लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने अनुमति खारेज

लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने अनुमति खारेज

बुटवल : लुम्बिनी विकास कोषले लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न भनी यसअघि दिएको अनुमति खारेज गरेको छ।

लुम्बिनी विकास कोष परिषद्को आज बसेको बैठकले लुम्बिनी विकास कोषभित्र गुरुयोजना विपरीत रिसोर्ट सञ्चालनका लागि जग्गा दिने अनुमति खारेज गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो।

लुम्बिनी विकास कोषले गुरूयोजना विपरीत ‘क्याम्पेन ग्राउन्ड’मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न यसअघि अनुमति दिएको हो।

त्यस्तै परिषद्को बैठकले नोभेम्बरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय पनि गरेको छ। साथै लुम्बिनीलाई प्राप्त भएका विद्युतीय गाडीहरु पर्यटकहरुको सुविधा लागि सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि रणनीतिक मनोनय दस्तावेज तयार गर्नका लागि अन्तर्राष्ट्रिय विज्ञ डङन मार्स, अस्ट्रेलियालाई छनोट गर्ने निर्णय पनि गरेको छ।

कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले कोषको परिषद् बैठकले लुम्बिनी गुरूयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको बताए।

साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरूयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने उनको भनाइ छ। 

साउन १७, २०७९ मंगलबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।