पुरुष समलिंगी र वयस्कमा मङ्कीपक्सको जोखिम बढी, नेपालमा अलर्ट
काठमाडौं : एकातर्फ कोरोना भाइरस संक्रमणको जोखिम छँदैछ। अर्कातर्फ मङ्कीपक्स भाइरस संक्रमण एकपछि अर्को मुलुकमा फैलिरहेको छ। नेपालमा पनि मङ्कीपक्सको जोखिम बढेको छ।
नेपालमा तीन जना संकास्पद संक्रमित देखिए पनि हालसम्म भने यो संक्रमण पुष्टि भएको छैन। तर यो भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिरहेकाले कुन बेला नेपाल भित्रने हो पत्तो छैन।
विशेषगरी पुरुष समलिंगीमा मङ्कीपक्स
मङ्कीपक्स भाइरस संक्रमण यौन सम्पर्कको माध्यमबाट समेत सरेको पाइएकाले सचेत हुन चिकित्सकले सजग गराएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक तथा वरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्तचन्द्र ओझा पुरुष समलिंगीमा बढी संक्रमण देखिएको बताउँछन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि विशेषगरी पुरुष-पुरुषबीच हुने (मेन सेक्स विथ मेल) यौन सम्पर्कको माध्यमबाट पछिल्लो समय मङ्कीपक्स भाइरस सरेको पाइएको बताउँछन्।
डा. पुनका अनुसार मङ्कीपक्स संक्रमित व्यक्तिमा बढीजसो बिमिरा-घाउ गुप्ताङ्ग र गुद्द्वार जस्ता अंगमा देखिन्छ। यौन सम्पर्कका क्रममा संक्रमितको बिमिरा-घाउबाट निस्किएको तरल पदार्थको माध्यमबाट मङ्कीपक्स भाइरस सरेर संक्रमण हुनसक्ने जोखिमतर्फ उनले सजग गराएका छन्। डा. पुनले भने, ‘त्यसैले सचेत हुनुपर्छ।’
चिकित्सकको मत अनुसार पुरुष-पुरुष (पुरुष समलिंगी) बीच किन बढी मङ्कीपक्स भाइरस संक्रमण सर्यो भन्ने विषयको सवाल भने एकिन गरी खुलिसकेको छैन।
संक्रमित व्यक्तिको बिमिरा र घाउको तरल पदार्थ यौन सम्पर्कको माध्यमबाट अर्को व्यक्तिमा भाइरस सरेर संक्रमणको जोखिम हुने डा. पुन बताउँछन्। शारीरिक सम्बन्धको माध्यमले मङ्कीपक्स सर्न सक्ने जोखिम रहेको चिकित्सक बताउँछन्।
औसत उमेरको सवालमा ३६ वर्ष र औसतमा १८ देखि ४४ वर्ष उमेर समूहका बढीजसो व्यक्तिमा मङ्कीपक्स संक्रमण भएको देखिएको निमित्त निर्देशक डा. ओझाले बताए। उनले भने, ‘संक्रमण हुने उमेर समूह औसतमा ३६ र १८ देखि ४४ वर्षमा बढी देखिएको छ।’
त्यसैले धेरै डराउनेभन्दा सतर्कता भने अपनाउनुपर्नेमा चिकित्सकको एक मत देखिन्छ।
चिकित्सकको मत अनुसार संक्रमित भएको व्यक्तिको थुकको छिटाबाट यो भाइरस संक्रमण अर्को व्यक्तिमा सर्न सक्छ। संक्रमित व्यक्तिको थुकको छिटा नाक, मुख, आँखामा परेको खण्डमा मङ्कीपक्स अर्को व्यक्तिमा सर्ने जोखिम हुन्छ।
औसत उमेरको सवालमा ३६ वर्ष र औसतमा १८ देखि ४४ वर्ष उमेर समूहका बढीजसो व्यक्तिमा मङ्कीपक्स संक्रमण भएको देखिएको निमित्त निर्देशक डा. ओझाले बताए। उनले भने, ‘संक्रमण हुने उमेर समूह औसतमा ३६ र १८ देखि ४४ वर्षमा बढी देखिएको छ।’
यो भाइरस श्वासप्रश्वासको माध्यमबाट समेत सर्न सक्छ। तर श्वासप्रश्वासको माध्यमबाट सर्ने सम्भावना कमै हुने डा. पुन बताउँछन्।
चिकित्सकका अनुसार यो छालाजन्य समस्या भएकाले छालाको बिमिरा तथा घाउको सम्पर्कबाट नै मङ्कीपक्स सर्छ। छालाको सम्पर्क (स्किन टु स्किन क्लोज कन्ट्याक) बाटै यो संक्रमण बढी सरेको देखिएकाले सजक हुन निमित्त निर्देशक डा. ओझाको अनुरोध छ। ‘यौन सम्पर्ककको क्रममा छालाको सम्पर्क हुने भएकाले सर्ने जोखिम हुन्छ,’ उनले भने।
त्यसैले मङ्कीपक्स भाइर संक्रमित व्यक्तिले प्रयोग गरेका वस्तु तुरुन्तै अर्को व्यक्तिले प्रयोग नगर्न चिकित्सकको सुझाव छ।
गुप्ताङ्ग र गुदद्वारमा बिमिरा र घाउ
मङ्कीपक्स भाइरस संक्रमण भएको अवस्थामा रुघाखोकी लाग्ने, ज्वरोका आउने, टाउको दुख्ने, शरीर दुख्ने तथा शरीरका मांशपेशी दुख्ने, लिम्फग्रन्थी सुन्निने, बिमिरा देखिने, संक्रमित व्यक्तिको अनुहार र हात खुट्टाजस्ता अंगमा बिमिरा तथा घाउ हुने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन्।
डा. पुनका अनुसार पछिल्लो समयमा मङ्कीपक्स संक्रमित व्यक्तिको छालामा बिमिरा देखिन सुरु भई अनुहार, हातखुट्टा, गुप्ताङ्ग र गुदद्वार जस्ता अंगमा बिमिरा र घाउ बढी देखिने गरेका छन्। त्यसैगरी मङ्कीपक्स भाइरस संक्रमित व्यक्तिमा ठेउला (चिकनपक्स), भिरिङ्गी (सिफिलिस) सँग मिल्दोजुल्दो लक्षण देखिनेगरेको चिकित्सक बताउँछन्।
सामान्यतया संक्रमण भएको पाँचदेखि २१ दिनसम्ममा लक्षण देखा पर्नसक्ने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार धेरैजसो संक्रमित एक महिनासम्ममा निको भएको पाइन्छ। जुन लामो अवधि भएकाले सर्ने जोखिम बढी हुने डा. ओझाले बताए। उनले भने, ‘लामो संक्रमण अवधि भएकाले समुदायमा पनि जान सक्छ।’
प्रजाति अनुसार मङ्कीपक्स संक्रमित भएका व्यक्तिमध्ये दस प्रतिशतसम्म मृत्युको जोखिम हुनसक्ने चिकित्सक बताउँछन्।
नेपालमा नै परीक्षण, देश भर अलर्ट
मङ्कीपक्स भाइरस संक्रमण यकिन गर्नका लागि संक्रमित व्यक्तिको बिमिरा तथा घाउको नुमनाको पिसिआर परीक्षण गर्नुका साथै स्वास्थ्य जाँच गर्न सकिने चिकित्सक बताउँछन्।
निमित्त निर्देशक डा. ओझाले आवश्यक परे अबदेखि नेपालमा नै मङ्कीपक्स भाइरस परीक्षण गर्न सकिने बताएका छन्। विश्व स्वास्थ्य संगठनले दुई सय जनालाई परीक्षण गर्न पुग्ने रिएजेन्ट दिएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मङ्कीपक्स भाइरस परीक्षण गरिने उनले बताए।
परीक्षणका लागि जनशक्तिलाई पनि तालिम दिइसकेको ओझाले बताए। थप पाँच सय रिएजेन्ट ल्याउनका लागि विश्वस्वास्थ्य संगठनसँग समन्वय भइरहेको डा. ओझाले बताए।
त्यसैगरी त्रिभुवन अन्तर्राष्टिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र स्थल सिमानाकामा समेत यो संक्रमण फैलनबाट बच्न (स्कृनिङ) का लागि अलर्ट गरिएको निमित्त निर्देशक डा. ओझाले जानकारी दिए। दुवै विमानस्थलमा हेल्थ डेस्क छन्।
मङ्कीपक्स भाइरस संक्रमण नियन्त्रणका लागि मेचीदेखि महाकालीसम्मका विभिन्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिइएको डा. ओझाले बताए। त्यसैगरी नेपालका १४ जना छाला तथा यौन रोग विषयका विशेषज्ञ चिकित्सकलाई समेत फोकल पर्सनका रुपमा तोकेर मङ्कीपक्स भाइरसका विषयमा तालिम दिएको तथा छलफल गरिएको उनले जानकारी दिए।
मङ्कीपक्सलाई जनावरबाट सर्ने रोगका रुपमा मानिएको छ। त्यसैले यसलाई जोनोटिक रोग समेत भनिन्छ। साना साना स्तनधारी जनावर र अफ्रिकी मुसालाई मङ्कीपक्स भाइरस संक्रमण फैलाउने स्रोत मानिने डा. पुन बताउँछन्।
ती चिकित्सकलाई आउन सक्ने सम्भावित मङ्कीपक्स भाइरस संक्रमणको स्क्रिनिङ गरी संकास्पद संक्रमितको नमुना परीक्षण्का लागि पठाउने लगायतका विषयमा जानकारी गराइएको पनि उनले बताए।
यसरी बच्न सकिन्छ
मङ्कीपक्सको उपचारको विशेष औषधि नभएकाले लक्षण अनुसारको उपचार विधि अपनाइने चिकित्सक बताउँछन्।
मङ्कीपक्स भाइरस संक्रमण भएको दुई हप्तासम्ममा खोप लगाएको खण्डमा मङ्कीपक्स भाइरस संक्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तन न्यूनीकरण गर्न मद्दत मिल्ने डा. पुन बताउँछन्।
डा. ओझा पनि विश्व बजारमा मङ्कीपक्स भाइरस विरुद्धको खोप आउने क्रममा रहेको बताउँछन्।
चिकित्सकका अनुसार सन् १९८० पछि बिफर (स्मलपक्स) को खोप बन्द भयो। नेपालमा पनि बिफरको खोप लगाइन्थ्यो। त्यसैले सन् १९८० मा बिफर (स्मलपक्स) विरुद्धको खोप लगाएका करिब ८५ प्रतिशत व्यक्ति मङ्कीपक्स भाइरस संक्रमणको जोखिमबाट जोगिनसक्ने विश्व स्वास्थ्य संगठनले भनिरहेको ओझाले जानकारी दिए।
त्यसैले मङ्कीपक्स भाइरस संक्रमणको जोखिमबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन र साफसफाइमा ध्यान दिन चिकित्सकको सुझाव छ। यो भाइरस संक्रमणबाट बच्नका लागि कोठामा बस्दा समेत राम्रोसँग हावा खेल्ने ठाउँमा बस्नुपर्ने हुन्छ।
चिकित्सकको मत अनुसार यो भाइरस संक्रमण भइहालेको खण्डमा संक्रमित व्यक्ति तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति तीन हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। डा. पुन यो भाइरस संक्रमितको उपचारका लागि बिफर विरुद्ध प्रयोग गरिएको एन्टिभाइरल औषधि प्रभावकारी देखिएको बताउँछन्। तर यो औषधि सहज रुपमा पाउन भने कठिन देखिएको उनी बताउँछन्। संक्रमण भएको खण्डमा झोलिलो पदार्थ बढी सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ।
नेपालमा कुनै पनि बेला यो भाइरस संक्रमणको जोखिम हुने भएकाले सजग हुन चिकित्सकको सुझाव छ।
उपचार पद्धतिका लागि पनि गाइडलाइन बनिरहेको निमित्त निर्देशक डा. ओझाले जानकारी दिए।
कोरोना भाइरस संक्रमण जस्तो तीव्र गतिमा मङ्कीपक्स भाइरस संक्रमण फलिएको नदेखिएकाले सजग बन्नुपर्ने तर आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको चिकित्सकको मत देखिन्छ।
यसरी फैलिन सुरु भयो
वैशाख २४ गते (मे ७ तारिक) मा बेलायतको ‘युके हेल्थ सेक्युरिटी’ एजेन्सिले ‘मङ्कीपक्स’ भाइरस संक्रिमत बिरामी देखिएको पुष्टि गरको थियो। त्यसपछि यो भाइरस संक्रमण विभिन्न मुलुकमा फलनेक्रममा छ। जो संक्रमित व्यक्ति अफ्रिकी मुलुक नाइजेरियाको भ्रमण गरेर बेबलायत फर्केको चिकित्सकले बताएका छन्।
महाशाखाका निमित्त निर्देशक डा. ओझा पनि पछिल्लो सन् २०२२ मे देखि पहिले नदेखिएका मुलुकमा मङ्कीपक्स देखिन थालेको बताउँछन्। पछिल्लो समय विश्वका धेरै मुलुकमा यो संक्रमण फैलँदै गएको छ।
मङ्कीपक्स फैलँदै जाँदा यसको प्रकृति हेरेर विश्व स्वास्थ्य संगठनले समेत सन् २०२२ जुलाई २३ मा ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कर्न्सन'0 (स्वास्थ्यको आपतकालीन अवस्था) घोषणा गरेको बताउँदै सचेत हुनुपर्ने डा. ओझाको सुझाव छ।
सन् १९५८ मा पहिलो पटक अनुन्धानका लागि राखिएका बाँदरमा मङ्कीपक्स पत्ता लागेको डा. पुनले बताए। सन् १९७० मा कङ्गोमा समेत मङ्कीपक्स भाइरस संक्रमण देखिएको उनी बताउँछन्।
चिकित्सकको मत अनुसार मङ्कीपक्सलाई बिफर रोग परिवारको सदस्यका रुपमा समेत मानिन्छ। तर सन् १९८० मा नै बिफर उन्मुलनको घोषणा भइसकेको छ। त्यसो त बिफरको तुलनामा मङ्कीपक्स कम घातक भएको मानिएको चिकित्सक बताउँछन्।
मङ्कीपक्सलाई जनावरबाट सर्ने रोगका रुपमा मानिएको छ। त्यसैले यसलाई जोनोटिक रोग समेत भनिन्छ। साना साना स्तनधारी जनावर र अफ्रिकी मुसालाई मङ्कीपक्स भाइरस संक्रमण फैलाउने स्रोत मानिने डा. पुन बताउँछन्।
तर, वास्तविक रुपमा मङ्कीपक्स भाइरस संक्रमणको प्राकृतिक बासस्थान कुन-कुन पशुपक्षी हो भनेर यकिन गरी भन्न मुस्किल पर्ने उनी बताउँछन्।
साउन १८, २०७९ बुधबार ११:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।