कलिला मुटुको उपचार गर्ने डा. मनिष जसलाई वयस्कको मुटु खेल मैदानजस्तै ठुलो लाग्छ

कलिला मुटुको उपचार गर्ने डा. मनिष जसलाई वयस्कको मुटु खेल मैदानजस्तै ठुलो लाग्छ
तस्बिर : कृष्पा श्रेष्ठ

थोरै बाल मुटु रोग विशेषज्ञ मध्येमा पर्छन् डा. मनिष श्रेष्ठ। डा. मनिषलाई याद भएसम्म नेपालमा बाल मुटु रोग विशेषज्ञको सङ्ख्या एक दर्जन पनि पुग्न सकेको छैन। त्यही दुर्लभ सङ्ख्यामा पर्छन् उनी पनि।

त्यसमा पनि उनी शल्यक्रिया नगरी तारको माध्यमबाट बालबालिकाको मुटुको समस्याको उपचार गर्ने चिकित्सक हुन्। कहिलेकाहीँ डा. मनिष वयस्कको मुटुको उपचारमा पनि संलग्न हुन्छन्।

तर अधिकांश समय उनी कलिला मुटु नै हेर्छन्। कलिला मुटु, सानो अनि साँघुरो हुने भइहाल्यो। त्यही सानो र साँघुरो मुटुको उपचार गरिरहेका उनी जब वयस्क व्यक्तिको मुटुको उपचारमा संलग्न हुन्छन् उनलाई खेल मैदान जस्तै ठुलो लाग्ने रहेछ।

डा. मनिष भन्छन् 'बालबालिकाको मुटुको तुलनामा वयस्कको मुटु त खेल मैदान जस्तै हो। फराकिलो ठाउँ हुन्छ। जहाँ उपचारका क्रममा खेल्न पनि सजिलो हुन्छ।'

वयस्क व्यक्तिको नसा पनि ठुलै हुन्छ अनि मुटु पनि ठुलै। जसले गर्दा उपचारात्मक दृष्टिले वयस्क व्यक्तिको मुटुको उपचार गर्दा खुल्ला ठाउँमा औजार चलाएजस्तै लाग्ने रहेछ।

बच्चाको शरीरमा नसा सानै हुने भए। जसले गर्दा मुटुमा तार छिराएर उपचार गर्दा तार छिराउने बाटोको नसा च्यापिनेलगायतको डर हुने रहेछ। खुट्टाको नसामा क्षति हुने डर पनि उत्तिकै हुने रहेछ।

'सबै उपचारमा चिकित्सक संवेदनशील हुन्छन् नै। तर तार छिराएर बच्चाको मुटुको उपचार गर्दा थप संवेदनशील हुनै पर्छ,' उनले भने' नसा पनि सानो र कलिलो हुन्छ। मुटु पनि उस्तै सानो र कलिलो हुने भएकाले वयस्कको उपचारमा भन्दा थप जोखिम हुन्छ।'

तारको माध्यमबाट मुटुको उपचार गर्दा सामान्यतया वयस्कलाई पूर्ण रूपमा बेहोस बनाउनु नपरे पनि बच्चालाई बेहोस बनाउनै पर्छ। बेहोस बनाउँदा कहिलेकाहीँ साइड इफेक्टको पनि जोखिम हुन्छ। जसले बच्चामा स्वास्थ्य जटिलता निम्तने जोखिम पनि उत्तिकै रहन्छ। शल्यक्रियामा त झन् बढी जोखिम हुने नै भयो।

उपचारका क्रममा बालबालिकाको सानो मुटु चलाउनुपर्दा मुटुको चाल गडबड होला कि भन्ने डर पनि उत्तिकै हुने रहेछ। तर उपचार त गर्नै पर्छ जुन उमेरका आए पनि।

बच्चाको मुटुको प्वाल खोल्दा तार नै छिरेन

बच्चाको मुटुको उपचार गर्दाको संवेदनशीलताको यस्तै एउटा प्रसङ्ग सुनाए डा. मनिषले।

करिब दुई वर्ष अघिको प्रसङ्ग हो। ६ महिना भन्दा कम उमेरको बच्चाको दायाँपट्टिको मुटुको भाग साँघुरो भएकाले प्वाल खोल्नुपर्ने भयो। ती बच्चालाई औषधि दिएर डा. मनिषको टिमले घाँटीको नसाबाट तार छिराएर मुटुको भल्भसम्म पुर्याउने प्रयास गर्यो।

तार छिराउने कोसिस गर्दागर्दै बच्चालाई बेहोस बनाएको समय लामो भयो। एक्स–रेको मात्रा पनि निर्धारित भन्दा बढी हुने अवस्था निम्तियो।

निक्कै मेहनत गर्दा पनि मुटुको भल्भसम्म तार छिराएर प्वाल खोल्न सम्भव भएन। त्यसपछि बच्चालाई नकारात्मक असर हुने भयले त्यो दिनको उपचार नै स्थगित गर्यो टिमले।

अर्को दिन समस्या दोहोरिएन। उपचार भयो। दुई दिनपछि खुट्टाको नसाबाट तार छिराएर खोल्दा भने दश मिनेटमा नै मुटुको प्वाल खोल्न सम्भव भएको उनले सुनाए।

मुटुको ढोका साँघुरिएर प्वाल बन्द भए खोल्नुपर्ने हुन्छ। सो प्वाल तारको माध्यमले खुलाउनुपर्ने हुन्छ। तार छिर्न सहज होस् भनेर औषधि दिँदै हेर्नुपर्ने हुन्छ। बच्चालाई बेहोस बनाइएको हुन्छ। तर, लामो समयसम्म बेहोस बनाउन मिल्दैन। एक्स–रे पनि धेरै बेर गर्न नमिल्ने उनले सुनाए। औषधि पनि धेरै मात्रामा दिन मिल्दैन रे।

उपचारका लागि लामो समय लाग्ने अवस्थामा औषधिले साइड इफेक्ट गर्ने भय हुनाले बिचैमा उपचार स्थगित गरेर अर्को दिनलाई उपचार सानुपर्ने अवस्था आउने गरेको उनले सुनाए।

आठ दिनको शिशु नबाँचेको त्यो क्षण

त्यसो त उपचारमा शतप्रतिशत सफलता मिल्छ भन्ने हुन्न। सबै उपाय लगाउँदा पनि उपचार सफल नहुन सक्छ। कतिपय बालबालिकाको मृत्यु भएको डा. मनिषले नजिकबाट हेरेका छन्।

भर्खर जन्मिएका बच्चाको उपचारमा अझ बढी जोखिम हुने उनले सुनाए। नवजात शिशुमा चाँडै सङ्क्रमण हुनसक्ने जोखिम पनि हुन्छ।

करिब नौ महिना अघिको यस्तै एउटा घटना सुनाए डा. मनिषले। करिब आठ दिनको शिशुलाई उपचारका लागि गङ्गालाल अस्पताल लगिएको थियो। शिशुको शरीर नै निलो भइसकेको थियो।

स्वास्थ्य जाँचको क्रममा ती शिशुको मुटुबाट फोक्सोमा रक्तसञ्चार हुने धमनीको बाटो बन्द भएको खुल्यो। बन्द भएको सो ठाउँमा जाली राखेर डा. मनिषको टिमले प्वाल खोल्यो। जाली राखेको केही दिनसम्म त शिशुको स्वास्थ्य राम्रै थियो। तर, आइसियुमा राख्दा राख्दै सङ्क्रमण भयो।

अथक प्रयास गर्दा पनि शिशुलाई बचाउन सम्भव भएन। आइसियुमा राख्दाराख्दै ती शिशुको मृत्यु भयो। त्यो घटनाले डा. मनिषको मन भारी भयो। शिशु नबाँचेको त्यो घटना सम्झँदा अहिले पनि डा. मनिषको मन गह्रौँ हुन्छ।

छनोटमा बाल रोग विषय

काठमाडौँको नक्सालस्थित भाटभटेनीमार्गमा २०३८ मा जन्मिएका मनिषले एमबिबिएस अध्ययनका लागि सन् २००१ मा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा भर्ना भए। सन् २००६ मा उनको एमबिबिएस पूरा भयो।

एमबिबिएसपछि डा. मनिषले एक वर्ष शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मेडिकल अधिकृत भई करार जागिरेका रूपमा काम गरे।

बालबालिकासँग घुलमिल हुन मन पराउने उनलाई बालबालिकाको उपचारमा काम गर्न मन लाग्थ्यो। त्यसैले त डा. मनिषले चिकित्सा शास्त्र अध्ययन संस्थानमा स्नातकोत्तर तहको पेडियाट्रिक (बाल रोग) विषयमा नै एमडी अध्ययन थाले। उनले सन् २००८ एमडी अध्ययन थाले र सन् २०११ मा पूरा भयो।

एमडी अध्ययनपछि उनले पुनः गङ्गालाल अस्पतालमा नै काम गर्न थाले। त्यहाँ पेडियाट्रिक कार्डियोलोजी युनिटमा रजिस्ट्रार पदको करार जागिरेको रूपमा काम गर्न थाले उनले।

त्यो बेला गङ्गालालको पेडियाट्रिक कार्डियोलोजी युनिटमा पेडियाट्रिक कार्डियोलोजीष्ट डा. उर्मिला शाक्य युनिट इन्चार्ज थिइन्। सो युनिटमा एक जना मेडिकल अधिकृतले काम गरिरहेका थिए। डा. मनिष पनि सो युनिटमा थपिएपछि युनिटमा तीन जना भए। अहिले पेडियाट्रिक कार्डियोलोजी युनिट विभागमा परिणत भएको छ।

गङ्गालालमा काम गर्न थालेको एक वर्षपछि सन् २०१२ मा डा. मनिष स्थायी भए।

शल्यक्रिया नगरी तार छिराएर मुटुको उपचार

गङ्गालालमा बालबालिकाको मुटुको उपचार शल्यक्रिया विधिबाट गरेको उनले नजिकबाट देखेका थिए। शल्यक्रिया विना नै तारको माध्यमबाट मुटुको उपचार गर्ने विधिको ज्ञान तथा सीप सिक्न उनलाई इच्छा भयो।

नभन्दै उनले शल्यक्रिया नगरी बालबालिकाको मुटुमा भएको समस्या नसा हुँदै तारको माध्यमबाट उपचार गर्ने विधि सिक्ने अवसर पाए।

त्यही ज्ञान तथा सिपका लागि डा. मनिष सन् २०१४ मा थाइल्यान्डको बैंकक पुगे। उनले त्यहाँको ‘क्विन सिरीकिट नेश्नल इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’मा पेडियाट्रिक कार्डियोलोजी विषयमा दुई वर्षे फेलोसिप पाए, जहाँ उनले बालबालिकाको मुटुमा भएका समस्या शल्यक्रिया नगरी उपचार गरिने विधिको ज्ञान तथा सिप सिके।

यस विधिमा शल्यक्रिया नगरी विशेष किसिमको तार नसाबाट मुटुसम्म पुर्याएर मुटुमा भएको समस्या समाधान गरिन्छ। विशेष गरी खुट्टाको नसाबाट मुटुसम्म तार लगिने र कहिलेकाहीँ हातका नसाबाट समेत तार लगेर मुटुको उपचार गरिने गरेको डा. मनिषले सुनाए।

यस्तो विधिलाई चिकित्सकीय भाषामा ‘ट्रान्स क्याथेटर इन्टरभेन्सन’ भनिन्छ। यसरी मुटुको उपचार गर्दा शल्यक्रिया गरेर घाउ बनाउनु पर्दैन।

थाइल्यान्डको सिप गङ्गालालमा

थाइल्यान्डबाट सन् २०१६ मा फर्केपछि नै गङ्गालालमा शल्यक्रिया नगरी तारको माध्यमबाट डा. मनिषले विना शल्यक्रिया तार छिराएर बालबालिकाको मुटुको नियमित उपचार गर्ने विधिको सुरुवात भएको रहेछ। त्यो  पनि  बाल मुटु रोग विशेषज्ञबाटै।

डा. मनिष थाइल्यान्डमा यो विषयको अध्ययन गरेर फर्कनु पूर्व तारको सहायताले मुटुको प्वाल बन्द गर्ने र खोल्ने शल्यक्रिया फाट्टफुट्ट मात्रै हुने गरेको रहेछ।

वयस्क व्यक्तिको उपचार गर्ने मुटु रोग विशेषज्ञले तारको माध्यमबाट पनि यस्तो उपचार गर्ने गरेका थिए। मुटुमा भएको प्वाल टाल्ने तथा खोल्ने जस्ता समस्याको अधिकांश उपचार शल्यक्रिया विधिबाटै गरिन्थ्यो। तर बालबालिकामा जन्मजातरुपमा मुटुको तल्लोपट्टि कोठामा भएको प्वाल  (भेन्ट्रिकुलर सेप्टल डिफेक्टरभीएसडी) को समस्या तारको माध्यमबाट उपचार हुँदैनथ्यो।

धेरै सानो बच्चाको त गङ्गालालमा यस्तो उपचार नै हुँदैनथ्यो रे। अहिले भने भर्खर जन्मेको बच्चाको पनि तारको माध्यमबाट मुटुको उपचार गर्ने गरेको उनले सुनाए। गङ्गालालमा बर्सेनि करिब अढाई सय बालबालिकाको तारको माध्यमबाट मुटुको उपचार गरिने उनले सुनाए।

तीन दिने शिशुको मुटुमा जाली हालेर बचाएको त्यो क्षण

करिब दुई वर्ष अघि तीन दिने शिशुको समेत तारको माध्यमेबाट मुटुको उपचार गरेको डा. मनिष सम्झन्छन्। उनले तारको माध्यमबाट उपचार गरेकामध्ये ती शिशु सबैभन्दा कम उमेरका हुन्।

मुटुको चार ढोकामध्ये ती शिशुको दायाँपट्टीको बाटोबाट फोक्सोमा जाने धमनीको बाटो नै बन्द थियो। जुन बाटोलाई चिकित्सकीय भाषामा पल्मोनरी भल्भ भनिन्छ।

ती शिशुको मुटुबाट फोक्सोमा रक्त प्रवाह हुने त्यो (धमनी) बाटो नै बन्द थियो। जसले गर्दा ती शिशुलाई श्वासप्रश्वासमा नै समस्या परिसकेको थियो। अक्सिजनको मात्रा नै कम भइसकेको थियो।

यस्तो अवस्थामा मुटु र फोक्सोबिच जोडिएको धमनीको बिचमा भएको प्वाल (पिडिए) ले बच्चा बाँच्ने उनले सुनाए। नत्र बच्चाको मृत्यु हुन्छ। तर त्यो बन्द हुने प्वाल भएकाले कुनै पनि बेला बन्द हुन सक्छ। त्यसैले शल्यक्रिया नगरुन्जेल अस्थायी कामका लागि तारको माध्यमले धमनीमा जाली हालेर बच्चा बचाउने गरेको उनले सुनाए। उपचार गरी मुटुबाट फोक्सोमा रक्त प्रवाह हुने बाटो बनाइन्छ।

ती शिशुको पनि तार मुटुको प्वालसम्म पुर्याएर जाली राखेर बचाएको उनले सुनाए। त्यसपछि बिस्तारै शिशुको श्वासप्रश्वास सहज भयो। शिशुको ज्यान बचाउन डा. मनिषको टिम सफल भयो। अहिलेसम्म यस्तै प्रकृतिको समस्या भएका करिब ३० जना बच्चाको तारको माध्यमबाट मुटुको उपचार गरेर बचाउन सफल भएको डा. मनिषले सुनाए।

शिशुको मुटुको ढोकाको प्वाल खोल्दा

त्यसैगरी करिब तीन महिना अघि पाँच दिने शिशुको उपचार गरेको प्रसङ्ग पनि उनी भुल्दैनन्। ती शिशुको शरीर जन्मँदा नै निलो भएछ।

ती शिशुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याएर गङ्गालाल अस्पताल पुर्याइएको रहेछ।

शिशु गङ्गालालमा भर्ना गरियो। क्याथ ल्याबमा लगियो। स्वास्थ्य जाँचका क्रममा ती शिशुको मुटुबाट फोक्सोमा रक्त प्रवाह हुने धमनीको बाटो बन्द भएको थाहा भयो। त्यसपछि डा. मनिषको टिमले ती शिशुको खुट्टाबाट तार घुसाई मुटुको नखुलेको ढोकासम्म पुर्यायो। सो तारले बन्द भएको ढोका छेडेर प्वाल बनाएर बेलुनले फुलाइयो।

जसले मुटुबाट फोक्सोमा रक्त प्रवाह सहज भयो। ती शिशुको दुई पटक त्यसरी ढोकाको प्वाल खोलिदिएको उनले सुनाए। अहिले बच्चा करिब ६ किलोको भइसकेको र स्वास्थ्य अवस्था सामान्य भएको डा. मनिषले सुनाए।

आठ वर्षकी बालिकाको मुटुमा तार छिराएर प्वाल टालिएपछि...

केही दिन अघि मात्रै करिब आठ वर्षकी बालिकालाई गङ्गालाल अस्पताल पुर्याइएको थियो। स्वास्थ्य जाँचका क्रममा ती बालिकाको मुटुको तल्लोपट्टि कोठामा प्वाल (भेन्ट्रिकुलर सेप्टल डिफेक्ट) भएको थाहा भयो। प्वाल पनि एउटा ठुलो र एउटा सानो गरी दुई वटा थिए।

यस्तो समस्या भएको खण्डमा धेरैजसो शल्यक्रिया उपचार विधि अपनाइन्छ। मुटुको शल्यक्रिया गरेरै प्वाल बन्द गरिन्छ। मुटुको समस्या भएर अस्पताल पुर्याइने साना बच्चामध्ये बढीमा यो समस्या देखिन्छ। ती बालिकाको मुटुको शल्यक्रिया गरिहाल्नुपर्ने थियो।

कहिलेकाहीँ यस्तो अवस्थामा तार (क्याथेटर) को माध्यमबाट समेत प्वाल बन्द गर्ने उपचारात्मक विधि अपनाइन्छ।

शल्यक्रिया गर्दा छाती चिर्नुपरे पछिसम्म पनि दाग बस्छ। त्यसैले डा. मनिषको टिमले तारले नसाको माध्यमबाटै मुटुमा भएको सो प्वाल टाल्न सकिन्छ की भनेर नसाबाट  प्वाल टाल्ने कोसिस गर्यो।

नभन्दै डा. मनिषको टिम प्वाल टाल्न सफल भयो। केही बेरमा नै उपचार सफल भयो। ती बालिकाको शल्यक्रिया गर्नु परेन।

१४ वर्षकी बालिकाको शल्यक्रिया गर्नु नपरेपछिको त्यो खुसी

त्यसैगरी १४ वर्ष की बालिकामा मुटुको माथिल्लो कोठा (भाग) मा प्वाल (एट्रियल सेप्टल डिफेक्ट) को समस्या भएको प्रसङ्ग सुनाए डा. मनिषले। ती बालिकाको मुटुको माथिल्लो कोठामा दुई वटा प्वाल थिए।

ती बालिकाका बुवा आमालाई सकभर छोरीको मुटुको उपचारमा शल्यक्रिया गर्न नपरे हुन्थ्यो भन्ने लागेको थियो।

डा. मनिषको टिमले पनि विना शल्यक्रिया तारको माध्यमबाट मुटुको प्वाल टाल्न सकिन्छ की भनेर कोसिस गर्यो। नभन्दै डा. मनिषको टिम मुटुको प्वाल बन्द गर्न सफल भयो।

शल्यक्रिया नगरी मुटुको उपचारमा सफलता मिलेपछि ती बालिकाका बुवा आमा धेरै खुसी भए। बालिकाको मुहारमा नजिकबाट उनले मुस्कान देखे।

बुवा आमा र बालिकाको मुहारमा देखिएको खुसीले डा. मनिष पनि खुसी नहुने कुरै भएन। उपचारमा सफलतापछि त्यो खुसीको क्षण सम्झँदा अहिले पनि डा. मनिष दङ्ग हुन्छन्।

शल्यक्रियाको तुलनामा तारको माध्यमबाट मुटुको उपचार गर्नु बढी लाभदायक हुने डा. मनिषले सुनाए। शल्यक्रिया गर्दा छाती र मुटुसमेत चिर्नुपर्ने हुन्छ। जसले घाउ र दाग हुन्छ।

तर, तारको माध्यमले मुटुको उपचार गर्दा नसाबाट तार छिराएर गरिने भएकाले घाउ तथा दाग हुँदैन। शल्यक्रिया विधिबाट उपचार गर्दा भविष्यमा गएर मुटुको चालमा गडबडी हुने लगायतका समस्या निम्तने जोखिम त्यतिकै हुने उनले सुनाए।

डाक्टरको सुख-दुःख :

साउन १४, २०७९ शनिबार १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।