एकीकृत समाजवादीसँग एकता गर्ने गरी एमालेले छलफल गरिरहेको बामदेवको दाबी
बुटवल : नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीसँग एकता गर्ने र माओवादीसँग कार्यगत एकता हुनेगरी छलफल गरिरहेको दाबी गरेका छन्।
भैरहवामा सञ्चारकर्मी सँग कुरा गर्दै गौतमले यस्तो दाबी गरेका हुन्। उनले सधैँ कम्युनिस्ट कांग्रेससंग मिलेर जाने, गठबन्धन गरिरहने, सरकारमा पनि सँगै गइरहने हो भने कांग्रेस र कम्युनिस्टका बिचमा कुनै फरक नरहने बताए।
उनले आफू सकेसम्म एमाले बाहेकको पार्टी एकता गर्ने नभए एकीकृत समाजवादी र माओवादीसँग मोर्चा बनाउने पक्षमा रहेको खुलाए। मोर्चा नबने एक्लै भए पनि आगामी सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने उनको भनाई थियो।
कुनै पनि ठाउँमा आफ्नो पार्टीले विजयी हासिल नगरे पनि चुनावमा भाग लिने भन्दै उनले बाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको उनको भनाई छ।
‘निर्वाचन अघि नै पाटी एकता हुनुपर्ने गरी लागेका छौ। एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी निर्वाचन अघि नै एकता गराउने अन्यथा एउटै पार्टीमा बस्न नसके कार्यगत एकता गर्ने त्यसो पनि नभए एकीकृत समाजवादी र माओवादीसँग सहकार्य गरेर नेपाली कांग्रेस सहितको गठबन्धनमा सहभागी हुनेछ।’ उनले भने।
उनले बहुदलीय प्रतिस्पर्धामा चुनाव हार्न पनि तयार हुनुपर्ने तर्क गर्दै भने' ‘बहुदलीय प्रतिस्पर्धाको सैद्धान्तिक अडानमा चुनाव हार्न पनि तयार हुनुपर्छ। पार्टी कहिले प्रतिपक्ष त कहिले सत्तापक्षमा बस्नु सैद्धान्तिक अडान हो।’
उनका अनुसार पार्टीले ५ र १० बर्से कार्य योजना बनाएको दाबी गरे। पार्टीले विकासको कामलाई महत्त्वका साथ अगाडि बढाउने र ५ वर्षमा कृषि र उद्योगलाई आत्मनिर्भर बनाउने गरी पार्टी लाग्ने उनको दाबी थियो।
नेता गौतमले अर्थमन्त्री जनार्दन शर्मा बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपबारे आफू सत प्रतिशत ढुक्क नभएको बताए। साथै एमालेले अर्थ विभागमा नाम राखेका एम अधिकारीका विषयमा पनि व्यक्ति आफैले होइन भनेपछि यसलाई जबरजस्ती विषय तन्काउनुपर्ने कुनै कारण नरहेको बताए।
साउन १७, २०७९ मंगलबार १५:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।