साउनमा शिवजीको ब्यङग्य गर्दा सङ्कटमा परे माग्ने बुढा, माफी माग्दै ट्रेलर हटाए
काठमाडौँ : ढङ्ग पूर्याएर सटाएर गर्न सके कला। भद्दा भए कलाको काल। ब्यङग्य विधाको जोखिमै यही त हो। कमेडी हबले साउनको महिना पारेर हिन्दुहरूले आस्था राख्ने शिव भगवान्माथि भद्दा व्यङ्ग्य गर्दा त्यो कला हैन झन्डै कमेडी हबको काल बनेको थियो।
कार्यक्रम निर्देशक हुन् हास्य कलाकार केदार घिमिरे। कार्यक्रम प्रसारण हुनु अगाडि नै हिट गराउन ट्रेलरमै महादेवको दृश्य राखेर प्रचार गरियो। साउनमा सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै जसको व्रत बसिरहेको हो उही टेलिभिजनको पर्दामा गसिपको पात्र बनिरहेको सहन सकेनन् धर्मावलम्बीहरूले। अनि विरोध सुरु भयो।
आइतबार युट्युबमा सार्वजनिक भएको भिडियोमा महादेव बनेका चरित्र र कमेडियन सीता न्यौपानेबिचको संवादमा दर्शकले आपत्ति जनाएका थिए।
ट्रेलरमा भगवान् शिवजी युवतीसँग मस्किएको र टिकटक बनाउने भनेपछि रोमान्टिक बनेको दृश्य थियो। महादेव बनेका कलाकारको प्रस्तुति अशोभनीय भएको भन्दै विरोध सुरु भयो।
आलोचनाको रफ्तार बढ्दै गयो। बेलैमा कान समातेर उठबस नगरे आलोचना थेग्न नसकेर कार्यक्रमै बन्द पो गर्नुपर्ने हो कि भनेर निर्देशक घिमिरेले अनजानमा आफूहरूबाट चोट पुगेकोमा गल्ती स्विकार्दै कमेडी हबमा रहेको महादेवसम्बन्धी दृश्य हटाएको जानकारी गराए।
सोमवार फेसबुकमार्फत उनले निर्माण टिमको तर्फबाट अनजानमा गल्ती भएको स्वीकार गर्दै आफ्नो धारण राखे। उनले लेखेका छन्, ‘हामीले मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेब महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ। अनजानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरू समक्ष हामी क्षमा माग्दछौ। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरूको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैबाट हटाइसकेका छौँ’।'
उनको माफिनामापछि शिवभक्त मौन बस्छन् कि माग्नेलाई कस्छन् हेरौँ।
साउन १७, २०७९ मंगलबार ११:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।