आमा बनेपछि अभिनयमा फर्कँदै अभिनेत्री प्रीयंका कार्की, पुरानै क्रेज फर्किएला उनको !
काठमाडौँ : पहिलो विवाह चाँडै नै डिभोर्समा बदलियो अभिनेत्री प्रियङ्काको। त्यसैले उनको अभिनय यात्रामा त्यसको नकारात्मक छाया त्यत्ति परेन। सङ्ख्यात्मक रूपमा मात्र आयुष्मान् देशराजसँगको विवाह दोस्रो देखियो। पारिवारिक खुसी र मातृत्वको आधारमा यो पहिलो विवाह बराबरै त छ।
प्रियङ्का अमेरिकामा बस्दा गरेको विवाहको निर्णय सच्याउँदै अभिनयमा सक्रिय भइन्। चर्चाको हिसाबले उनी पहिलो नम्बरमै रहिन् भन्दा फरक पर्दैन। तर अभिनय अनि अभिनय गरेको फिल्मको व्यापारका हिसाबमा छक्कापञ्जा बाहेक कमै सफल चलचित्र पर्यो उनको भागमा।
फिल्म फ्लप भए पनि त्यसको असर उनको करिअरमा देखिएन। बजारमा उनको चार्म राम्रै भएकाले उनीसँग सम्झौता गर्न चाहने निर्माताहरूको सङ्ख्या घटेन।
विवाहपछि स्थापित अभिनेत्रीहरूको बजार पनि खस्कन्छ। केही अपवाद छाड्ने हो भने नेपालमा पनि त्यही त देखिएको छ। अधिकांश अभिनेत्रीहरूले जब विवाह गर्छन् नि उनीहरूको पारिवारिक जीवनको खुसी त उकालो लाग्छ तर क्रेज भने घटेको देखिन्छ। अपवादमा नेपालमा रेखा थापालाई लिन सकिन्छ जसको फिल्मी यात्राको ग्राफ विवाहसँगै उकालिएको थियो।
विवाह मात्रै हैन अभिनेत्री एक सन्तानकी आमा समेत भइसकिन् यो बिचमा। सुत्केरीको अवस्थामा तौल बढेर ममी फिगरमा पुगेपछि उनी अहिले वर्कआउटमा व्यस्त छिन् पुरानै फिगरमा फर्कन। यहीबिचमा उनले नयाँ फिल्म समेत पाएकी छिन् दयाहाङ राईसँग अभिनय गर्ने गरी।
निर्देशक चल्तीका निर्देशक रामबाबु गुरुङ रहेको फिल्मको नाम फूलबारी भएको बताइएको छ। अर्को रोचक कुरा फिल्ममा अर्का अभिनेता विपिन कार्की दयाहाङको बाबुको भूमिकामा देखिँदै छन्। भनेपछि प्रीयंका उनको बुहारी बन्दैछिन्।
उनलाई वैवाहिक यात्रा फापेको छ। उनी आमा पनि बनिन्। अब आमा बनेपछिको अभिनय यात्रा कस्तो हुन्छ भन्ने त फूलबारीको बक्स अफिस र उनको अभिनयले नै निर्धारण गर्ने त होला।
साउन १६, २०७९ सोमबार २३:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।