गरेको दाबी गरेका पाण्डेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएको हो।

उनले नगरपालिकाका लेखा अधिकृत मोहोन बुढाले आफ्नो हस्ताक्षर किर्ते गरेर घर भाडा, खाना तथा खाजा खर्चबापत  तीन लाख ६२ हजार ५ सय रकम भुक्तानी गरेको दाबी गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा उजुरी परेपछि आफूले सो जानकारी पाएको उनले दाबी गरेका थिए। यसबारे अख्तियारले छानबिन गरिरहेको छ। यही बिचमा उनको सरुवा निस्कियो।

पाण्डेले गत जेठ १७ गते लेखा अधिकृत बुढाले बिल पास गरिदिन आफ्नो टेबुलमा पुर्याएको तर अनधिकृत शीर्षकमा पैसा खर्च भएकोले बिल पास नहुने भन्दै फाइल फिर्ता गरिदिएको बताए।

'लेखा अधिकृत बुढाले मेरो हस्ताक्षर किर्ते गरी रकम भुक्तानी गरिदिएछन्। म त अचम्मित भएँ।  रामजाली ढावा एन्ड तन्दुरी पसलको नामबाट रकम भुक्तानी भएको रहेछ। त्यहाँ बस्न नसक्ने अवस्था भएपछि १५ गते लुम्बिनी सरुवा भएको हुँ।'

लेखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरी रकम भुक्तानी गरेपछि...

अधिकृत पाण्डे अख्तियारबाट टोली गएर सोधपुछ गर्दा मात्रै आफूले यो विषयमा जानकारी पाएको दाबी समेत गरेका छन्। यता लेखा अधिकृत बुढाले आफूले किर्ते हस्ताक्षर गरेको आरोप गलत भएको दाबी गरिरहेका छन्।

यता अख्तियार स्रोतका अनुसार सो भुक्तानीबारे अनुसन्धान गर्न दुवैको हस्ताक्षरको नमुना लिएको जानकारी दियो। दुवैको हस्ताक्षरको नमुना फरेन्सिक जाँचका लागि पठाएको तर प्रतिवेदन नआएको स्रोतले उकेरालाई बतायो। 

साउन १८, २०७९ बुधबार २३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।