पानीफोटो : ओसिएको बारुदजस्तो, फिस्स !

पानीफोटो : ओसिएको बारुदजस्तो, फिस्स !

काठमाडौं : सुन्दर पहाड अनि छेउमा ताल। एकातिरबाट मैयाँ (मेनुका प्रधान) अनि अर्कोतिरबाट राधा (मल्लिका महत) हिँड्दै गरेको दृष्य। तालमा देखिएका दुई नारीसँगै पहाडको छाया। पानीमा देखिएको फोटो अर्थात् 'पानीफोटो'।

मैयाँ घरमा श्रीमान्‌लाई थाहै नदिई छोरो खोज्न निस्कँदाको दृश्य हो यो। दर्शकले फिल्म 'पानीफोटो'को शीर्षक सार्थकता यो दृश्यमा खोजे।

फिल्म क्षेत्रमा कलम चलाउँदै आएका मानिसहरुले समेत उक्त दृश्यले कथा भन्न नसकेको तर्क गरे। यो दृश्य त फगत सिनेमेट्रोग्राफीको कमाल थियो, फिल्मको शीर्षक थिएन।

लेखक तथा निर्देशक खगेन्द्र लामिछाने पानीफोटो फिल्मको शीर्षक सार्थकता देखाउनमै चुके। उनले पानीफोटो भनेको फोटोको नेगेटिभ भनेर दर्शकलाई बुझाउनै सकेनन्।

दशैंमा पिङ हाल्ने क्रममा डोरी बाट्ने बाबियो लिन जाँदा हराएको कृष्णको घरमा उनका साथीहरु पुग्छन्। कृष्णको फोटो पिँढीमा हुन्छ। कृष्णको साथीले फोटो अरु पनि छ? भनेर सोध्दा यही एउटा हो, अरु त विभिन्न संस्था, सत्य निरुपण आयोग लगायतले लगे। न फोटो फिर्ता दिए न छोरो खोजिदिए। अर्को बनाउन पानीफोटो (रिलवाला फोटोको नेगेटिभ) पनि छैन भन्ने संवाद मैयाँले बोल्छिन्।

यही संवाद बोलाउन फिल्ममा दशैं ल्याएजस्तो लाग्छ। जबरजस्ती यो संवाद जोडिदिएजस्तो लाग्छ। बीचमा जबरजस्ती घुसाइएका कारण यो संवादले शीर्षकलाई सार्थक बनाउन सकेन।

सशस्त्र संघर्षको समयमा बेपत्ता छोरा खोज्दाको कथा हो पानीफोटो। सशस्त्र संघर्ष सकिएको दुई दशक बितिसक्दा पनि खिल अहिलेसम्म निस्किएको छैन। भन्नै पर्ने कथा, देखाउनै पर्ने कथा छ फिल्ममा। 

स्कुल पढ्न हिँडेको छोरो कृष्ण बेपत्ता भयो। कहाँ गयो, के गर्दै होला, ठूलो भएपछि कस्तो देखिएला, बिहे गर्यो होला कि नाइँ। कृष्णका बाबु-आमा छोरो फर्कने आशमा छन्। फिल्मको ओपनिङ सटले नै पूरै कथा भनेको छ।

तुवाँलोले जताततै ढाकेको छ। कृष्णकी आमा मैयाँ हँसिलो अनुहार बनाएर एउटा युवालाई पछ्याइरहेकी छन्। भेट्टाउनै आँट्छिन् तर फेरि त्यो युवा तुवाँलोमा हराउँछ। एकैचोटी पहाडको टुप्पोमा देखिन्छ।

प्रायः क्यामेरा सटमा तुवाँलो छ। कुहिरोमा हराएका छन् पात्रहरु। सुन्दर दृश्यसँगै क्यामेराले कथा भनेको छ।

तुवाँलोमा हराएको युवा पहाडको टुप्पोमा देखिएपछि मैयाँको अनुहारमा फेरि आशाको किरण देखिन्छ। उनी दौडदै फेरि उकालो चढ्छिन्। पहाडको टुप्पा-टुप्पै दर्गुछिन्। फेरि आकृति तल झर्छ।

टुप्पाबाट फेरि ओरालो लाग्छिन्। ढाडमा थपथपाउनै लागेकी हुन्छिन्, उनी सपनाबाट झल्याँसस् ब्युँझन्छिन्। फिल्मको कथा छोरा खोज्दा पलाएका आशा, हात लागेका निराशा र फेरि टुसाएका आशाको निरन्तरता हो।

फिल्ममा कृष्ण देखिएको छैन। कृष्णसँग संवाद गर्दा पात्र क्यामरा फेस गर्छ। अर्थात् ऊ एक कृष्ण हैन, बेपत्ता भएका हजारौं कृष्णसँग एकसाथ गफ गरिरहेको छ। यो प्रस्तुति सुन्दर छ।

कलाकारहरुको अभिनयमा खोट लगाउने ठाउँ छैन। अनुप बराल रिसाएर लौरीको झटारो हान्दा होस् या खुसी भएर तीन चोटी भात थप्दा, दर्शकको इमोसनलाई छुन सफल भएका छन्। मेनुका प्रधान, माल्भिका महत, प्रकाश घिमिरे लगायतको अभिनय सुन्दर छ।

फिल्मको पार्श्व संगीतमा मध्यम काम भएको छ। मेकअप, पहिरनमा भने मिहिनेत देखिन्छ। भाषामा गरिएको काम पनि प्रशंसायोग्य छ। 

प्रायः क्यामेरा सटमा तुवाँलो छ। कुहिरोमा हराएका छन् पात्रहरु। सुन्दर दृश्यसँगै क्यामेराले कथा भनेको छ।
फिल्मको अब्बल पाटो विषयवस्तु हो भने कमजोर पाटो प्रस्तुतीकरण। जसले गर्दा अब्बल बन्न सक्ने फिल्म ओसिएको बारुदजस्तो बनिदियो, फिस्स।

मैयाँ, उनका श्रीमान् (अनुप बराल), छोरा कृष्ण, राधा र कृष्णको साथी पवन (खगेन्द्र लामिछाने)। कृष्णका ठूलाबाउ र अन्य आफन्त। यहाँ कृष्ण पात्र पहिले बनेको छ र कथा भन्न को को चाहिन्छ, उसैलाई रोजिएको छ। अन्य बेकारका पात्र फिल्ममा छैनन्। प्रष्ट के देखिन्छ भने खगेन्द्रले कृष्ण भन्ने पात्रलाई सुरुमा निर्माण गरे। त्यो पात्रको कथा जता गयो, फिल्म त्यतै बगाउँदै गए। त्यसैले पात्र निर्माणमा राम्रो काम भए पनि पात्रले सोचेअनुसार कथा भन्न सकेन। पात्र कतै अलमलमा परेको छ त कतै भड्किएको छ।

फिल्मको बलियो पाटोको रुपमा संवाद पनि आउँछ। हरेक संवाद मन छुने छन्। सबै संवादहरु पन्चलाइन हुन्।

यसलाई अझै प्रष्टसँग भन्दा, खगेन्द्रलाई कृष्णको कथा भन्नु छ। कथामा उसलाई बेपत्ता बनाउनुछ। तर कसरी बेपत्ता बनाउने? तर्कहरु फितला दिए। उनी आफूले द्वन्द्व भोगेनन्, सुने मात्रै। त्यसैले त्यो बेलाको वास्तविक घटना फिल्ममा देखाउन सकेनन्। सजिलै बेपत्ता बनाइदिए। 

राधा पात्रलाई न्याय दिन सकेका छैनन् फिल्ममा। उनी दोधारमा छिन्। अलमलमा छिन्। उनी दोधारमा पर्नुको कारण त देखाइएको छ तर त्यो बलियो छैन।

बेपत्ता कृष्ण खोज्नु छ, पत्ता लगाउने बाटोहरुमा अलमल्लिए। समग्रमा, उनी कृष्णको कथा भन्न सफल भए तर देखाउन असफल।

श्राद्ध नगर्दा उनैका पितृले पिरेको भन्दै पुतला जलाएका घटनाहरु धेरै भए। कोही पछि फर्केर आए। पुनर्जन्म भन्दै घैँटा फुटाएर मानिस निकालेका कुराहरु पनि सुनिए। फिल्ममा यी सबै कुराहरु समावेश गरिएका छन्। फिल्म यस्तै कुराहरुमा अल्मलिदा भन्न खोजेको कुरा आएन।

फिल्मको अर्को हराएको कुरा हो मनोरञ्जन। जे जस्तो तर्क गरे पनि फिल्मको महत्वपूर्ण कडी मनोरञ्जन नै हो। दर्शक मनोरञ्जनका लागि हल जाने हुन्। मनोरञ्जन भन्दैमा जोक भनेर हसाउने भन्ने हैन। दर्शकले फिल्म हेरुन्जेल आनन्द लिनुपर्यो, तनाव हैन। पात्र रोए दर्शकको मन छुनु पर्यो। हसाउँदा हसाउन सक्नुपर्यो। फिल्म पट्यारलाग्दो हुनुभएन। हाई गर्दै, निदाउँदै हेर्ने स्थिति बन्नु भएन। 

फिल्ममा कतिपय दृश्य संवाद नभए राम्रो सुनिन्थ्यो। तर संवादको भारीले ती सुन्दर दृश्य फिका परेका छन्। तर यो फिल्मको बलियो पाटोको रुपमा संवाद पनि आउँछ। हरेक संवाद मन छुने छन्। सबै संवादहरु पन्चलाइन हुन्।

समग्रमा खगेन्द्रको डेब्यु निर्देशन पानीफोटो राम्रो प्रयास हो, सफल भने हैन। पशुपति प्रसाद, टलकजंग भर्सेस टुल्के जस्ता फिल्ममा काम गरिसकेका उनले हेर्दा घाटा नलाग्ने फिल्म भने दिएका छन्। भएका गल्ती र कमजोरीलाई माफ गर्न सक्ने फिल्म बनेको छ।

साउन १४, २०७९ शनिबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।