सीआईएको ड्रोन हमलामा मारिए अल कायदाका प्रमुख

सीआईएको ड्रोन हमलामा मारिए अल कायदाका प्रमुख
ओसामा विन लादेन र अल जवाहिरी (दाहिनेतर्फ)

एजेन्सीः अमेरिकी ड्रोन हमलामा अल कायदाका प्रमुख नेता मारिएका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको आतंकवादीविरुद्धको कारबाही हमलामा अल कायदाका प्रमुख नेता अल जवाहिरी मारिएका हुन्।

जवाहिरी आइतबार अफगानिस्तानको राजधानी काबुलमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन्। ‘जवाहिरीले अमेरिकी नागरिकविरुद्ध हत्या र हिंसाको बाटो कोरेका थिए’ बाइडेनले भने, ‘संसारमा तरंग ल्याउने गरी विध्वंश मच्चाउने अब यी आतंकवादी नेता जीवित छैनन्। उनको मृत्युले न्याय मिलेको छ।’

७१ वर्षीय अल कायदाका नेताविरुद्ध योजनाबद्ध हमलाको लागि अन्तिम स्वीकृति दिएको बाइडेनले बताएका छन्।

काबुलस्थित 'सेफ हाउस'मा कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनमार्फत दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार जवाहिरी आफ्ना अन्य परिवारका सदस्यसँगै भए पनि उनीहरूलाई कुनै क्षति पुगेको छैन।

सन् २०११ सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना ओसामा विन लादेन र जवाहिरीले बनाएका थिए। विन लादेन मारिएपछि जवाहिरीले अल कायदाको नेतृत्त्व लिएका थिए। त्यसपछि अमेरिकाले जवाहिरीलाई कुख्यात आतंकवादीको सूचीमा राख्दै खोजी जारी गरेको थियो।

साउन १७, २०७९ मंगलबार १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।