शरीरभरि नीलडाम बोकेर उपप्रमुखकी बुहारी पुगिन् प्रहरी कार्यालय, श्रीमान् विरुद्ध उजुरी
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीकी बुहारीले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। उपप्रमुख चौधरीकी २५ वर्षीय बुहारी वर्षा थारुले आफू परिवारबाट घरेलु हिंसामा परेको भन्दै इलाका प्रहरी कार्यालय मङ्गलमा उजुरी दिएकी हुन्।
उनले उजुरीमा श्रीमान् मोहन थारुबाट दैनिक कुटपिट हुने, गाली बेईजती गर्ने गरेको उल्लेख गरेकी छिन्। वर्षाले श्रीमान् मोहनले दैनिक रूपमा लागु पदार्थ सेवन गर्ने र आफूमाथि हिंसा गरेको प्रहरी सामु बताएकी छिन्।
मङ्गलवारमा उजुरी परेपछि मंगलबापुरले सो उजुरी बुटवलको इलाका प्रहरी कार्यालयलाई पठाएको छ। इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले उजुरीबारे थप अनुसन्धानका लागि बुटवल पठाइएको बताए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले वर्षाको उजुरीपछि छलफलका लागि वर्षाका श्रीमानलाई बोलाए पनि उनी उपस्थित नभएको बताए। यसबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ।
वर्षाको शरीरमा कुटपिट गरेको नीलडाम समेत छ। उनको खुट्टा, घाँटी, गालामा नीलडाम देखिएको छ।
‘श्रीमानले मानसिक तनाव दिँदा घरका सासू ससुराले समेतले बेवास्ता गरेपछि प्रहरी सामु उजुरी दिएकी हुँ । मलाई न्याय चाहिन्छ’ उनले भनिन्।
गाडी चलाउने काम गर्ने मोहनले आफूलाई घर खर्च नदिने गरेको र बच्चाको लालन पालनमा समेत समस्या भोगेको उनको भनाई छ। वर्षाका अनुसार पछिल्लो पटक मोहनले आइतबार कुटपिट गरेका थिए। त्यसपछि मात्र उनले प्रहरी कार्यालयमा उजुरी दिएको देखियो।
बुहारीमाथि घरेलु हिंसा भएकोबारे उपप्रमुख जागेश्वरीदेवी चौधरीले कोही बोलेकी छैनन्। श्रीमान् मोहन सम्पर्कविहीन छन्।
साउन १६, २०७९ सोमबार २२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।