कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी मिलाएर पुरातात्विक सहर बनाउने राष्ट्रिय जनमोर्चाको अभियान

कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी मिलाएर पुरातात्विक सहर बनाउने राष्ट्रिय जनमोर्चाको अभियान

बुटवल : राष्ट्रिय जनमोर्चाले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बौद्ध पुरातात्विक महत्वका स्थानहरुलाई मिलाएर पुरातात्विक सहरको निर्माणका लागि अभियान चलाउने निर्णय गरेको छ।

कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा बौद्धकालदेखि नै कयौं प्राचीन सम्यता रहेको भन्दै पुरातात्विक सहर निर्माण गर्ने अभियान जनमोर्चाले चलाएको हो।

बुटवलमा मंगलबार बौद्ध पुरातात्विक सहर निर्माण अभियानबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विश्वका बौद्धिष्टहरुका लागि आर्कषण केन्द्र बनाउन यो अभियानको सञ्चालन गरिएको बताए।

यो कुनै पनि धर्मसँग नजोडिएको स्पष्ट पार्दै उनले बौद्ध पुरातात्विक सहरको यी तीन जिल्लामा विकास भए पर्यटनको माध्यमबाट आर्थिक विकास र समृद्ध हासिल गर्न सकिने बताए।

कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न स्थानहरुको पुरातात्विक अन्वेषण र संरक्षण गरे ऐतिहासिक ठाउँहरुलाई मिलाएर बौद्ध सम्यताको एउटा विशाल सहर निर्माण हुने उनको भनाइ छ।

अभियान कार्यदलका संयोजक बद्री आलमले अहिले पनि कपिलवस्तुमा १३५, रुपन्देहीमा ९९ र नवलपरासीका ४० वटा पुरातात्विक स्थलहरु रहेको र यिनीहरुको अन्वेषण र संरक्षण नभएको भन्दै यी सबै उत्खनन गर्दै पुरातात्विक सहरको रुपमा विकास गर्न सकिने बताए।

त्यस्तै संस्कृतविद् डा. गितु गिरीले १८९५ देखि नेपालमा उत्खनन सुरु हुन थाले पनि अझै ती पुरातात्विक सम्पदाको संरक्षण हुन नसकेको बताए।

साउन १७, २०७९ मंगलबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।