स्वास्थ्य सामाग्री खरिदमा राज्यमन्त्री केसीको शङ्कास्पद चासो : स्पष्टीकरण सोध्ने तर छानबिन नगराउने !

काठमाडौँ : स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख प्रमुख डा. सुरेन्द्र चौरासियालाई सचिवालयबाटै पत्र काटेर मन्त्रालयमा हाजिर गराएपछि विवादमा तानिएका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी खरिद सम्झौतामा भएको अनियमितताको छानबिनबाट पछि हटेका छन्। उनले उकेरासँगको कुराकानीमा छानबिन समिति बनाएर के नै हुन्छ र भन्दै आफैँ निगरानी गर्ने बताए।
‘छानिबिन समिति बनेर पनि खासै कति प्रभावकारी काम गरेका छन् त्यो सर्वविदितै छ,' उनले भने' छानबिन समिति नबने पनि मैले आफ्नो तर्फबाट गर्ने काम गरिरहेको छु।’
समिति नै गठन गरेर छानबिन गराउनु र राज्यमन्त्रीले सचिवालय मार्फत बोलाउँदै सोध्दै गर्नुमा पक्कै फरक पर्छ नै। उनले उकेरासँगको कुराकानीमा आफू स्वास्थ्य क्षेत्र सुधार्न आएको दाबी गरिरहे। तर उनको कार्यशैली भने सुधारात्मक मात्र देखिएको थिएन।
खरिदमा संलग्न र निश्चित कम्पनीको फाइदामा काम गर्ने गरेको आरोप लाग्दै आएका कर्मचारीमध्ये कसैलाई मौखिक रूपमा बोलाएर सोध्ने त कसैलाई लिखितै पत्र पठाएर मन्त्रालयमा बोलाउनुले सुधार गर्नेभन्दा स्वास्थ्यको खरिदमा भाग खोजेको आरोप लाग्यो।
यहाँले कमिसनको भाग नपाएर कर्मचारीलाई ठाडो आदेशमा स्पष्टीकरण सोधेको देखियो नि भन्ने जिज्ञासामा उनले भने,‘त्यो गलत कुरा हो। मलाई भाग चाहिएकै छैन। मलाई त्यो (भाग) सँग मतलब नै छैन। म भाग पाउने विषयमा प्रवेश नै गरेको छैन। केही न केही सुधार्नुपर्छ भन्ने लक्ष हो मेरो।'
शङ्कास्पद खरिद सम्झौताको छानबिन नगराउने केवल निगरानी मात्र राख्ने उनको स्वीकारोक्तिले केवल सुधारको प्रक्रियामा मात्रै खरिदका मात्रै कर्मचारीलाई टार्गेट गरिएको हो भन्ने देखिएन।
सुधार मात्र लक्ष्य हो भने उनले सो काम स्वास्थ्य सचिवमार्फत समेत गराउन सक्थे। तर उनले पत्र कटाउने र हस्ताक्षर गराउने काम आफ्नो निजी सचिवालय र निजी सचिवलाई लगाए।
मन्त्रालयको कुनै काममा शङ्का भए सचिवमार्फत छानबिन गराउन सक्छन्। तर त्यतातिर उनलाई चासो देखिएन। सचिवलाई नभनेर आफैँ स्पष्टीकरण सोध्ने कामको बचाऊ गर्दै उनले भने' अनियमितता लगायतका विषयमा सामान्य नागरिकलाई त सोध्ने अधिकार छ। म त कुर्सीमा भएकाले ठाडो आदेशमा मन्त्रालय मातहतका जोसुकै कर्मचारीलाई पनि स्पष्टीकरण सोध्न सक्छु।'
राज्यमन्त्री केसीले‘जो सुकै भए पनि मन्त्रालय भित्र काम गर्ने सबैलाई (स्पष्टीकरण) सोध्ने आफ्नो कर्तव्य र अधिकार रहेको र जति बेला पनि सोध्न सक्ने बताए।
के हो घटना ?
उनले मिलेमतोमा निश्चित कम्पनीलाई टेन्डर पारेको, सरुवामा पनि घुस मागेको लगायतका आरोप लगाउँदै आपूर्तिका चौरासियालाई साउन १० मा मन्त्रालयमा हाजिर हुन पत्र पठाए सचिवालयमार्फत। चौरासिया हाजिर पनि भए।
पत्रमा उनले मेडिकल सामाग्री खरिद गर्दा २ कम्पनीसँग मिलेमतो नै गरेको भन्दै पत्रमै नाम तोकेका थिए। पत्रमा लुम्बिनी हेल्थ केयर र हस्पिटेक प्रालीको नाम उल्लेख गरेका थिए।
त्यसपछि विभागले खरिद सम्झौता भएको ४१ कम्पनीको नाम र सम्झौता रकमको विवरण सार्वजनिक गरेको थियो।
आपूर्ति शाखाका प्रमुख डा. चौरासिया मन्त्रालयमा आएर स्पष्टीकरण पनि दिएका थिए।
जवाफमा डा. चौरासियाले मिडियामा आएजस्तो ठुलो रकमको खरिद गरेको नभई करिब दुई अर्बको खरिद भएको तथ्याङ्क प्रस्तुत गरेको राज्यमन्त्री केसीले बताए।
आफूले करिब १० अर्बको खरिद भएको होला भन्ठानेको तर त्यो भन्दा कम रकमको खरिद भएको जवाफ आएको उनले बताए।
उनले भने,‘उहाँ (डा. चौरासिया)ले दश अर्बको हुँदै हैन। हामीले काम गरेको करिब दुई अर्बको हो भनेर तथ्यांकसहित आउनुभयो। राम्रै जवाफ दिनु भएको छ।’
उकेरालाई प्राप्त तथ्याङ्क अनुसार साउन १२ गते व्यवस्थापन महाशाखा निर्देशक डा. रुद्र प्रसाद मरासिनिले राज्यमन्त्री केसीलाई खरिद विवरणसम्बन्धी जवाफ पठाएका थिए।
डा. मरासिनीले मन्त्री केसीलाई पठाएको विवरणमा आर्थिक वर्ष ०७८-०८९ मा एक अर्ब ९३ करोड रकम बराबरको खरिद सम्झौता भएको उल्लेख छ।
त्यसै गरी ४१ वटा फरक फर्महरूसँग ५७ वटा खरिद क्रियाकलापका सम्झौता गरिएको व्यवस्थापन महाशाखाका निर्देशक डा. मरासिनिले राज्यमन्त्रीलाई पठाएको पत्रमा उल्लेख छ।
राज्यमन्त्री केसीले खरिद लगायत अनियमितताको विषयमा कुनै विषय उठे चासोका साथ बाहिर जनताले बुझ्ने गरी ल्याउन चाहेको दाबी गरे।
तर, अनियमितताको विषयमा चासो र सक्रियताका लागि पूर्ण अधिकार र वातावरण भने नबनेको उनले सुनाए। ‘अलि वातावरण बनेन। यसका निम्ति फुल अथोरिटीचाहीं आवश्यक रहेछ,’राज्यमन्त्री केसीले भने।
डा. रुद्रलाई नि सोधेका थिए स्पष्टीकरण
डा चौरासियालाई उनले लिखित रूपमा मन्त्रालयमा बोलाएकाले बाहिर सार्वजनिक भयो। तर त्यो भन्दा अगाडि नै उनले खरिदसँगै जोडिएका महाशाखाकै निर्देशक डा. मरासिनीसँग महाशाखाबाट हुने खरिद लगायतको अनियमितताको विषयमा मौखिक स्पट करण सोधेका थिए।
राज्यमन्त्री केसीले त्यो स्विकारे पनि। मरासिनीसँग स्पष्टीकरण लिँदा उनले त्यस्तो समस्या नभएको जवाफ दिएको मन्त्री केसीले बताए।
‘व्यवस्थापन प्रमुखसँग अलि पहिला कुरा गरेको थिएँ। त्यहाँको सम्बन्धमा के छ? बाहिर यस्तो (अनियमितता) को कुरा चलिरहेको छ भनेर सोधेको थिएँ,’ मन्त्री केसीले भने,‘उहाँ (डा. रुद्र)ले त्यस्तो केही छैन। जति बेला बेलाए पनि हाम्रोतर्फबाट जवाफ दिन्छौँ भन्नुभयो।’
साउन १७, २०७९ मंगलबार २२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।