भारतीय प्रधानमन्त्री मोदीको नक्कल गरिएको मधेस प्रदेशको कार्यक्रममा १० करोड भ्रष्टाचार भएको अख्तियारको दाबी

भारतीय प्रधानमन्त्री मोदीको नक्कल गरिएको मधेस प्रदेशको कार्यक्रममा १० करोड भ्रष्टाचार भएको अख्तियारको दाबी

काठमाडौँ : मधेस प्रदेश सरकारले सञ्चालन गरेको 'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजन इन्जिनियर भगवान् झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो र भण्डार शाखाका खरिदार जित मोहनकुमार दासलाई प्रतिवादी बनाएर आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले ओमसत्य साई प्राली वीरगन्जकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवाल, बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष दिलीपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णलाई समेत प्रतिवादी बनाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव भुसालले गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरेर रकम भुक्तानी गरी प्रदेश सरकारलाई १० करोड ३३ लाख नोक्सानी पुर्याएको आयोगको दाबी छ।

अख्तियारले प्रदेश सचिव भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर भगवान् झा, सह लेखापाल राजाराम मण्डल र साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्य साई प्रालीकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवालसँग १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ बिगो माग दाबी गरेको छ।

मधेस प्रदेश सरकारले छात्रा शिक्षा प्रवर्द्धन गर्न भन्दै मधेसका मुख्यमन्त्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रमको नक्कल गर्दै 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रम ल्याएका थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै सञ्चालन गरेको कार्यक्रममा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको गत वर्षकै प्रतिवेदनमा उल्लेख थियो।

साउन १८, २०७९ बुधबार २२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।